पूर्वीय महाकाव्यगत दृष्टिकोणबाट ‘शाकुन्तल’ महाकाव्यको विश्लेषण


अध्ययन सार

साहित्यको लयगत र साङ्गीतिक भेद नै कविता हो । छन्द वा लयलाई मूल आधार मानेर साहित्यको वर्गीकरण गर्दा समग्र साहित्य गद्य र पद्य गरी दुई भेदमा विभक्त हुन्छ ।


गद्य विधाको विपरीत छन्दको प्रयोग गरी रचना गरिने विधा नै पद्य हो र पद्य कविता विधाको पुरानो नाम पनि हो । त्यसैले लयात्मक प्रधानता भएको एकालाप पूर्ण कथन पद्धतिमा सिर्जना हुने साहित्यिक विधा कविता हो ।


कविताको आयाम (लम्बाइ, चौडाइ र गहिराइ) को विस्तारका कारणले कविताभित्र पनि उपविधाको निर्माण हुन पुग्दछ । यस परिच्छेदमा आयामका आधारमा कविताका विविध रूपको परिचय दिई बृहत् आयाम महाकाव्यको सैद्धान्तिक चर्चा गरिएको छ ।

जीवनका सूक्ष्मतमदेखि स्थूलसम्मका अभिव्यक्तिहरू कविताको आयामभित्र प्रवाहित भएका हुन्छन् । कविताको सबैभन्दा सानो रूपगत आयाम मुक्तक हो भने सबैभन्दा ठुलो आयाम महाकाव्य हो । कवितामा जीवन र जगतको अनुभूति एक हरफ, चार पाउदेखि लिएर एउटा सिङ्गो र बृहत् महाकाव्यसम्म विस्तारित हुन सक्छ ।

कविता विधाको बृहत् स्वरुप नै महाकाव्य हो । महाकाव्यका सन्दर्भमा पूर्व, पश्चिम तथा नेपाली साहित्यमा विभिन्न चिन्तनको विकास भएका छन् ।

 पूर्वीय साहित्य परम्परामा महाकाव्यलाई सर्गबन्ध, सकल कथाका रुपमा चिनाउने प्रयास भएको पाइन्छ तर तिनले त्यति प्रसिद्धि भने पाउन सकेनन् । यस शब्दको पूर्वरुप वाल्मीकि रामायणमा देखिए पनि यस शब्दको समासचक्र प्रयोग छैठौँ शताब्दीका आचार्य भामहले गरेका हुन् । यसैले उनी महाकाव्य चिन्तनका प्रवर्तक मानिन्छन् । उनीपछि दण्डी, रूद्रट र विश्वनाथले पनि महाकाव्यका बारेमा आफ्ना मान्यता प्रस्तुत गरे । 

महाकाव्यमा बृहत्तम् किसिमको जीवन समग्रतालाई प्रस्तुत गर्ने विषयवस्तुलाई समाविष्ट गरिएको हुन्छ । बृहत् किसिमको विषयवस्तुलाई विस्तारपूर्वक प्रस्तुत गर्ने क्रममा यसले प्रबन्धात्मक रुप दिने कार्य गरेको हुन्छ । यस आधारमा महाकाव्यलाई कविताको बृहत् स्वरुप भनिएको हो । 

संस्कृत साहित्यका चिन्तकहरूले प्रस्तुत गरेका महाकाव्यका परिभाषाका सारलाई समेट्दा महाकाव्यलाई सर्गबद्धता, छन्दोबद्धता, पञ्सन्धियुक्तता, अलङ्कृत भाषाशैली, इतिहासप्रसिद्ध, काल्पनिक वा दन्त्य कथामा आधारित कथानाक, सत्पात्रको चरित्र चित्रण, रसभावको निरन्तर प्रवाह भएको चतुवर्ग फलमध्ये कुनै एकको प्राप्ति हुने जीवनको सुखान्त अभिव्यक्तिका रूपमा चिनाएको छ ।


विषय प्रवेश

नेपाली महाकाव्य आइसल्यान्डको सर्पजस्तो रहेको अवस्थामा लक्ष्मीप्रसाद देवकोटा (१९६६ कार्तिक २७ – २०१६ भाद्र २९) ले ‘शाकुन्तल’ महाकाव्यको रचना गरे ।

 तीलमाधव देवकोटा र अमर राज्यलक्ष्मी देवीका तेस्रो छोरा देवकाटाले कविता, निबन्ध लगायतका विधामा कलम चलाएका छन् । सन् १९२९ मा आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् १९३१ मा भारतको पटना गएर उनले कानून विषयमा अध्ययन गरे । वि.सं. २०१३ सालमा देवकोटा नेपालको शिक्षा मन्त्रीसम्म भएको समयमा नै त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो ।


अद्वितिय प्रतिभाका धनी देवकोटाले ‘शाकुन्तल’ महाकाव्य तीन महिनामा, ‘सुलोचना’ महाकाव्य दश दिनमा र ‘कुञ्जिनी’ खण्डकाव्य एकै रातमा लेखेका थिए । नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषा साहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पु¥याउँने काम पनि देवकोटाबाट नै भएको थियो ।  


२००२ सालमा पहिलोपल्ट प्रकाशित भएको ‘शाकुन्तल’ महाकाव्य नेपाली महाकाव्यको मंगलाचरणका रूपमा आएको छ । महाकवि कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’ को कथानकलाई प्रमुख आधार मानी यो ‘शाकुन्तल’ महाकाव्य रचना गरिएको हुनाले यसमा विश्व प्रसिद्ध संस्कृत साहित्यका महाकवि कालिदासलाई नेपाली साहित्यका महाकवि देवकोटाले पछ्याएको देखिन्छ ।

 उनले प्रकृतिकी छोरी ‘शाकुन्तल’ को प्राकृतिक साहचर्य, मानव र प्रकृतिको मधुर मिलन प्रदर्शन गर्ने उद्देश्यले प्रस्तुत महाकाव्य लेखेको हुनुपर्दछ । ‘शाकुन्तल’ महाकाव्य नेपालीमा प्रकाशित पहिलो मौलिक महाकाव्य हो । यसको कथावस्तु प्राचीन इतिहास प्रसिद्ध भए तापनि कवि कल्पनाले गर्दा यो मौलिक बन्न पुगेको देखिन्छ । उनको यस महाकाव्यलाई नेपाली भाषा प्रकाशिनी समितिले प्रकाशित गरेको हो । 



पूर्वीय साहित्य चिन्तनका दृष्टिकोणमा महाकाव्य

पूर्वीय साहित्य चिन्तनमा पौराणिक कालबाट वर्तमान अवस्थासम्म आइपुग्दा महाकाव्यको व्यापक चर्चा भएको छ । महाकाव्यको बारेमा अग्नि पुराणमा ‘संक्षेपमा अभीष्ट अर्थ व्यक्त गर्ने दोषरहित, गुणसहित पदावली नै काव्य हो,’ भनिएको छ । यसले काव्यमा गुणलाई अपेक्षित सामग्री र दोषलाई वर्जित सामग्रीका रूपमा लिएको छ तर के गुण हो र के दोष हो भन्ने स्पष्ट भने छैन । 

भामहले ‘महाकाव्य भनेको लामो कथानक नभएको महान चरित्रमा आधारित, नाटकीय पञ्च सन्धि समन्वित उत्कृष्ट एवं अलङ्कृत शैलीमा रचित तथा जीवनका विविध रूप र कार्यको वर्णन गर्ने सर्गबद्ध र सुखान्त काव्य हो’ (थापा, पृ. ५७) भनेका छन् । उनको यस परिभाषाअनुसार महाकाव्य लामो कथानक नभएको, महान् चरित्रमा आधारित, सन्धियुक्त र आलङ्कारिक भाषा भएको रचना हो भन्ने बुझिन्छ ।


 त्यस्तै, दण्डीले महाकाव्य आशीर्वाद, नमस्क्रिया वा वस्तु निर्देशमध्ये कुनै एउटाबाट थालिएको हुनु पर्दछ, भनेका छन् ।  दण्डीको यस परिभाषाले महाकाव्यलाई व्यापक रूपमा परिभाषित गर्ने काम गरेको छ । वस्तु निर्देश, मङ्गलाचरण, कथानक, नायक, परिवेश र भाषाशैली आदि विषय महाकाव्यमा कस्ता रहन्छन् भन्ने सन्दर्भमा पनि उनको परिभाषाले स्पष्ट पारेको छ । महाकाव्यको सन्दर्भमा आचार्य रुद्रटले महाकाव्यमा कथानक कल्पित वा अकल्पित जुनसुकै भए तापनि महान् हुने बताएका छन् । 


      आचार्य विश्वनाथले ‘महाकाव्य सर्गबद्ध हुन्छ र त्यसको नायक शूर सद्वंशी, क्षेत्रीय, एकै वंशका धेरै पनि हुन सक्दछन् । श्रृङ्गार, वीर र शान्तमध्ये कुनै एक अङ्गी र अन्य अङ्ग रस हुनुपर्दछ । कथानक नाटकीय पञ्च सन्धि समन्वित हुनु पर्दछ । कथानक इतिहास प्रसिद्ध र सज्जनाश्रित हुनु आवश्यक हुन्छ । सुरुमा वस्तु निर्देश, नमस्क्रिया वा आशीर्वाद रहनु पर्दछ । सत्पात्रको गुणको बयान र दुर्जनको निन्दा गरिएको हुनु पर्दछ । 


न धेरै लामा न धेरै छोटा कम्तीमा आठ वटा सर्ग रहनु पर्छ । सर्गको अन्त्यमा भावी सर्गको सूचना हुनु पर्दछ । सम्पूर्ण कालचक्र, सम्पूर्ण ऋतुचक्र, स्वर्गदेखि धर्तीसम्म र धर्तीदेखि स्वर्गसम्मको सम्पूर्ण परिवेशको वर्णन महाकाव्यमा हुनुपर्दछ ।


 सम्भोग, विप्रलम्भ, पुत्रोत्पत्ति आदिको वर्णन महाकाव्यमा हुनु पर्दछ । रणप्रयाण एवं सत्को विजय देखाइएको हुनुपर्दछ । नायक, कथानक वा कविको नामबाट महाकाव्यको नामकरण गरिएको हुनु पर्दछ । विविध छन्दको प्रयोग गरिनुका साथै सर्गको अन्त्यमा छन्द बदल्नु पर्दछ ।’ (नेपाली विकीपिडिया) भनेका छन् । 


      महाकाव्य साहित्यका विधागत प्रकारमध्ये प्राचीनतम् अभिव्यक्ति हो । यसैले महाकाव्य साहित्यको बूढो र पुरानो अभिव्यक्ति हो । साहित्यिक अभिव्यक्तिका प्राचीनतम् रुप खोज्दै जाँदा भाषिक आविष्कारपछि गीत, किस्सा, कहानी हुदैँ काव्य रचना भएको पाइन्छ । 

आजभन्दा २,७०० वर्षदेखि ३,००० वर्षका बीचमा गिलगामेरा महाकाव्य मेसोपोटामियाको सुमेलियाको जनजीवन समाजको अभिव्यक्ति भएको हो ।

 त्यही परम्परा विकसित हुदैँ इस्वीपूर्वमा गाथाचक्रहरुको विकास हुँदै गएको पाइन्छ । इस्वीपूर्व १,००० देखि ४०० तिरका रामायण र रामायण महाभारत पूर्वीय महाकाव्य परम्पराका प्राचीन नमूना हुन् । (बम, पृ. १३) कविताले जुन पङ्क्तिगत लम्बाइ लिन्छ र पठन अवधिका आधारमा जुन लामो समय लिन्छ, त्यसका आधारमा कविताका बृहत्, बृहत्तर र बृहत्तम् रूपहरु सिर्जना हुन्छन् । 

पूर्वीय महाकाव्यगत दृष्टिकोणको आधारमा ‘शाकुन्तल’ महाकाव्य

देवकोटाले ‘शाकुन्तल’ महाकाव्यमा सत्यलाई सर्वोपरि मानेका छन् । उनको यस  महाकाव्य सत्यको उद्घोष गरेर सत्यवादी जीवन चिन्तनतर्फ आकर्षित भइ आध्यात्मिक शान्तितर्फ उन्मुख रहको पाइन्छ । उनको यस कृतिमा पूर्वीय तथा आध्यात्मिक दर्शन भेटिन्छ । 

महाकाव्यको सुरुदेखि अन्तिमसम्मको प्रस्तुति र दुष्यन्त र शकुन्तलाको भरतसहित सुखद मिलन आध्यात्मिक, प्राकृत जीवन पद्धतिकै रूपमा देखिन्छ । पूर्वीय महाकाव्यात्मक दृष्टिकोणले उनको महाकाव्य निकै शसक्त रहेका छन् जसलाई निम्नअनुसार प्रस्तुत गरिएको छ :


पञ्चसन्धियुक्त प्रख्यात वा कल्पित सुखान्त कथावस्तु 

कथानकको अर्थ बुझाउने वस्तु कथावस्तु हो । पुराण, इतिहास, समाज आदिको विषयवस्तु काव्यशास्त्रीय मान्यताअनुसार आदि, मध्य र अन्त्यको क्रममा व्यवस्थित गरेको वस्तु नै कथानक हो । दण्डी र विश्वनाथका अनुसार कथावस्तुको थालनी नमस्कारात्मक, आर्शिवादात्मक, वस्तु निर्देशात्मक हुनसक्छ । कथावस्तु सुखान्त हुनुपर्छ र सर्वस्वीकार्य हुनुपर्छ ।  

‘शाकुन्तल’ महाकाव्यको कथावस्तु वैदिक वाङ्मयमा पाइन्छ । पूर्वीय महाकाव्यअनुसार कथावस्तु पञ्चसन्धिमा बाँधिएको हुनुपर्छ । पञ्चसन्धिभित्र मुख, प्रतिमुख, गर्भ विमर्श र निर्वहन पर्दछन् । ‘शाकुन्तल’ महाकाव्यमा मूख्य विषयवस्तु पछिमात्रै शुरु भएको छ ।

 ‘शाकुन्तल’ मा प्रथमदेखी एघारौँ सर्गसम्म महाकाव्यको पृष्ठभूमि रहेको छ । महाकाव्यका नायक दुष्यन्तले नायिका शकुन्तलालाई प्राप्त गर्ने उपाय मुख अर्थात् बीज सन्धि हो । बाह्रौँ सर्गबाट मात्र महाकाव्यको कथावस्तु शुरु हुन्छ । राजा दुष्यन्त र शकुन्तला एकअर्काप्रति आकर्षित हुन्छन् र विवाह गर्दछन् । 

महाकाव्यमा यो अवस्था प्रतिमुख सन्धिको रूपमा देखा परेको छ । त्यस्तै दुष्यन्त शकुन्तलालाई चाडैँ लिन आउने आश्वासन दिएर दरबार फर्कन्छन् । दुष्यन्तको सम्झनामा भावविह्ल भएकी शकुन्तलालाई दुर्वासा ऋषिले श्राप दिनु पति दुष्यन्तको दरबारमा पुगेकी शकुन्तलालाई राजाले चिन्न अस्विकार गर्नु जस्ता घट्नाक्रमहरु गर्व सन्धिमा पर्दछन् । 

दुष्यन्तले शकुन्तलालाई दिएको आफ्नो नामको औँठी एक किसानको हातबाट फेला पार्छन् । औँठी भेटिएसँगै उनलाई शकुन्तलाको सम्झना आउँछ । दुष्यन्त पश्चाप मान्दै शकुन्तलाको खोजी गर्न थाल्छन् । दुष्यन्तको स्वर्गयात्रा र दानवमाथि विजय पाएर हेमकूट पर्वतमा अवतरण गर्ने प्रशङ्ग विमर्श सन्धिमा पर्दछ । 


कश्यप ऋषीको आश्रममा दुष्यन्तले भरतको बाजुबन्ध (खेलौना) उठाउनु, सर्प बनेर नडस्नु, शकुन्तलासँग भेट भई दुबैको मिलन हुनुसम्मको अवस्था निर्वहन सन्धि रहेको छ । यसलाई आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति, र फलागममा यसरी देखाउन सकिन्छ :

आरम्भः पृष्ठभूमि, दुष्यन्त र शकुन्तलाको आकर्षण र प्रेमको आरम्भ । 

यत्न : आकर्षणपछि गान्धर्व विवाहसम्म

प्राप्त्याशाः दुष्यन्तको दरबार फिर्ती, दुर्वाशा श्रापदेखि दुष्यन्तले शकुन्तलाई चिन्न अस्वीकार गरेसम्म । 
नियताप्तिः दुष्यन्तले औंठी पाएको प्रशङ्गदेखि शुकन्तलाको खोजी, स्वर्गको यात्रा हुँदै हेमकुट पर्वतमा पुग्दासम्मको प्रसङ्ग । 

फलागमः कश्यकप आश्रममा दुष्यन्तले भरतको बाजुबन्द उठाउनु, सर्प बनेर नडस्नु शकुन्तसँग भेट भइ मिलन हुनुसम्मको अवस्था ।  

       महाकाव्यभित्र विश्वामित्र र मेनकाको प्रसङ्ग, दुष्यन्तको स्वर्गको यात्रा, देवासुर सङ्ग्रामको प्रसङ्ग, किसानको प्रसङ्ग जस्ता प्रासाङ्गिक घटना पाइन्छ ।

 यसकारण यस महाकाव्यमा पूर्वीय महाकाव्यमा हुनुपर्ने पाँच ओटै सन्धी प्रयोग भएको देखिन्छ । अन्तमा, यस महाकाव्यको कथावस्तु राजा दुष्यन्त र शकुन्तलाको मिलन हुन गइ सुखान्त अन्त्य भएको छ । 

सर्गबद्धता

सर्गबद्धता निरन्तरन्तासँग सम्बन्धित छ । यो सिर्जनाको एउटा प्रवाह वा जीवनको एक खण्ड हो । सबै खण्डको समष्टीमा महाकाव्य निर्माण हुन्छ ।

भामह, दण्डी, विश्वनाथले प्राथमिकताका साथ महाकाव्यमा सर्ग हुनुपर्ने उल्लेख गरेका छन् । रुद्रटले यसलाई सामान्य रूपमा उल्लेख गरेका छन् । सर्ग शब्द सृष्टि, रचना, भावको विश्रान्ति जस्ता अर्थसँग सम्बन्धित रहेको हुन्छ । 

‘शाकुन्तल’ महाकाव्यमा सर्गमा विभाजित छ त्यसैले यसले पूर्वीय परम्परालाई पछ्याएको देखिन्छ । महाकाव्य आठभन्दा बढी सर्गको हुनुपर्ने मान्यता अनुसार यो महाकाव्य २४ सर्गमा विस्तारित भएको छ तर सर्गको वितरण भने असन्तुलित देखिन्छ । 

एउटा सर्गमा न्यूनतम श्लोक संख्या ४० रहेको पाइन्छ भने अधिकतम २४० सम्मको पाइन्छ । प्रत्येक सर्गको अन्त्यमा भावी कथाको सूचना गर्नुपर्ने शास्त्रीय मान्यता देवकोटाले अक्षरस पालना गरेको देखिदैन ।


सर्ग केवल बाहिरी संरचनामा मात्र होइन यसले महाकाव्यको वस्तु विकासको शृङ्खलालाई पनि देखाउँने हुँदा सर्गहरु एक आपसमा अन्तर्सम्बन्धित हुनुपर्दछ । 

यसरी महाकाव्यको सर्ग योजना परम्परागत मान्यता वहन गर्ने देवकोटामा स्वच्छन्दतावादी प्रवृत्ति हावी भएको पाइन्छ । मङ्गलाचरण र सर्गबद्धताको प्रयोगले देवकोटा पूर्वीय साहित्य परम्पराप्रति भने आस्था प्रकट गर्दछन् । 

पात्रविधान

भामहका अनुसार महाकाव्यमा महान चरित्रको अपेक्षा गरिन्छ । दण्डीले नायक, चतुरो र उदात्त हुनुपर्ने सङ्केत गरेका छन् ।

त्यस्तै रुद्रटले धर्म, अर्थ, कामले युक्त हुनुपर्ने, प्रभु शक्ति, मन्त्र शक्ति, उत्साह शक्ति भएको प्रजालाई खुशी राख्न सक्ने, विजयको आकङ्क्षा भएको एवम् सर्वगुण सम्पन्न राजा नायक हुनुपर्ने धारणा राखेका छन् । 

रुद्रटले वीरगाथामूलक महाकाव्य खोजका छन् । विश्वनाथले देवता, राजा, क्षत्रीय धीर व्यक्ति, नायक हुनुपर्ने भनेका छन् । विश्वनाथले धिरोदात्त, धिरोदत्त, धीर ललित, धीर प्रशान्त गरी चार प्रकारका नायकमध्ये पहिलो किसिमको नायक महाकाव्यमा अपेक्षित हुन्छ भनेका छन् ।

 उनी बहु नायकको मान्यता अघि सार्छन् । रुद्रटले खलनायक पनि नायक जत्तिकै शसक्त हुनुपर्ने धारणा राखेका छन् । अतः महाकाव्यको नायक कलुषित कुनै दोष नलागेको, अविजय, सर्वशक्तिमान, दैवी गुणले युक्त हुनु आवश्यक देखिन्छ । नायिकाको चरित्र स्वकीया हुनुपर्छ ।

दुष्यन्त
नायक–नायिका, प्रतिनायकबाहेक देवता ऋषी, आदिको चरित्र विन्यासले महाकाव्यलाई उच्चता प्रदान गर्छ । दुष्यन्तको शक्ति, गुण, वैव वर्णनका लागि देवकोटाले महाकाव्यको दशौँ सर्ग पुरै खर्च गरेका छन् । 

उनका अनुसार दुष्यन्त उच्च गुणका भण्डार, विश्व किर्तीमानी, सौन्दर्यका मूर्ती, युद्धका निम्ती सिंह, शत्रु विनासक, दानका निम्ती झरना बगाउने, वीरताका शिखर, समुन्द्र समान गाम्भीर्य, विष्णुसमान हात भएका अनेक उच्च गुण विशेषताले युक्त भएका छन् भनेर वर्णन गरेका छन् । 

अन्धाररुपी शत्रुलाई विनाश गर्ने, न्यायका प्रतिमूर्ति, दयाका सागर, उदार, दानवीर, कामधेनु झैँ मनोकांक्षा, पूरा गर्ने दुष्यन्त उदात्त नायकका रूपमा देखा पर्दछन् ।


शकुन्तलाको गुण, सौन्दर्य, हाउभाउ आदिबाट आकर्षि बन्न पुगेका दुष्यन्त प्रेममा मुग्ध हुँदै धीरललित नायकको गुणका नजीक देखिए पनि समग्र काव्यमा उनको धिरोदात्त नायकको रूपमा चित्रण गरिएको छ । 

दुष्यन्त आकर्षक अरुलाई खुशी पार्ने नायकको रूपमा महाकाव्यमा प्रस्तुत भएका छन् । दुष्यन्त युद्धवीरभन्दा प्रणयवीर, अविजय शक्ति भएको र सर्वविजेता नायक हुन् भन्ने कुरा महाकाव्यमा चित्रण गरिएको छ । प्रकृतिको प्रतिकूल अवस्थालाई जित्न सक्ने शक्ति उनमा छ र जस्तोसुकै सङ्कटमा पनि बल र चातुर्य प्रयोग गरेर जित्ने चतुर नायक दुष्यन्त हुन् । 

पूर्वीय महाकाव्यमा नायकमा अविजेय शक्ति हुनुपर्ने धारणा छ सोही अनुसार ‘शाकुन्तल’ महाकाव्यमा नायक दुष्यन्त त्यस्तै सर्वविजेता नायकका रुपमा चित्रण गरिएका छन् । 

शिकार खेल्न जानु, शिकारका सन्दर्भमा शुकन्तला प्राप्त गर्नु आफ्नै मनकी परी प्राप्त गर्नु स्वभाविक रूपमा दुष्यन्तको जिजीविषा वा जीवन शक्तिको प्रतीक हो । यस प्रकारणको स्त्रैण आद्यरूप संसारका सबै मिथक, लोक आख्यान एवं आख्यानात्मक साहित्यिक कृतिका नायक–नायिकाहरुमा पाइन्छ । 

इन्द्रद्वारा दानवका विरुद्धमा लड्न बोलाइएका दुष्यन्त आफ्नो पराजेय शक्ति प्रदर्शन गर्दे स्वर्गीय यात्रामा निस्केको वर्णन महाकाव्यमा गरिएको छ ।

दुष्यन्त जैविक शक्तिमाथि मात्र विजय प्राप्त गर्दैनन् प्रकृतिका प्रतिकूल अवस्थालाई अनुकुल बनाउने साहास पनि राख्छन् भन्ने कुरा उनले स्वर्गको यात्रामा आफू अनुकुल मौसम परिवर्तन गरेबाट पुष्टि हुन्छ । मानवीय लोकमा मात्र होइन मानवेत्तर लोकमा समेत दुष्यन्तको उपस्थितीले स्वर्गका राजा इन्द्र समेत आश्वस्त भएको देखिन्छ ।

इन्द्रको भनाइबाट दुष्यन्त सर्वविजयी शक्ति भएको भन्ने कुरा बोध हुन्छ । दानवहरुसँग आफ्नो अदम्य शक्ति प्रदर्शन गरेका दुष्यन्त देवसभामा सम्मानित भएका छन् । युद्धमा इन्द्र पनि डराएको बेला दुष्यन्तले सङ्गीत अस्त्र प्रयोग गरी दानवलाई मोहित पारेको प्रसङ्ग छ । 


जस्तोसुकै सङ्कटमा पनि चातुर्य र बल दुवैको प्रयोग गर्ने चतुर नायकको रुपमा दुष्यन्तको वर्णन गरिएको छ । अन्त्यमा शकुन्तलालाई प्राप्त गरी एक सबल र कुशल राजाका रुपमा स्थापित भएका दुष्यन्त सर्वविजयी स्वर्गसम्म अबाध गति भएका नायकका रुपमा महाकाव्यमा प्रस्तुत भएका छन् । यसकारण दुष्यन्तमा भएका यी गुणहरु पूर्वीय महाकाव्यका नायकमा हुनुपर्ने गुण हुन् । 

शकुन्तला

शकुन्तलाको जन्म शक्तिशाली राजर्षि विश्वामित्र र अप्सरा मेनकाबाट भए पनि उनको जीवन विरह र पीडाले भरिएको छ । महाकाव्यको छैठौँ सर्गमा बालिका शकुन्तलताको सौन्दर्य वर्णन गरिएको छ । 


उनलाई कोयली, अप्साराकी महार, उषातुल्य राम्री, गुँडबाट झरेकी स्वर्गीय चरी, सुगन्धित फूलकी कोपिला, लामा केस भएकी, भिजेका परेलाबाट रत्न दाना झल्काउने परीको उपनाम दिइएको छ ।

 देवकोटाको दृष्टिमा युगौँयुगसम्म साधुहरुद्वारा भजन गरिएको भाव र ज्ञानमार्गद्वारा प्राप्त गरिने भावको रहस्य शकुन्तलाको बाल्यपनमा छ । 

शकुन्तलाको बाल्य सौन्दर्यको वर्णनमा उषा, चन्द्रमा, जल, फूल, मुना, पंक्षी, सुन, सुगन्ध, बत्ती, तारा, रश्मि, कोपिला जस्ता सौन्दर्यबिम्ब प्रस्तुत गरी उनमा विद्यामान अलौकिक एवं अतिशय सौन्दर्यको वर्णन गरिएको छ । देवकोटाले यस महाकाव्यमा शकुन्तलालाई दिव्य सौन्दर्यकी प्रतिमूर्तिको रुपमा चित्रण गर्दै पूर्वीय महाकाव्यका नायिकामा हुने सौन्दर्यात्मक गुणको चर्चा गरेका छन् । 

शकुन्तला दुष्यन्तसँग आकर्षित भएर विह्वल बनेकी र दुष्यन्तलाई आकर्षित गर्न लज्जा, दैन्य, औत्सुक्य, उन्माद आदि अनेक सञ्चारी भावले व्याकुल बनेकी भन्ने प्रसङ्ग यस महाकाव्यमा प्रस्तुत गरिएको छ ।

दुष्यन्तसँगको विछोड, दुर्वासा ऋषिको श्रापजस्ता घटनाले शकन्तलाको जीवनमा कष्ट सिर्जना गरेको छ । उनलाई राजाले अपमान र तिरस्कार गर्दा समेत राजाप्रति क्रोधित भएकी छैनन् । 

दुष्यन्तबाट त्यागिन पुगेकी शुकुन्तला तापसी भेषमा कश्यप आश्रममा तापसी भएर बस्न पुगेकी छिन् । विचल्लीमा परेको अवस्थामा शकुन्तलालाई दैवी शक्तिद्वारा संरक्षण गरिनु र परआश्रममा छोरो जन्माएर तापसी भएर बस्न पुगेकी छिन् ।

पूर्वीय महाकाव्यको सिद्धान्तअनुसार नै ‘शाकुन्तल’ महाकाव्यमा शकुन्तला (नायिका) लाई अबोध, निश्छल, सरल बाल्यपनदेखि, लज्जालु, परम सुन्दरी युवतीको रुपमा चित्रण गर्दै दुष्यन्तकी प्रेमिका, भरतकी आमा, तापसी हुँदै हस्तिनापुरकी महारानीको रूपमा समेत चित्रण गरिएको छ । 

कण्व
‘शाकुन्तल’ महाकाव्यमा कण्व ऋषीलाई शकुन्तलाको संरक्षक पिता, तपोनिधि, शक्तिसम्पन्न भनेर चर्चा गरिएको छ । पूर्वीय काव्य सिद्धान्त अनुसार नै कण्व ऋषिलाई वनवासी तपस्वी देखाइएको छ । 

कालिदासद्वारा रचित शाकुन्तलम अभिज्ञानमा ब्रह्माचारीको रूपमा प्रस्तुत भएका कण्वलाई देवकाटाले ‘शाकुन्तल’ महाकाव्यमा भने गृहस्थ जीवनमा प्रवेश गरेका तपस्वीको रूपमा चित्रण गरेका छन् । कण्व ऋषि गृहस्थी धर्मका प्रतिपालक रहेको देखिन्छ । 

उनी हिंसाविरोधी, प्राणीमात्राको कल्याण चाहाने, शान्तिको प्रतीक, दया र वात्सल्यले भरिएका छन् । पूर्वीय सिद्धान्तअनुसार ऋषिमुनिका दैनिक शुद्ध, सात्विक, अहिंसाप्रधान, जीवनवादी चिन्तन हुनुपर्दछ । देवकोटाले भने कण्वलाई वृद्ध हिमालको उपमानद्वारा भव्य र उदात्त व्यक्तित्व प्रदान गरिएको छ ।


शकुन्तलाको विदाइमा आशीर्वचन दिएबाट उनी आदर्शवादी भएको पुष्टि हुन्छ । महान व्यक्तित्व भएका, उदारचरित्र, ऋषिकुमारहरुलाई शिक्षा दिने गुरु, प्राणीमात्रको कल्याण चाहाने शानितका मार्गदर्शक कण्वलाई देवकोटाले युगसापेक्ष ऋषिको रुपमा स्थापित गरेका छन् । 


कण्व वैदिक संहितादेखि परवर्ती पुराणहरुमा समेत चर्चित नाम हो । ऋग्वेदमा समेत उषासूतका द्रष्टाका रुपमा कण्वको नाम लिइन्छ यसकारण हुनसक्छ देवकोटाले ‘शाकुन्तल’ मा पनि उषाकै रुपबाट विकसित गरेका छन् ।

कण्व एक प्राचीन आद्यरुपीय भए पनि ‘शाकुन्तल’ महाकाव्यमा नायिका विचलित भएको अवस्थामा एक संरक्षक, पथप्रदर्शक, आस्था र भरोसाका केन्द्र, अविचलित कर्मनिष्ठ तपस्वी ऋषि वा आचार्यको रुपमा कण्वको चर्चा गरिएको छ ।

मानवका सामान्य क्रियाकलापबाट माथि उठेका कण्व ऋषि दैवी गुण प्राप्त गरेका देवता र मानको मध्यस्थ ऋषिको रुपमा देखा परेका छन् जुन पूर्वीय महाकाव्य सिद्धान्त अनुकुल देखिन्छ । 

विश्वामित्र 

पूर्वीय सिद्धान्तअनुसार सामान मानवीय गुणहरुलाई अतिक्रमण गरेर दैवी गुण प्राप्त गरेका यस्ता पात्रहरुमा प्रकृतिलाई नियन्त्रणमा राख्ने रहस्यमय शक्ति हुन्छ । शाकुन्तल महाकाव्यमा पराक्रमी शक्तिसम्पन्न ऋषिका रुपमा विश्वामित्रको चित्रण गरिएको छ ।

पहिले राजा भएर हिंसाको मार्ग बुझेका उनले तपस्याको बाटो अवलम्बन गर्न खोजेका छन् । पृथ्वीका नाशवान् सुखभोगलाई तुच्छ सम्झेर स्वर्गीय सुख वैभवको खोजी गर्दे समाधिमा लीन भएका विश्वामित्रको तपस्याबाट इन्द्रसमेत डराएका छन् । 

यहाँ विश्वामित्रको अटल, कठिन र अविजेय तपशक्तिको वर्णन गर्दै देवकोटाले पूर्वीय सिद्धान्तअनुसार महाकाव्यमा ऋषिमा हुनुपर्ने शक्तिको वर्णन गरेका छन् । तपस्यामा लीन भएका विश्वमित्र इन्द्रको जालमा फसेर मेनकाको सौदन्र्य र हाउभाउमा लोभिन पुग्नछन् । 

महाकाव्यमा विश्वामित्र र मेनकाको संयोगबाट नै नायिकाको जन्म हुन पुगेको सन्दर्भ छ । शकुन्तलाको जन्मपछि झस्किएका विश्वामित्र पुनः तपस्यामा लीन हुन पुगेका छन् ।

देवकोटाले विश्वामित्रको चरित्रलाई कर्मयोगको मिथकसँग जोडेर भोगवादी दैवी प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकिने विचार व्यक्त गरेका छन् । विश्वामित्रको चरित्र वैदिक संहिता, वाल्मीकि रामायण र अनेक पुराणहरुमा पनि पाइन्छ । 

आदिम वैदिककालदेखि नै प्रतिष्ठा प्राप्त गरेका विश्वामित्रलाई ‘शाकुन्तल’ महाकाव्यमा राजर्षिका रुपमा चित्रण गर्दै आफ्नो कर्मबलले स्वर्ग चाहनो सामान्य जनपक्षीय व्यक्तिका रुपमा लिइएको पाइन्छ ।


विश्वामित्रको चरित्रबाट तपोबलको महिमा गायन गर्नुका साथै आदिम मानवले हत्याहिंसा जस्ता जङ्गली एवं पाशविक कर्मको त्याग गरेर तपस्याजस्तो शान्तिको मार्ग अवलम्बन गरेको ऐतिहासिक वर्णन छ यसकारण पूर्वीय साहित्य सिद्धान्तअनुसार उनको चरित्र यस महाकाव्यमा उत्कृष्ट रहेको छ । 

मेनका 
मेनका स्वर्गकी अप्सरा हुन् । इन्द्रको आज्ञाअनुसार विश्वामित्रको तपस्या भङ्ग गर्न आएकी उनको गर्भबाट महाकाव्यकी नायिका अप्सराको जन्म भएको छ । शकुन्तलालाई जन्म दिएर कण्व आश्रम नजिक छोडी अन्तर्धान भएका मेनका दैवी वा दिव्य चरित्रका रूपमा देखिएकी पात्र हुन् ।


विश्वामित्रको तपस्या भङ्ग गरेकी र दुष्यन्तबाट त्यागिएकी आफ्नी छोरी शकुन्तलालाई अचेत अवस्थामा नै कश्यप आश्रम पु¥याएकी हुनाले उनीमा दिव्य शक्ति छ भन्ने कुरा पुष्टी गर्दछ । 

दिव्य भएर पनि अदिव्यको लीला गर्दै अदिव्य चरित्र विश्वामित्रसगँ प्रणयमा बाँधिएकी मेनकाको चरित्र छलकपटपूर्ण सुन्दरीको रूपमा देखिन्छ ।


देवकोटाले यस महाकाव्यमा मेनकाको दिव्य सौन्दर्यको वर्णन गर्दै त्यस्तो स्वर्गीय सौन्दर्य र धर्तीको तपस्याको संयोगबाट शकुन्तलाको जन्म भएको वर्णन गरेका छन् ।

यसमा आदिम समयदेखि स्वर्गीय वैभवलाई धर्तीमा अवतरण गर्न चाहानेकै प्रतिफलका रुपमा मेनकाको आगमनलाई लिन सकिन्छ । यी कारणहरुले गर्दा यस महाकाव्यमा पूर्वीय महाकाव्यको दृष्टिकोणमा मेनकाको चरित्र उपयुक्त ठहर्छ । 

कश्यप
पूर्वीय सिद्धान्तअनुसार नै ‘शाकुन्तल’ महाकाव्यमा देवकाटाले कश्यप ऋषीलाई अद्भूत ईश्वरीय शक्ति सम्पन्न ऋषि व्यक्तित्वका रूपमा प्रस्तुत गरेका छन् । नायक–नायिका सङ्कटमा पर्दा यस्ता ऋषि व्यक्तित्त्वहरुको भूमिका देखा पर्ने कुरा मिथकहरुमा पाइन्छ ।

संसारभरिकै नायक–नायिकाको सङ्कट मोचन गर्ने काम मुक्तिदाताको रुपमा देखिने चरित्र कश्यप ऋषिमा पनि पाउन सकिन्छ । महाकाव्यमा कश्यप ऋषिलाई तीन सय वर्षका र निगम–आगमका ज्ञाताको रूपमा चित्रण गरिएको छ । 

आँखा चिम्लेर समाधिमा बसे पनि मनका भाव बुझ्ने कश्यप ऋषि शकुन्तला र दुष्यन्त दुबैका आस्था र भरोसाको केन्द्र रहेको कुरा महाकाव्यमा उल्लेख गरिएको छ । पूर्वीय मान्यताअनुसार ऋषि सत्यप्रति अटल आस्थावान् चरित्रका रुपमा देखिन्छन् ।

देवकाटाद्वारा कश्यप ऋषिलाई सत्य र प्रेममा अटल आस्थावान आचार्यको रुपमा प्रस्तुत गरिएको छ । शकुन्तलालाई आफ्नै आत्माको रूपमा देख्न र प्रेमपूर्वक जीवनयापन गर्ने आशीर्वाद दिएबाट कश्यप ऋषि स्वच्छ प्रेममार्गका प्रदर्शक भएको  कुरा स्पष्ट हुन्छ ।

यसका पूर्वीय महाकाव्यको दृष्टिकोणबाट देवकोटाले ‘शाकुन्तल’ महाकाव्यमा चित्रण गरिएको कश्यप ऋषिमा एक शक्ति सम्पन्न, कुशल मार्गदर्शक, संरक्षक व्यक्तित्व रहेको पुष्टि हुन आउछ । 

 दुर्वासा

दुर्वासा प्रेम र वात्सल्यभन्दा पनि क्रोधको प्रतीक मानिन्छन् । विभिन्न पुराणहरुमा वरदानभन्दा श्राप दिने ऋषिको रूपमा उनको चर्चा गरिएको छ । 

यस महाकाव्यमा दुष्यन्तको शोकमा रहेकी शकुन्तलालाई श्राप दिने दुर्वासा ऋषिको उपस्थिती महाभारतीय शकुन्तलाको मिथकमा भने पाइदैन तर कालिदासले नाटकमा भने श्रापको मिथक थप गरेका छन् । प्रस्तुत महाकाव्यमा पूर्वीय मान्यताअनुसार दुर्वासाको श्राप व्यर्थ र अकारण मानिदैन । 

यसले आर्य सभ्यताको अतिथि सत्कारको महत्त्व र गृहस्थ धर्मको महत्त्वलाई दर्शाएको देखिन्छ । शकुन्तलाको सखीहरुले क्षमायाचना गरेपछि पग्लिएका उनी श्रापबाट मुक्त हुने उपाय बताएका छन् ।

यसबाट दुर्वासा ऋषिमा भएको आशुतोष र आशुकोप व्यक्तित्त्व दुबै रहेको र ऋषिहरुलाई निर्माण र विध्वंश दुबै शक्ति विद्यमान रहेको थाहा हुन आउँछ । पूर्वीय महाकाव्यको दृष्टिकोणबाट दुर्वासा ऋषिको चरित्रद्वारा दैवी शक्तिसम्पन्न आद्यरूपीय चारित्रिक वैशिष्ट्य व्यक्त हुन पुगेको देखिन्छ । 

इन्द्र 
इन्द्र स्वर्गका राजाको रूपमा रहेका र मानवीय सुख–दुःखमा प्रत्यक्ष सरोकार राख्ने देवता मानिन्छ । ‘शाकुन्तल’ महाकाव्यमा विश्वामित्रको तपस्यादेखी ईष्र्या गर्ने र तपस्या भङ्ग गर्न जाल बुन्ने देवको रुपमा यीनको चित्रण छ भने दानवहरुबाट स्वर्गमा आक्रमण गरिदा दुष्यन्तसँग सहयोग माग्ने मनुष्य शक्तिको रूपमा समेतको चर्चा गरिएको छ । 

इन्द्रलाई वज्री, कुलीशवान, त्रिदशपति, सुरपति, वडा द्यौता आदि शब्दहरुबाट पनि बुझाइएको छ । महाकाव्यीय मिथकमा देव चरित्रलाई साधारणीकरण गर्दै शासकीय चरित्र झल्काउने प्रयास देवकोटाले गरेका छन् । इन्द्रलाई पूर्वीय मिथकमा प्राचीन मानिन्छ । 

वैदिक कालमा इन्द्र आर्यहरुको उच्च देवताको रुपमा देखिन्छन् भने पौराणिक कालमा इन्द्रको स्थान घट्दै गएको देखिन्छ । ‘शाकुन्तल’ महाकाव्यमा मिथकमा इन्द्रको भूमिका त्यति धेरै नभएको हुँदा इन्द्रको व्यापक चरित्र देखिदैन । यद्यपी स्वर्गीय दैवी चरित्रको समावेशद्वारा आदिम मानवमा निहित स्वर्गीय आकाङ्क्षा र मानवीय आकाङ्क्षमा अवरोध गर्ने दैवी शक्तिको चर्चाले मानव र देवत्त्वको सम्बन्धलाई स्पष्ट पारेको देखिन्छ । 

अनुसूया, प्रियंवदा र चारू

‘शाकुन्तल’ महाकाव्यमा अनुसूया, प्रियंवदा र चारूलाई शकुन्तलाको सखीहरुको रूपम प्रस्तुत गरिएको छ । 

पूर्वीय महाकाव्यको सिद्धान्तअनुसार निश्चल भावना भएका, सरल हृदयी, कपट भावनाहीन, सखीप्रेमी, द्वेषहीन यी सबै नारीहरुलाई मृदु स्वभावका, सहयोगी, कोमल भावना भएका, संवदेनशील र चञ्चल पात्रका रूपमा महाकाव्यमा चर्चा गरिएको छ ।

राजा दुष्यन्त र शकुन्तलालाई प्रणय सुत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने यी पात्रहरु नारीसुलभ सौन्दर्य भएका, सौन्दर्यप्रेमी, हार्दिक भावना भएका प्रकिृतिप्रेमी ग्रामीण बालाका रूपमा प्रस्तुत भएका छन् । 

अतिमानवीय पात्रहरु
आदिम मिथक र काव्य निर्माणमा मानवीय चरित्रभन्दा अतिमानवीय चरित्रको भूमिका बढी भएको पाइन्छ । ‘शाकुन्तल’ महाकाव्यमा देवता, दानव, अप्सरा जस्ता अतिमानवीय पात्रहरुको भूमिका महत्त्वपूर्ण रहेको पाइन्छ ।

महाकाव्यमा प्रस्तुत गरिएका दानवहरु समाजमा ज्ञानी र ध्यानी भए पनि यिनको लक्ष्य सवर्थ र असत्य भएको देखिन्छ । 

आदिम समयदेखि नै समाजमा देवता र दानवको युद्ध भएको र यो सत् तथा असत्को प्रतीक बन्दै आएको मान्यता छ । देवकोटाले पूर्वीय काव्य सिद्धान्तअनुसार प्रयुक्त देव, दानव, अद्र्ध देव, ऋषिमुनि, मानव आदिको प्रयोग प्रस्तुत महाकाव्यमा गरेका छन् । 

आदिम नायकीय दैवी, उच्च मानवीय, तापसी, खल आदिको अनेक आद्यरूपीय चरित्र विन्यासमा ‘शाकुन्तल’ महाकाव्यको निर्माण भएको छ । 

गौतमी 

पूर्वीय महाकाव्यको दृष्टिकोणअनुसार गौतमीलाई ममतामयी, वात्सल्य भावना भएकी, भावुक, सहनशील, सहिष्णु, धार्मिक भावना भएकी नीतिवान्, गुणशील र सरल नारीको रूपमा प्रस्तुत गरिएको छ । 

उनी कण्व ऋषिकी पत्नी तथा आफ्ना मातापिताबाट त्यागिएकी शकुन्तलालाई ममत्व प्रदान गरेर हुर्काउने नारी पात्र हुने । 


पूर्वीय महाकाव्यको दृष्टिकोणअनुसार उनी आदर्श, कुशल गृहणी, अनुभवी र कतव्र्यपरायण नारी पात्र हुन् भन्ने कुराको पुष्टी शकुन्तलालाई हुर्काउनु, शकुन्तलालाई आशीर्वचन र मार्गनिर्देशन दिनु तथा आफैँ दुष्यन्तको दरबारमा पु¥याउँन गएको सन्दर्भबाट गर्न सकिन्छ । 

     यसैगरी देवकोटाले यस महाकाव्यमा किसान र उनकी छोरी श्यामा तथा ऋषिहरुको चर्चा गरेका छन् । किसान कर्मयोगी, लोभ–लालच विहिन पात्रको रूपमा प्रस्तुत भएका छन् । पूर्वीय दृष्टिकोणअनुसार यस महाकाव्यमा प्रयुक्त एकाध पात्र बाहेक सबैको भूमिका अर्थपूर्ण, व्यवहारिक, सान्दर्भिक, उद्देश्यपूर्ण र गरिमामय देखिन्छ । 

परिवेश विधान 

महाकाव्यमा परिवेशगत व्यापकताको आवश्यकता रहेको पूर्वीय आचार्यहरुको विचार रहेको पाउन सकिन्छ । भामहले महाकाव्यमा सम्पन्न परिवेश हुनुपर्ने बताएका छन् । दण्डीले महाकाव्यमा नगर, समुन्द्र, पहाड, ऋतु, सन्ध्या, रात्रि, चन्द्रोदय, सूर्योदय, उद्यान जस्ता प्राकृतिक पक्षको उल्लेख गरेका छन् ।

त्यस्तै, आचार्य रुद्रटले सूर्यास्तमा सन्ध्या, रात्रि, चन्द्रोदय नगरको वर्णन जस्ता प्रकृतिगत विविधताको वर्णन गरेका छन् ।

विश्वनाथले पनि महाकाव्यमा सन्ध्या, सूर्य, चन्द्र, रात्रि, प्रदोष, अन्धकार, दिन, उषा, मध्यान्ह, पर्वत, ऋतु, वन उपवन, नगर, समुन्द्र, स्वर्ग आदिको परिवेश र स्थान हुनुपर्ने बताएका छन् ।

यस्ता परिवेशले महकाव्यको उदात्त पक्षलाई सङ्केत गरेको छ । महाकाव्यमा इहलोकदेखि लोकान्तरसम्मको परिवेशलाई चित्रण गरिएको हुन्छ । पूर्वीय सिद्धान्तअनुसार धर्ती, स्वर्ग र पाताललोकलाई समेटेर मानवीय व्यपाकताको परिवेशमा महाकाव्यको परिवेश चित्रण हुनुपर्छ । 

       ‘शाकुन्तल’ महाकाव्यको स्थानगत परिवेश र कालगत परिवेश पौराणिक रहेको छ । पुराणले निर्देशित गरेको समय र स्थान नै महकाव्यमा उपयोग गरिएको छ । 

पुराणमा कुनै तिथीमिति सहितको काल पाइदैन । पौराणिक काल र आजको काल भिन्न भएको हुँदा यसको छुट्टै विशेषता रहेको पाउन सकिन्छ । महाकाव्यमा इहलोक, परलोक, स्वर्गलोक जस्ता लोकहरुको चर्चा गरिएको छ । दुष्यन्त स्वर्गको यात्रामा निस्केको समयमा सातै लोकको परिकल्पना अत्यन्तै सुन्दर रूपमा गरिएको छ । 

पृथ्वी, जल, वायू, तम, रज, शूचि वा सत्य र आनन्द जस्ता सात लोकको परिकल्पनाले महाकाव्यमा स्थानको व्यापकता देखाएको पाइन्छ । वन र वन्य जीवन, नगर र नागर जीवन, दिव्यलोक र देवताको जीवन जस्ता तीन परिवेशमा यस महाकाव्यको निर्माण भएको छ । वन स्वच्छ, निष्कपट, शान्त, सहयोगी, मानवीय जस्ता गुणको भण्डारको रूपमा रहेको छ । 

यो आर्य सभ्यताको केन्द्रको रूपमा रहेको छ । यसमा कण्व, विश्वामित्र, कश्यप ऋषिको वासस्थानको वर्णन छ । यसमा नक्कली नखरा छैन । शकुन्तला सङ्कटमा परेको समयमा आश्रम आस्था र भरोसाको केन्द्र बनेको छ । पूर्वीय परम्परामा दुःख र बेदनाबाट छुटकारा पाउने स्थानको रूपमा आश्रमलाई विश्वास गरिएको पाइन्छ । 


आश्रम शिक्षाको रूपमा मात्रै नभइ अनुशासन, मर्यादा, संयम र शिष्टताको दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ । ‘शाकुन्तल’ महाकाव्यमा दुष्यन्तको राजधानी हस्तिनापुर नागर सभ्यताको रूपमा आएको छ । शहरीया परिवेश कृत्रिम र कष्टप्रद देखिन्छ ।

 यसलाई देवकोटाले झुट, छली र अशान्त रूपमा चित्रण गरेका छन् । महाकाव्यमा राष्ट्रिय स्तरको तत्कालिन सामाजिक सांस्कृतिक मूल्य मान्यताको सुक्ष्म चित्रण पाइन्छ । पूर्वीय महाकाव्यको लक्षणमा परिवेशगत व्यापकतालाई सङ्केत गर्नु तत्कालिन समाजका विविधतालाई चित्रण गर्ने अर्थमा र त्यसबाट सामाजिक पक्षलाई व्यञ्जित गर्ने लक्ष्य नै प्रमुख रहेको देखिन्छ ।  


       अतः पूर्वीय महाकाव्यको सिद्धान्तअनुसार ‘शाकुन्तल’ महाकाव्यमा प्रकृतिको बारेमा गम्भीर धारणा प्रकट भएको छ । कुसुमश्रीको देश, व्यासको पाठशाला, विजनपरीको सृजना जस्ता अनेक बिम्बले प्रकृतिको सौन्दर्यलाई देखाइएको छ । 

हरिया मखमल, कलकल खेल्ने जल, मृगको मस्त उग्राइ, कोइलीको नयाँ बोली, बल्लीको दिव्य नचाइ जस्ता पक्ष प्रस्तुत गर्दै देवकोटाले यस महाकाव्यमा निरपेक्ष प्रकृतिको शान्त, एकान्त, स्वायत्त परिवेशलाई प्रस्तुत गरेका छन् । 

भाषिक शिल्पशैली
महाकाव्यको भाषाशैलीको बारेमा पूर्वीय परम्परामा चर्चा भएको पाइन्छ । भामहले महाकाव्यको भाषा अलङ्कारपूर्ण हुनुपर्ने धारणा व्यक्त गरेका छन् । साहित्यको भाषा वैशिष्टय अर्थात आलङकारिक हुन्छ । भाषाको ग्राम्य रूप नभएर विशिष्ट भाषाको स्वीकृति भामहले दिएका छन् ।

भाषालाई बोलीचालीको भाषा र साहित्यिक भाषाको रूपमा विभाजन गरिन्छ । साहित्यिक भाषा आलङ्कारिक मात्रै नभइ विचलन युक्त पनि हुन्छ । यस प्रकारको विचलन वर्ण, पद, पदावली र वाक्यका तहमा हुन्छन् । ‘शाकुन्तल’ को भाषामा पनि व्याकरणगत विचलन पाइन्छ ।

शब्द चयनका दृष्टिले ‘शाकुन्तल’ मा सांस्कृतनिष्ठ पदावलीले युक्त देखिन्छ । यसमा धेरै ठाउँमा संस्कृतका अप्रचलित शब्दहरुको प्रयोग भएको देखिन्छ । 

यसमा केही आगन्तुक शब्दको पनि उपयोग गरिएको छ । देवकाटाले तत्सम शब्दको पनि प्रयोग गरेका छन् भने अन्योक्ति कथन पनि पाइन्छ । त्यस्तै देवकोटाले प्रस्तुत महाकाव्यमा तहालु, पुञ्जिदो, सौखचाुल जस्ता स्वनिर्मत शब्दको पनि प्रयोग गरेका छन् । 

अलङ्कार विधान
अलङ्कार भाषा र भावको चामत्कारिक पक्ष हो । पूर्वीय आचार्यहरुले अलङ्कारको आधार पनि शब्द र अर्थ नै रहेको कुरा प्रष्ट पारेका छन् । यास्कले निरुक्तमा उपमा अलङ्कारको चर्चा गर्दै आफूभन्दा अगाडि पनि अरुले नै अलङ्कृत भाषाको चर्चा गरेको कुरा व्यक्त गरेका छन् । 

आचार्य भरतले अलङ्कारलाई काव्यको अङ्गको रूपमा स्वीकार गरेका छन् । भामहले यसलाई साहित्य सिद्धान्तको रूपमा स्थापित गरे । भामहले उनन्चालीस, दण्डीले पैतिस, वामनले तेत्तिस, उद्भटले चालिस, रुद्रटले बाउन्न, मम्मटले सतसठी, जयदेवले एक सय र अप्पय दीक्षितले एक सय चौबिस अलङ्कारको सङ्ख्या पु¥याएका छन् । 

अलङ्कारमा प्रस्तुत, अप्रस्तुत, साधम्र्य, वैधम्र्य, विधि, निषेध, वाच्य, गम्य विरोध, अनुमान जस्ता गुण रहने हुँदा अलङ्कार विशिष्ट कथनको रूपमा रहेको छ । भामहले वक्रोक्तिपूर्ण कथनलाई अलङ्कार भनेका छन् । दण्डीले काव्यको शोभकारक धर्मलाई, वामनले काव्य अलङ्कारको कारणले ग्राह्य हुने बताएका छन् । जयदेवले तातो बिनाको आगो र अलङ्कार बिनाको काव्य परिकल्पना गर्न नसकिने धारणा राखेका छन् । 


       देवकोटाले ‘शाकुन्तल’ महाकाव्यमा शब्दालंकारअन्तर्गत छेकानुप्रास, वृत्यनुप्रास, अन्यानुप्रास, यमक जस्ता अलङकारको प्रयोग गरेका छन् । त्यस्तै अर्थालंकारअन्तर्गत उपमा, रूपक, उत्प्रेक्षा, सन्देह, अतिशयोक्ति, समायोक्ति, उदात्त, अर्थान्तरन्यास, स्वभावोक्ति, परिणाम, विभावनाको प्रयोग यस महाकाव्यमा पाइन्छ । 

रस विधान

भामहले महाकाव्यमा सबै रस हुनुपर्ने मान्यता अघि सारेका छन् भने दण्डीले रस भावको निरन्तरतामा जोड दिएका छन् । विश्वनाथले कुनै एउटा अङ्गी रस हुनु पर्ने र अन्य रस अङ्ग रसका रूपमा रहने धाराणा व्यक्त गरेका छन् । 

पूर्वीय महाकाव्यशास्त्रीहरु रसको औचित्यको बारेमा एकमत भएको पाइन्छ । रस मानवीय मनोवृत्तिसँग गाँसिएको हुन्छ । पूर्वीय परम्परामा साहित्यमा रस विभाव, अनुभाव र व्यभिचारी भावका माध्यमबाट प्रकट हुने धारणा आचार्य भरतले राखेका छन् ।  

मानव मनमा आदिम समयदेखि रस कायम रहेको पाइन्छ । ‘शाकुन्तल’ महाकाव्य रसले पूर्ण महाकाव्य हो । यसमा मूख्यतः शृङ्गार रस पाइन्छ भने यसको मूल भाव प्रणय नै हो । 


       ‘शाकुन्तल’ मा दुष्यन्त र शकुन्तलाको परस्पर मिलनमा सम्भोग श्रृङ्गार सम्भव भएको छ र यो गान्धर्व विवाहसम्म पुगेको छ ।


अन्त्यमा संयोगमै टुङ्गिए पनि वर्णनका हिसावले महाकाव्यमा मिलनभन्दा विरहले महत्त्व पाएको देखिन्छ । ‘शाकुन्तल’ दुष्यन्तको विरहमा व्याकुल बनेकी छिन् ।

 सुख र मिलनको ज्यादै क्षणिक भावको प्रकट भएको छ । यसरी ‘शाकुन्तल’ मा श्रृङ्गार रसको दुवै रूपको समन्वय पाइन्छ । 

‘शाकुन्तल’ मा मूख्यतः शृङ्गार रस भए पनि यसमा करुण, हास्य, अदभूत, भयानक जस्ता रसको समुचित प्रयोग भएको छ । करुण रसको उपयोग शकुन्तलाको व्यथामा प्रकट भएको छ भने हास्य रस विदूषकका कथनबाट प्रकट भएको देखिन्छ । 

ध्वनि

ध्वनि काव्यको अर्थ पक्षसँग सम्बन्धित छ । अर्थ तीन प्रकारका हुन्छन् ः वाच्यार्थ, लक्ष्यार्थ र व्यङ्ग्यार्थ । आनन्दवद्र्धनले ध्वनिलाई विभिन्न युक्ति दिएर काव्यमा ध्वनि हुनु पर्ने धारणा राखेका छन् । 

उनले ध्वनिलाई प्रतीयमान अर्थ भनेका छन् र प्रतीयमान अर्थ बुझ्नका लागि वक्ता, बोद्धा, स्वरुप, प्रतीतिकाल, आश्रय, निमित्त, कार्य, संख्या, विषय जस्ता भेदक तत्त्वहरुको आवश्यकता पर्दछ । 


ध्वन्यार्थ काव्यको आत्मा हो भन्ने धारणा आनन्दवद्र्धनको रहेको छ । सहित्यमा विशिष्ट अर्थ वा भाव हुन्छ भन्ने कुरा भरत, भामह, दण्डी लगायतका पूर्वीय आचार्यहरुले पनि स्वीकार गरेका छन् । 

       ‘शाकुन्तल’मा मंगलाचरणका रुपमा आएको पद्यमा सम्पूर्ण वस्तुलाई शिव र यस पार्वतीको कथाको अभिधेयात्मक कथनबाट व्यञ्जित गरिएको छ । यस प्रबन्ध महाकाव्यमा काव्यगत व्यञ्जना प्रशस्त पाउन सकिन्छ । शकुन्तला र दुष्यन्तको प्रणय भाव र यसको व्यञ्जनात्मक अर्थ मानवीय प्रणय र सद्भाव नै मूल कथ्यको रुपमा आएको छ । 

रीति

पूर्वीय काव्य परम्परामा रीति र गुणलाई काव्यको महत्वपूर्ण पक्षको रुपमा लिने गरिन्छ । रीति र गुणको सैद्धान्तिक आधार तयार गर्ने आचार्य वामन हुन् । वामनले रीतिलाई महत्त्वपूर्ण सिद्धान्तका रुपमा लिएका छन् र काव्यको आत्मा नै मानेका छन् । 

भरतदेखि नै रीतिको सम्बन्ध विशेष गरेर प्रादेशिक वैशिष्टयसँग गाँसिएको देखिन्छ । यसलाई क्षेत्रगत शैलीको रुपमा समेत लिइएको पाइन्छ । ‘शाकुन्तल’ मा अनेक रीतिको उपयोग भएको भए पनि यसलाई मूख्यतः वैदर्भी रीतियुक्त महाकाव्यको रुपमा लिइएको पाइन्छ । आवश्यक ठाउँमा रसोचित वर्णनका क्रममा पाञ्चाली र गौडी  रीतिको पनि प्रयोग रहेको छ । 

वक्रोक्ति 

पूर्वीय काव्य मान्यतामा वक्रोक्तिको महत्त्वपूर्ण स्थान रहेको छ । वक्रोक्ति शब्दको प्रयोग गर्ने आचार्य भामह भए पनि दण्डी, वामन, रुद्रट, आनन्दवद्र्धन आदिले यसलाई विस्तार गरे भने कुन्तकले स्थापित गरे । कुन्तकले यसलाई विशिष्ट कथनका रुपमा लिएका छन् । 

नेपालीमा महाकाव्यका लक्षणकारहरुले वक्रोक्तिको छुट्टै चर्चा नगरे पनि विशिष्ट भाषाको चर्चाका क्रममा वक्रोक्तिको महत्त्व झल्किन्छ । ‘शाकुन्तल’ महाकाव्यमा प्रकरण वक्रता र प्रबन्ध वक्रताको उदाहरण पाइन्छ । 

       यस महाकाव्यमा देवकोटाले प्रसिद्ध कथावस्तुलाई ग्रहण गरेर पनि किसानको प्रकरण थप गरेर ग्राम्य जीवनको सरलता र सरसता प्रस्तुत गरेका छन् । यसले हस्तिनापुरको नागर सभ्यतालाई र वन्य जीवनको तापस सभ्यतालाई समेत उपास गरेको छ । यो प्रसङ्ग महाकाव्यमा प्रकरण वक्रताको रुपमा आएको छ ।

 
‘शाकुन्तल’ प्रसिद्ध कथावस्तुमा आधारित भएको महाकाव्य भए पनि देवकोटाले यसमा आफ्नो कल्पनाशीलता भरेका छन् । मंगलाचरणमा कविले मौलिक भाव व्यक्त गरका छन् । त्यस्तै, आधुनिक युग जीवनलाई हेर्ने कविको निजी दृष्टिकोण रहेको छ । अतः कविले यस महाकाव्यमा प्रस्तुत गरेका सम्पूर्ण मौलिकपन नै प्रबन्ध वक्रता हो । 


छन्दोबद्धता

छन्दको प्रयोग वैदिक संहितादेखि नै भएको हुँदा छन्द प्राचीन समयदेखि नै प्रचलनमा आएको छ । वाल्मीकि, रामायण, महाभारत, विभिन्न पुराण र अन्य ज्ञानका शाखा पनि छन्दमा नै लेखिनुले छन्दको प्राचीनता झल्कन्छ । भामहले महाकाव्यलाई छन्दोबद्ध रचनाका रुपमा चिनाएका छन् ।

दण्डी र विश्वनाथले छन्दबद्धताका खास प्रवृत्ति महाकाव्यमा हुनुपर्ने उल्लेख गरेका छन् । दण्डीका अनुसार महाकाव्यका प्रत्येक सर्ग एक छन्दमा रचिनुपर्छ र सर्गको अन्त्यमा छन्द परिवर्तन गरिनुपर्छ । 

विश्वनाथका अनुसार एकै सर्गमा पनि विभिन्न छन्दको प्रयोग गर्न सकिन्छ तर सर्गको अन्त्यमा भने छन्द परिवर्तन गएको हुनुपर्छ । संस्कृतिमा अनेक प्रकारका छन्द छन् । संस्कृतमा प्रयोग भएका छन्द नै नेपालीमा उपयोग भएको छ । 


       ‘शाकुन्तल’ महाकाव्यमा प्रमाणिका, समानिका, माणवक, भुजैगसंगता, द्रुता, संयुता, स्वागता, इन्द्रवज्रा, उपेन्दव्रज्रा, उपजाति, इन्दिरा, रथोद्धता, शालिनी, दोधक, विगोगिनी, उपजाति, भुजगंप्रयात, तोटक, स्रग्विणी, द्रुतविलम्बित, वशस्थ, प्रभावली, अभिनवर्तमरसा, चन्दवत्र्म, मालती, मन्दाकिनी, प्रहर्षिणि, वसन्ततिलका, मालिनी, तूणक, पञ्चमार, अनुष्टुप, शिखरिणी, मन्दाक्रान्ता, पृथ्वी, शार्दूलविक्रीडित स्रग्धरा, गुणक, मात्रा छन्दको प्रयोग गरेका छन् । 

उद्देश्य
पूर्वीय समीक्षकहरुले धर्म, अर्थ, कम, मोक्ष, अभिव्यक्त गर्नु महाकाव्यको उद्देश्य हुनुपर्ने बताएका छन् । आचार्य भामहका अनुसार महाकाव्यमा चुतुर वर्गको फल चित्रण गरिनुपर्ने र ती मध्ये अर्थको अभिव्यक्तिलाई मूख्य उद्देश्य बनाइनु पर्ने कुरा उल्लेख गरेका छन् । 

आचार्य विश्वानाथले महाकाव्यमा चुतुरवर्गको चित्रण गरिनु पर्ने र तीमध्ये कुनै एक चित्रलाई फलका रुपमा परिणत गरिनुपर्ने दृष्टि प्रस्तुत गरी कुनै एक वर्गको अभिव्यक्तिलाई महाकाव्यको मूख्य उद्देश्य बनाइनु पर्ने विचार व्यक्त गरेका छन् । दण्डी र रुद्रटले महाकाव्यमा धर्म, अर्थ, कम जस्ता समष्टी अभिव्यक्तिमा जोड दिएका छन् । 


       ‘शाकुन्तल’ महाकाव्य देवकोटाले शास्त्रीय मान्यतामा आधारित भएर रचना गरेका हुन् । यहाँ जीवनलाई प्रकृति तथा स्वभाविक रुपमा हेर्ने प्रयत्न भएको छ ।

 जीवनका रहस्यहरु खोज्ने क्रममा यहाँको प्रकृति स्वभाविक रूपमा आएको छ । उन्मुक्त यावत् सम्भावनाहरुलाई अगाडि सारी परिस्थितीको सामाना गर्दै तिनैको बीचबाट जीवन समृद्ध बन्छ भन्ने सन्देश दिनु यस महाकाव्यको उद्देश्य हो । महाकाव्यमा जीवनलाई सुखद सन्दर्भमा अथ्र्याउने प्रयास गरिएको छ तर यति हुँदा हुँदै पनि महाकाव्यमा सुखान्त पक्षको वर्णन मात्रै छैन । ‘शाकुन्तल’ मा देवकोटाको अनुभूति, दर्शन र विचार समेत आएको छ । 


       ‘शाकुन्तल’ महाकाव्यको पृष्ठभूमि राणाशासनप्रति बढ्दो असन्तुष्टि, वितृष्णा, विश्व राजनीतिमा आएको परिवर्तन, सनातन धर्म प्रति वितृष्णा, निराशा रहेको छ ।

यसकारण यस महाकाव्यको उद्देश्य यस्ता पक्षहरुको विरोध गर्नु समेत रहेको छ । महाकाव्यमार्फत देवकोटाले मानवतावाद, सांस्कृतिक पुनर्जागरण, प्रकृति र नागर सभ्यताबीचको समन्वय प्रस्तु गरेका छन् । 

शीर्षकीकरण वा नामाकरण 

महाकाव्यको शीर्षक सामान्यतया नायक–नायिकाको नामबाट राख्ने चलन पुरानै हो । विश्वनाथको विचारमा महाकाव्य ग्रन्थको नाम कवि वा नायक वा प्रतिनायक वा कथात्मक घटनामा आधारित हुनुपर्छ भने सर्गको शीर्षकको नाम सर्गमा चित्रित विषयअनुसार गरिनुपर्छ ।


शाकुत्लोपाख्यानको मूल स्रोत मानिने शतपथ ब्राह्मणमा शुकन्तलाले भरतलाई धारण गरेको उल्लेख छ । शतपथ ब्राह्मणको एउटा छोटो वाक्यमा पनि धारणकर्ता शकुन्तलाको प्राधान्य देखिन्छ । यसको वृहत आख्यान महाभारतको सम्भव पर्वका ६८ अध्ययादेखि ७४ सम्मका ७ अध्यायमा विस्तारित छ । 

पश्चवर्ती समयमा यो आख्यान शकुन्तला प्रधान बनेर ‘अभिज्ञान शाकुन्तल’, ‘शाकुन्तल’ महाकाव्य आदि नामकरणमा चर्चित भएको छ । देवकोटाले मूलतः लोक प्रचलनलाई सम्मान गर्दै शकुन्तलाको केन्द्रीयतामा काव्यीय आख्यानको निर्माण गरेका छन् ।

शकुन्तलाको जन्मप्रकरण बाल्यलीला, कण्व आश्रममा तापसी ब्रह्मचार्य, चारू, अनुसूया, प्रियंवदा जस्ता साथीहरुसँगको हास परिहास, दुष्यन्तसँगको प्रणय र गान्धर्व विवाह, कण्व र गौतमी एवं साथीहरुबाट बिदाइ, दुष्यन्तद्वारा तिरष्कारपूर्ण ढङ्गले हस्तिनापुर दरबारबाट निष्काशन, कश्यप आश्रममा शरण, आश्रममा नै छोरा भरतको जन्म, अन्त्यमा पुनः दुष्यन्तसँग मिलन भएर हस्तिनापुरकी महारानी बन्न पुगेको शकुन्तलाको जीवनगाथामा यो महाकाव्य आधारित छ । 


महाकाव्यको प्रत्यक्ष सम्बन्ध शकुन्तलाको जीवनका हरेक घटनाक्रमहरुसँग जोडिएको छ । यसकारण पूर्वीय महाकाव्यको सिद्धान्तअनुसार यस महाकाव्यको शीर्षकीकरण वा नामकारण सार्थक र औचित्यपूर्ण देखिन्छ ।
 
निष्कर्ष 

भारतीय उपमहाद्वीपका महान कवि कालिदासद्वारा रचित विश्वविख्यात नाटक अभीज्ञान ‘शाकुन्तलम’ मा जुन दिब्य प्रेमको बिराट आकाशलाई देखाइएको छ, किन्चित त्यसभित्र निहित निर्मल प्रेमज्ञान तरङ्गहरूलाई महाकवि लक्ष्मीप्रसाद देबकोटाले ‘शाकुन्तल’ माहाकाब्यमा देखाउन सफल भएका छन् ।

प्रकृतिकी छोरी शकुन्तलाको प्राकृतिक सहचार्य, मानव र प्रकृतिको मधुर मिलन प्रदर्शन गर्ने उद्देश्यले प्रस्तुत महाकाव्य लेखेको हुनुपर्दछ । ‘शाकुन्तल’ महाकाव्य नेपालीमा प्रकाशित सर्वप्रथम मौलिक महाकाव्य हो ।

पूर्वीय सिद्धान्तअनुसार महाकाव्य आठ सर्गभन्दा बढी हुनुपर्ने मान्यतालाई कायम राख्दै देवकोटाले प्रस्तुत महाकाव्य २४ सर्गमा रचना गरेका छन् ।

प्रत्येक सर्गमा मौलिकता र नवीनता झल्केको देख्न सकिन्छ । सर्गभरि एउटै छन्द र सर्गको अन्त्यमा छन्द बदल्नु पर्ने पूर्वीय मान्यताको कतै कतै पालना भएको पाइन्छ । यो महाकाव्य छन्दको प्रयोगशाला र पाठशाला दुबै बन्न गएको देखिन्छ ।


शार्दूलविक्रीडित छन्दबाट महाकाव्यको श्रीगणेश गरेका देवकोटाले मालिनी, तोटक, भुजङ्गप्रयात, स्रग्विणी, इन्द्रवज्रा, वसन्ततिलका, अनुष्टुप, शालिनी, स्रग्धरा, पृथ्वी, पञ्चामर, वंशस्थ, रथोद्धता, द्रुतविलंवित, प्रहर्षिणी आदि संस्कृतका विभिन्न वार्णिक छन्दहरूलाई यस महाकाव्यमा उपयोग गरिएको छ ।

यति हुँदा हुँदै पनि भावलाई सर्वाधिक महत्त्व दिने महाकवि देवकोटा छन्दको बन्धनबाट सर्वथा उन्मुक्त देखिन्छन् । मूलतः शब्दालङ्कारमा रमाउने देवकोटा अर्थालङ्कारको प्रयोग गर्न पनि पछि परेका छैनन् । अनुप्रास, श्लेष, उपमा, यमक, उत्प्रेक्षा आदिको सौन्दर्यले काव्यको शोभा बढाएको छ । 

       यसमा पूर्वीय महाकाव्य मान्यताका अधिकांश लक्षणहरू पाइन्छन् । शास्त्रीय छन्दमा कविताको रचना हुनु, कथानक पौराणिक हुनु, शृङ्गार रस प्रधान हुनु, नायक प्रतापी क्षत्रीय राजा दुष्यन्त धीरोदात्त नभएपनि धीरललित प्रकृतिको हुनु, नायिका शकुन्तला स्वकीया मुग्ध हुनु प्राचीन परम्परा हो । 

त्यसैगरी समुद्र, वन, ऋतुहरू, साँझ, बिहान, सूर्य, चन्द्र, शिकार आदिको वर्णनमा पनि प्राचीन परम्परा छाडिएको छैन । देवकोटा प्रकृतिप्रेमी हुन् । उनी प्रकृतिको सुन्दर रूपका साथै भयानक रूपको पनि चित्रण गर्न सिद्धहस्त छन् । 


       प्रस्तुत महाकाव्यमा देवकोटाले परोक्ष शैलीमा सामाजिक आदर्शको सूचना दिएका छन् । राजा दुष्यन्तले शकुन्तलालाई गरेको तिरस्कार देखाएर देवकोटाले आफ्नो देशका शासकलाई सतर्क गराएका छन् । 

उनले किसानको नयाँ प्रसङ्ग जोडी सरलता र अतिथि सत्कार गर्ने नेपाली जातीय परम्पराको चित्रण गरेका छन् । पूर्वीय र पाश्चात्य चिन्तनको मूलमा सत्य, शिव र सौन्दर्यको खोजी र तदनुरुपको आदर्श जीवन निर्माण गर्ने कविको चाहाना रहेको छ । 

तपस्या भंग गर्न उद्यत स्वर्गलोक र त्यहाँको विलासीपन, शकुन्तलाको सरलता, शकुन्तलालाई घर पठाउने क्रममा कण्वले दिएको जस्ता मार्मिक अभिव्यक्तिमा वर्तमान नेपाली समाजको चित्र प्रष्ट हुन्छ । 

मानवीय जीवनको जैविक यर्थाथता र मानव हुनका उच्चता बोधको द्वन्द्वमा स्थापित भएका सत्य, शिव र सौन्दर्यको मूल्यलाई कविले चित्रण गरेका छन् ।

कश्यप, कण्व, विश्वामित्र आदि ऋषिहरु शिव वा कल्याणका प्रतीक हुन् यीनको समन्वयमा सततशील लोक जीवनको प्रवाह बगाउन चाहाने देवकोटाको दर्शन ‘शाकुन्तल’ मा काश्व्यमय भएर प्रवाहित भएको छ ।




सन्दर्भ सूची

१) ओझा, रामनाथ (२०७५), नेपाली कविताकाव्य, काठमाडौँ : करुणधारा पब्लिकेसन ।

२) गड्तौला, नारायण (२०६९), शाकुन्तल महाकाव्यको विवेचना, काठमाडौंः शुभकामना प्रकाशन

३) थापा, मोहन हिमांशु (२०३६), साहित्य परिचय, ललितपुर : साझा प्रकाशन ।

४) देवकोटा, लक्ष्मीप्रसाद (२०७३), शाकुन्तल, , ललितपुर : साझा प्रकाशन ।

५) प्रधान, कृष्णचन्द्रसिंह (२०५८), साझा समालोचना, ललितपुर : साझा प्रकाशन ।

६) बम, इन्द्रबहादुर (२०६८) शब्दाङ्कुर काठमाडौंः एलाइड न्युज एजेन्सी ।

७) बन्धु, चुडामणी (२०५८), देवकोटा, ललितपुर : साझा प्रकाशन ।

८) अनलाइन नेपाली विक्वीपिडिया 

















Comments

Popular posts from this blog

समाजपरक समालोचना प्रणाली