अभियोग
२०७२/१२/०३
मैले देखेकी छु, तिम्रो आँखाको समुद्र
देखेकी छु, खुशीको बगैँचा
पुगेकी छु, तिम्रो सपनाको क्षितिजसम्म
छामेकी छु मुटुको धड्कन र पैतालाका डामहरू र त बैचन छु
जसरी दुःखको पहाड बोकेर उक्लिन्छ बादल
जुनताराहरू खर्लप्पै निलेर
सल्बलाउँछ आकाशभरी
बनाउँछ संसारै कालो
त्यसरी पीरको धरहरा बोकेर उभिरहेका छौँ तिमी
बर्षौदेखि उसैगरी
यो भव्य सहरमा
भोको पेट, अनिदो आँखा
एकजोर खाली खुट्टा र काँधमा एक नाम्लो आशा मात्रै छैन तिमीसँग
छ,
उपचार नपाएर मरेकी आमाको दर्द
छोराछोरीको हराएको बालापान र
बुवाको बुढेसकालको आश पनि
लोकतान्त्रिक सरकारले मुक्ति दिलाएपछि
मुक्त भयौ तिमी
मुक्त भयौँ हामी
खै किन हो ? भोकबाट मुक्ति पाएन पापी पेटले
सपनाबाट मुक्ति पाएनन् आँखाहरूले
रहरबाट मुक्ति पाएनन् हातहरूले
बाटोबाट मुक्ति पाएनन् खुट्टाहरूले
प्रिय
हामी फेरि बन्धक भयौँ
हामी फेरि दास भयौँ
हाम्रो खुशी अझै हिरासतमै छ
हामीलाई गरिब हुनुको अभियोग लागेको छ ।
Comments
Post a Comment