बिहे : एक रहर - १
यतिबेला घडीमा १२ः५४ बजेको छ । बाहिर पानी परिरहेको छ । आज भने पानीले मलाई जिस्काइरहेछ । एकछिन रोकिए जस्तो फेरि केही सम्झिएर आँशु झारे जस्तो । पानी परेको रात अक्सर निन्द्रा लाग्दैन । बिहानीपख एक झप्को बाहेक । यसको असर आँखामा छ, त्यसैले औषधि प्रायः झोलामा छुट्दैन । पानी परे पनि अहिले काठमाडौँमा गर्मी बढेको छ । अघि एक सर्को झिजेर आको लुगा पनि जिउमै सुकिसक्यो । पानी परेको रात फ्यान चलाउन पर्दैन या भनौँ मन लाग्दैन । मलाई पानीका थोपाहरुको आवाज बढी मन पर्छ । *** पानीसँग मेरो सबैभन्दा नजिकको सम्बन्ध छ जस्तो कि आगोसँग । सानोमा अगेनोमा परे । त्यसैले म छुच्चो छु, रिसाहा छु या अभाग्गी छु...थाहा भएकाहरु यसो भन्छन् । सानोमा घरमा रक्सी पारिन्थ्यो । खोलादेखि पानी बोक्ने जिम्मेवारी दिदी र मेरो हुन्थ्यो । सानैबाट दुईओटा ग्रागीमा १० मिनेटको उकालो चढेर घर आइन्थ्यो । रक्सी बेचेको पैसाले दिदी ममीले पाँच/पाँच रुपैयाँको कपि र डटपेन ल्याइदिनुहुन्थ्यो । अर्थात हामी सानैदेखि आत्मनिर्भर थियौँ वा भनौँ बुवाले रामेछापको कुनै गाउँदेखि ल्याएर सिन्धुलीको सदरमुकाम नजिक राख्नुको फाइदा थियो । मलाई घु...