समाजपरक समालोचना प्रणाली

अध्ययन सार

    सामाजिक जीवन भोगाइको अभिव्यक्ति साहित्य हो । समाजपरक समालोचना प्रणाली वर्तमान युगको एक शसक्त एवम् उपयोगी समालोचना हो । 

यसको मान्यताअनुसार साहित्य रचनाको प्रमुख आधार ऊ बस्ने समाज हो । साहित्य जीवनका विविध सामाजिक सन्दर्भहरुमा आधारित हुने भएकोले तिनै विषयका आधारमा साहित्यलाई हेर्ने र मूल्याङ्कन गर्ने दृष्टिकोण समाजपरक समालोचना प्रणालीले अङ्गालेको पाइन्छ ।

 सामाजिकताको अध्ययनको दृष्टिले उच्चकोटीको मानिएको यस अध्ययनमा समाजपरक समालोचना प्रणालीको विषयमा दृष्टिकोण, विशेषता तथा मान्यताहरु प्रष्ट्याउने उद्देश्य यस अध्ययनमा राखिएको छ । 


ईसाको १८ औं शताब्दीमा विकोले होमरका कृतिको अध्ययनका आधारमा ग्रीक समाजको विवेचना गरे देखि नै पाश्चात्य समालोचना प्रणालीमा सामाजिक दृष्टिकोण स्थापित भएको देखिन्छ । इङमन्ड विल्सन, हर्डर, हिपोलाइट टेन तथा सेन्ट व्युभका सिद्धान्तबाट युरोपमा समाजपरक समालोचनाको पृष्ठभूमि तयार भएको हो । समाजको बहुमुखी चित्रण र त्यसको मूल्याङ्कन गर्न खोज्ने यथार्थवादी सिर्जनाका आधार नै साहित्यलाई समाजको ऐनाको रुपमा हेर्न थालियो ।

 साहित्यिक कृतिमा प्रमाणसिद्ध अभिव्यक्तिद्वारा गरेको सामाजिक यथार्थको वर्णनका आधारमा कृतिको मूल्याङ्कन गर्न थालेदेखि नै समाजपरक समालोचना प्रणालीको विभिन्न प्रवृत्तिको जन्म भएको देखिन्छ । यसले साहित्यलाई सामाजिक जीवन भोगाइ मान्छ र त्यहिँबाट लेखकको चेतना निर्मित हुन्छ भन्छ । यसले साहित्यको माध्यम भाषालाई सामाजिक वस्तु मान्दछ । समाजपरक समालोचनाअनुसार कृतिको आस्वादन र अध्ययनबाट मानसिक प्रभाव प्रभाव तथा कृतिगत प्रभावलाई समाजिकता मानिन्छ । 

समाजपरक समालोचनाले सामाजिकतालाई केन्द्र बनाएर साहित्य तत्वको निर्धारण गर्छ ।  यो कृतिबाट त्यसमा प्रतिबिम्बित समाजलाई विश्लेषण गर्ने प्रयोगात्मक समालोचना हो । समाजपरक समालोचना प्रणाली यथार्थवादी, आदर्शवादी र आदर्शोन्मुख यथार्थवादी गरी तिन प्रकारका हुन्छन् । यसमा सामाजिक अनुभव र अध्ययनका सामान्य पृष्ठभूमिका दृष्टिले समालोचना गरिन्छ ।

 समाजशास्त्री सिद्धान्त र ढाँचाको प्रयोग गरी विषयवस्तुलाई जोड दिने यो समालोचना प्रणाली नीतिपरक समालोचनासँग नजिक छ । माक्र्सवादी र गैर माक्र्सवादी धारा गरी दुई धारमा विभजित यस प्रणालीले सरल र सम्प्रेष्य भाषा प्रयोग अनाग्रहवाद र आग्रहवाद दुबै दृष्टिले यथार्थको प्रतिपादन गर्दछ ।

समाजशास्त्रको सिद्धान्त र ढाँचाका आधारमा बीसौं शताब्दीमा साहित्यिक कृतिको सामाजिकताको विश्लेषण गर्नु गैरमाक्र्समाक्सवादी समालोचनाको अवधारणा हो भने साहित्य निरपेक्ष सत्ता नभई सामाजिक अर्थव्यवस्थाट सञ्चालित हुन्छ भन्ने सिद्धान्त मार्क्सवादी समालोचनाको रहेको छ । माक्र्सवादी समालोचनाका प्रवर्तक कार्लमाक्र्स हुन् । 


विषय प्रवेश

    सामाजिक दृष्टिबाट साहित्यिक कृति र कृतिकारको अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने पद्धतिलाई समाजपरक समालोचना प्रणाली भनिन्छ । यो अङ्ग्रेजी Socialist Criticism को नेपाली रुपान्तरण हो । समाजपरक समालोचना समाजवादी चिन्तनको वैज्ञानिक रुप मानिने माक्र्सवादमा आधारित रहेको छ ।

यसले सामाजिक परिवर्तन गर्ने दृष्टिबाट सृष्टि र समाजको विश्लेषणात्मक अध्ययन गर्दछ । यसमा समाजशास्त्रीय दृष्टिकोण पाइन्छ । समाजको साहित्यिक कृतिमा कुन प्रकारको चित्रण भएको छ भनी समाज सापेक्ष रुपमा समालोचना गरिन्छ । वर्तमान युगको सशक्त एवम् उपयोगी मानिएको यो समालोचना प्रणाली पाश्चात्यबाट विकसित भएको पाइन्छ । प्रत्येक साहित्यिक कृतिको सिर्जना आफू बाँचेको समाजमा आधारित हुन्छ । साहित्य र जीवनको आधार नै समाज हो । समाजको प्रभाव मानिसमा पर्दछ र त्यसको स्पष्ट छाप साहित्यिक कृतिमा पाइन्छ । 
 
पाश्चात्य जगतमा विकसित भएको समाजपरक समालोचना प्रणाली वर्तमान युगको एक सशक्त एवम् उपयोगी समालोचना हो । कुनै पनि साहित्यकारको साहित्यिक रचनाको प्रमुख आधार भनेको ऊ बस्ने समाज हो र त्यहि समाजको घात–प्रतिघात, छायाँ–प्रतिछायाँ, भूत–अभूत, पाप–धर्म, कर्म–अकर्म, प्राप्ति–अप्राप्ति र सबल–दुर्बल लगायतका पक्षहरुको प्रतिबिम्बन साहित्यिक रचनामा हुन्छ । साहित्यकारले समाजलाई के कति दिन सक्यो भन्ने कुराको विश्लेषण गर्नु पनि यसको उद्देश्य रहेको पाइन्छ ।

व्याख्या विश्लेषण
    
समाजपरक समालोचना प्रणालीको बीजविन्दु नीतिवादी समालोचना प्रणालीका प्रवर्तक प्लेटोकै विचारहरुमा रहेको पाइन्छ । नीतिपरक समालोचनाको माध्यमबाट सामाजिक आदर्शको आह्वान पुरानै भए पनि खास समालोचनाचाहिँ १८ औं शताब्दिबाट भएको पाइन्छ । इडमन्ड विल्सनका अनुसार ईसाको १८ औं शताब्दिमा विकोले होमरका कृतिको अध्ययनका आधारमा ग्रीक समाजको विवेचना गरेदेखी नै पाश्चात्य समालोचना प्रणालीमा सामाजिक दृष्टिकोण स्थापित भएको देखिन्छ । 

हेर्डरले १९ औं शताब्दिमा प्राचीन ग्रीक नाटककारहरु र पुनर्जागरण समयका बेलायती नाटककार सेक्सपियरका सामाजिक र जातीय पर्यावरणमा रहेको भिन्नताबाट उब्जेको नाट्य भिन्नतातर्फ औँल्याउदै साहित्यकार आफ्नो जाति र युगको चैतन्यबाट प्रभावित आत्म चैतन्यको अभिव्यञ्जक हो भन्ने धारणा प्रतिपादित गरेका हुन् । यसैबाट पश्चिममा समाजपरक समालोचनाको सुत्रपात भएको हो । 

समालोचनाको सामाजिक दृष्टिकोणको व्यापक सैद्धान्तिक प्रस्फुटन भने  हिपोलाइट टेनबाटै भएको पाइन्छ । उनी ‘क्षण, युग र जाति’ का सुत्रद्वारा समाजपरक सिद्धान्त प्रस्तुत गर्छन् । उनी सामाजिक समालोचनाका प्रथम उल्लेख्य सैद्धान्तिक प्रवक्ता हुन् । इडमन्ड विल्सन, हेर्डर, हिपोलाइट टेन तथा सेन्ट व्युभका सिद्धान्तबाट युरोपमा समाजपरक समालोचनाको पृष्ठभूमि तयार भयो । (भण्डारी र पौडेल, साहित्यशास्त्र र नेपाली समालोचना, पृ. ८९)

समाजपरक समालोचना प्रणालीको विकासमा कार्ल–माक्र्सको द्वन्द्वात्मक भौतिकवादमा आधारित वर्गद्वन्द्व र वर्ग सङ्घर्षका भौतिकवादी विचारहरु अत्यन्त प्रभावशाली रहेका छन् । मार्क्सको भौतिकवादी सिद्धान्तकाअनुसार मानिसको जीवनमा रोजीरोटी कमाउनेको प्रकार, उत्पादन र पद्धति र त्यसमा व्यक्तिको स्थिति महत्वपूर्ण हुन्छ । यसैबाट नै मानिसको जीवनको मूल्य कायम हुन्छ ।

 जीविकोपार्जनमा अर्थको सर्वाधिक महङ्खव रहन्छ । यो नै मूल्य, मान्यता स्थिति तथा मानमर्यादाको मूल अर्थ हो । यसबाट नै हाम्रो आचरण र व्यवहारमा वृद्धि हुन्छ र व्यक्ति–व्यक्तिकाबीचमा सम्बन्ध स्थापित हुन्छ । समाज विभाजनको कारण नै अर्थ बन्दछ भन्ने अवधारणा रहेको पाइन्छ । 

यसैका आधारमा एन्जेल्सको आर्थिक, सामाजिक, राजनीतिक एवम् सांस्कृतिक वर्गद्वन्द्व हर्जनको वर्गद्वन्द्वका आधारमा साहित्यिक मूल्य निरुपण, चर्नीसेब्स्कीको मनोरञ्जनभन्दा सामाजिक यथार्थको पुनराइफनलाई माक्र्सवादी संज्ञा दिँदै समाजपरक समालोचना प्रणालीको जग बसेको पाइन्छ ।

त्यसपछि लेनिनले सन् १९०५ मा दलको सङ्गठन र साहित्यको आह्वान गरेपछि साहित्य माक्र्सवादी धारणामा आधारित भएर समाजपरक समालोचनाको बलियो आधारशिला तयार गरेका हुन् । बीसौं शताब्दीको तेस्रो दशकतिर युरोपमा प्रगतिशिल समालोचना प्रणालीका रुपमा प्रभावशाली हुँदै क्रमशः विश्वव्यापी बनेको पाइन्छ । 

उन्नाइसौं शताब्दीको अन्त्यमा फ्रान्स, जर्मनी र अमेरिकामा प्रकृतवादी यथार्थवादी कला र साहित्यको विकास भयो ।  र यसको प्रभाव विश्वमा पर्न गयो । समाजको बहुमुखी चित्रण र त्यसको मूल्याङ्कन गर्न खोज्ने यथार्थवादी सिर्जनाका आधारमा साहित्यलाई समाजको ऐनाको रुपमा हेर्न थालियो । साहित्यिक कृतिमा प्रमाणसिद्ध अभिव्यक्तिद्वारा गरेको सामाजिक यथार्थको वर्णनका आधारमा कृतिको मूल्याङ्कन गर्न थालेदेखि नै समाजपरक समालोचना प्रणालीको विभिन्न प्रवृत्तिहरुको जन्म भयो ।

सामाजिक जीवन भोगाइको अभिव्यक्ति नै साहित्य हो । समाजपरक समालोचना प्रणाली वर्तमान युगको एक शसक्त एवम् उपयोगी समालोचना प्रणाली हो । साहित्य जीवन विविध सामाजिक सन्दर्भहरुमा आधारित हुने भएकाले तिनै सामाजिक सन्दर्भका आधारमा साहित्यलाई हेर्न र मूल्याङ्कन गर्ने दृष्टिकोण सामाजपरक समालोचना प्रणालीले अङ्गालेको पाइन्छ । 

कृतिको सामाजिकता, लेखकको सामाजिकता तथा प्रभावको सामाजिकतालाई समाजपरक समालोचनाको प्रवाहक मान्न सकिन्छ । जसमा लेखक तथा साहित्यकारको सामाजिकता भन्नाले लेखकलाई प्रभाव पार्ने घरपरिवार, वंश, परम्परा, शिक्षा, दिक्षा, बस–उठ, साथी, सङ्गती, उसको आर्थिक धरातल, उसको कर्म क्षेत्र र धर्म, लेखकको सांस्कृतिक परिवेश, लेखकको आयस्रोत आदि कुराहरु पर्दछन् । 

त्यस्तै कृतिको सामाजिकताले विषयवस्तु, भाषाशैली, शिल्प, प्रवृत्तिलाई बुझाउँछ भने प्रभावको सामाजिकताले कृतिले सामाजलाई कस्तो प्रभाव पा¥यो र सामाजले कृतिलाई कस्तो प्रभाव पा¥यो भन्ने विषयलाई आधार बनाउँछ । 

समाजपरक समालोचनाको विशेषता

समाजपरक समालोचनाले समाज र साहित्यका विचमा घनिष्ठ सम्बन्धमा जोड दिन्छ । लेखक कृति र कृतिगत प्रभावका सामाजिकताका पक्षमा देखा पर्ने मूल तर्कहरु निम्न अनुसार छन् :

साहित्य एक वा अर्को प्रकारले जीवनकै अभिव्यक्ति हो भने जीवन व्यक्तिगत भएर पनि सामाजिक भोगाई हो, यही जीवन भोगाइबाट लेखकको चेतना निर्मित हुन्छ । 

कृतिको सामाजिकता भन्नाले यसको विषयवस्तु, माध्यम र शैली एवम् रुप र प्रविधिको सामाजिकता बुिझन्छ । साहित्यको माध्यम भाषा सामाजिक वस्तु हो । 

कृतिको शैली, छन्द, प्रतीक, बिम्व एवम् सङ्कथन एवम् रुपात्मक जस्ता प्राविधिक कुराहरु सामाजिक सम्पर्कमा नै प्रस्फुटित र प्राप्त हुन्छन् भने कृतिको विषयवस्तु सामाजिक जीवन भोगाइकै उद्दीपनबाट प्राप्त अनुक्रिया पुज्ज हो र सामाजिक पर्यावरणले त्यस अनुभव राशीलाई बेरेको हुन्छ । 

कृतिको आस्वादन र अध्ययनबाट समाजमा (सामाजिक व्यक्तिहरुमा) पनि जुन मानसिक प्रभाव पर्दछ त्यहि नै कृतिगत प्रभावको सामाजिकता हो । 

समाजपरक समालोचना प्रणालीका प्रमुख मान्यताहरू
समाजपरक समालोचना प्रणालीका प्रमुख मान्यताहरुलाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ :

यसले सामाजिकतालाई केन्द्रविन्दु बनाएर साहित्य तङ्खवको निरुपण गर्छ । 

समाजपरक समालोचना सामाजिकताबाट कृतिको व्याख्या र मूल्य निरुपण गर्नाका साथै सम्बन्धित कृतिबाट त्यसमा प्रतिबिम्बित समाजलाई ठम्याइ विश्लेषण गर्ने प्रयोगात्मक समालोचना हो । 

यसमा रुपपरक, कृतिपरक, शैलीपरक र संरचनापरक दृष्टिले समालोचना गरिदैन । 

समाजपरक समालोचना प्रणाली यथार्थवादी, आदर्शवादी र आदर्शोन्मुख यथार्थवादी गरी तिन प्रकारका हुन्छन् । 

यसमा समालोचकद्वारा आफ्ना सामाजिक अनुभव र अध्ययनका सामान्य पृष्ठभूमिका दृष्टिले समालोचना गरिन्छ । 

यसमा समाजशास्त्री सिद्धान्त र ढाँचाको प्रयोग गरी समालोचना गर्ने गरिन्छ । 

यो समालोचना प्रणाली नीतिपरक समालोचनासँग अत्यन्त नजिक छ ।

यसले साहित्यको कलात्मक प्रस्तुतीभन्दा विषयवस्तुलाई बढी जोड दिन्छ । 

यसले प्रतिकात्मक जटिल भाषाभन्दा सरल र सम्प्रेष्य भाषाको पक्षपोषण गर्दछ ।

समाज जस्तो छ त्यस्तै चित्रण गर्ने अनाग्रहवाद अथवा समाज कस्तो छ र त्यसमा के सुधार गर्न सकिन्छ भन्ने आग्रहवाद दुबै दृष्टिले यथार्थको प्रतिपादन गर्छ । 

समाजको चित्रण गर्दा कुनै खास आग्रह लिएर गर्ने वा जस्ताको त्यस्तै गर्ने जस्ता प्रवृत्तिले गर्दा सामाजिक यथार्थवाद र सामाजिक आदर्शोन्मुख यथार्थवादमा समाजपरक समालोचना प्रणाली पनि विभक्त भएको पाइन्छ । जसलाई निम्नअनुसार प्रस्तुत गरिएको छ :

गैरमार्क्सवादी धारा
प्रकृतवाद यथार्थवादका सन्दर्भमा सामाजिक विकृति र ह्रासका अध्ययनका साथै विशुद्ध यथार्थवाद अन्तर्गत पनि समाजका निम्न वर्ग र आर्थिक जीवन आदिका अध्ययनबाट समाजपरक साहित्यका साथै सिर्जनाले पनि प्रसार पाएको हो ।

साहित्यको इतिहासअन्तर्गत जीवनीपरक समालोचनाका पृष्ठभूमिमा र कृति विश्लेषणका क्रममा खास साहित्यविद्हरुले पनि समाजपरक समालोचनाको व्यापक प्रयोग गर्दै आएका छन् । त्यस्तै समाजशास्त्रको सिद्धान्त र ढाँचाका आधारमा पनि बीसौँ शताब्दीमा साहित्यिक कृतिको सामाजिकताको विश्लेषण भएको छ । समाजपरक समालोचनाको दुई धारामध्ये गैरमाक्र्सवादी धाराको मूल प्रवृत्ति यहि हो । (ढुङ्गेल र दाहाल, साहित्यशास्त्र र नेपाली समालोचना, पृ. १८७)

मार्क्सवादी धारा
मार्क्सवादी धाराका प्रवर्तकका रुपमा कार्लमाक्र्सलाई लिइन्छ । उनको विचारमा साहित्य निरपेक्ष सत्ता होइन बरु यो त सामाजिक अर्थव्यवस्थाबाट सञ्चालित हुन्छ । 

साहित्यकार सामाजिक प्राणी भएकाले समाजको अर्थ व्यवस्थाले उसको मानसिकता वा चेतनाको निर्माण भएको हुन्छ । तसर्थ साहित्य भनेको समयसापेक्ष अर्थव्यवस्था र नियमित सामाजिक परिपाटीहरुको अभिव्यक्ति हो । साहित्य सिर्जना व्यक्तिगत चेतनाको परिणाम नभएर साहित्यकारले सामाजिक जीवन भोगाइका क्रममा उत्पन्न भएका विचार, अनुभव, कल्पना, परिस्थिति सङ्घर्षहरुको चेतनामूलक प्रतिफल हो । 

क्रिस्टोफर कङ्बेल, जर्ज लुकास, बेलायती माक्र्सवादी प्रवक्ता राल्फ फक्स आदिले पनि सामाजिक वर्गसङ्घर्षबाटै साहित्य रचना गरी मूल्य निरुपण गर्नुपर्ने सर्वसम्मत मार्क्सवादी मान्यतालाई अगाडि सारेको पाइन्छ ।

 सन् १९४२ पछि माओत्सेतुङको प्रभावशाली भाषणबाट चिनियाँ साहित्यमा माक्र्सवादी साहित्य र समालोचनाको प्रादुर्भाव भएको पाइन्छ । समाजको ऐतिहासिक प्रतिविम्बन प्रस्तुत गर्दै वर्ग चेतना र अधिकार प्राप्तिको आह्वान गर्ने समाजवादी दृष्टिको चीनको साहित्य र मालोचनामा परिलक्षित भएको पाइन्छ । 

मार्क्सवादी प्रगातिवादी समालोचना प्रणलीमा रुढ र उदार गरी दुइ पक्ष रहेको पाइन्छ  । रुढ पक्षमा माक्र्सवाद लेनिनवादी र माओवादी दर्शनको पूर्ण परिपालना गरी साहित्य सिर्जना तथा समालोचना गर्नेहरु र उदार पक्षमा लोककल्याण र सामाजिक न्याय एम् संस्कृतिको विकास गर्ने प्रगतिशिल विचार भएका देखिएका छन् ।

रुढ दृष्टिकोण भएकाहरु साहित्यिक सिर्जना मार्क्सवादी सोच र प्रवृत्तिहरुलाई आत्मसात् गरी बामपन्थी राजनैतिक उद्देश्य पूरा गर्ने कुरामा बढी केन्द्रित रहने गरेको हुनाले कतिपय दृष्टिकोणले यस्ता साहित्यक कृतिहरुको साहित्यिक गरिमा र सौन्दर्य कमजोर आभास हुन्छ ।  

विशेषतः मान्छे पूर्ण समाजको पूर्ण मानव हो भन्दै वर्ग समाजद्वारा प्रदत्त विखण्डनबाट मान्छेलाई मुक्त गर्दै समग्र मानव व्यक्तित्वको पूनर्निर्माण गर्न चाहाने सर्वहारा मानववाद लुकाचको पुर्वी युरोपेली नवीन मार्क्सवादी समालोचनाको सार हो । हवर्ट मार्कुस परम्परावादी माक्र्सवादी साहित्य दर्शनका स्थानमा विवेकशील तथा न्यायपूर्ण समाजतर्फ गतिशिल उच्च गम्भिर सत्यको वकालत गरेका छन् । 

प्रथम र द्वितीय विश्वयुद्धका मध्यम अवधिमा युरोपमा माक्र्सवादी (प्रगतिशील) समालोचनाको प्रसार भयो भने द्वितीय विश्वयुद्ध भन्दापछि तेस्रो विश्वमा नै प्रगतिवादी (माक्सवादी) समालोचना मौलायो भन्न सकिन्छ । चिनमा सन् १९४२ मा माओत्सेतुङको ‘येनान व्याख्यान’ पछि माक्र्सवादी समालोचना थालियो । नेपालमा २००८ देखि २०१७ सम्म प्रगतिशिल र त्यसपछि प्रगतिवादी समालोचना प्रणाली थालियो ।

हृदयचन्द्र सिंह प्रधान, डिपी अधिकारी, श्याम प्रसाद शर्मा, कृष्णचन्द्र सिंह प्रधान, आनन्ददेव भट्ट, गोविन्द भट्ट, नीनु चापागाई र ऋषिराज बराल यस समालोचना प्रणालीका अग्रणी व्यक्तित्व हुन् । साहित्य मूल्याङ्कनको स्वतः पर्याप्त मापदण्डका रुपमा माक्र्सवादी समालोचनाको शक्ति विवादास्पद भए पनि साहित्यमा निहित सामाजिकताको विश्लेषणको दृष्टिले भने यसको प्रभावशाली रहेको कुरा स्वीकार गरिन्छ । 

समाजपरक समालोचना प्रणालीको माक्र्सवादीधारालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :

यसलाई राजनीतिक समीक्षा ठानियो । 

यसलाई कलात्मक छैन भन्ने आरोप लाग्यो । 

यसले भावनात्मक सांस्कृतिक मूल्यलाई स्थान दिँदैन भनियो । 

व्यक्तिगत स्वतन्त्रतालाई महत्व नदिने यस समालोचना प्रणालीले सामाजिक विकासक्रममा आर्थिक 
व्यवस्थालाई सर्वोपरी ठान्दै साहित्यिक तथा अन्य उपकरणहरुलाई यसको अनुवर्ती मान्दछ । 

यसले सामाजिक जीवनसँग सम्बन्ध राख्दछ तर कला विवेचनासँग होइन । 

यसमा कलात्मक आध्यात्मिक र भावनात्मक मूल्यका लागि कुनै स्थान छैन भन्दै विद्वानहरुले यसको खण्डन गरेका छन् । 

यसले कल्पना र आदर्शको होइन साहित्यमा व्यवहारिक सत्यको उद्घाटन हुनुपर्छ भन्ने मान्यता राख्दछ । 

मार्क्सवादी समालोचनाले कला र साहित्यमा मानिस सर्वोपरी हुन्छ, त्यहि साहित्यको विषय हुनुपर्दछ त्यसैको निर्माणका लागि काव्य अघि बढ्नुपर्दछ भन्ने ठान्दछ । 

कोरा कलावादी प्रवृत्ति घातक र मानव विरोधी हुन्छ ।

उपयोगितावादी कलाको सार्थकता मानव मङ्गलम् नै निहित हुन्छ । 

यस जीवनसँग सम्बन्ध उद्देश्य सौन्दर्यमूलक यथार्थ कलाको विषयवस्तु कला तथा प्रकार कलाको कलात्मक साधनहरुको अभिव्यक्त रुप आदिमा माक्र्सवादी समिक्षाले विचार गर्दछ । 

कला सिर्जनाको सामाजिक सार्थकतामाथि नै गोर्कीले जोड दिए । उनले कलाकारलाई एक अन्तहिन सङ्घर्षमा लीन व्यक्ति मानेका छन् । 

निश्कर्ष
वर्तमान युगको शसक्त एवम् उपयोगी समालोजपरक समालोचना प्रणालीले सामाजिक जीवन भोगाइको अभिव्यक्तिको अध्ययन गर्दछ । यो अत्यन्त बहुमुखी एवं उपलब्धिपूर्ण प्रणाली हो । यसले साहित्यकारको सामाजिक सन्दर्भका आधारमा कृतित्वको विश्लेषण गर्छ । साहित्यकारले समाजलाई के कति दिन सक्यो भन्ने कुराको विश्लेषण गर्नु पनि यसको उद्देश्य रहेको पाइन्छ । 

समाजपरक समालोचना प्रणालीको जन्म अठारौँ शताब्दीमा विकोद्वारा गरिएको होमरका कृतिहरूको समाज सापेक्ष विवेचनाबाट भएको देखिन्छ । टेन यसको प्रथम उल्लेख्य प्रयोगकर्ता भएको देखिन्छ । उनी यस समालोचनालाई समाजपरकतातिर ढल्काउनेमध्ये अग्रणी व्यक्ति मानिन्छन् । 

यस प्रणालीको विकासका क्रममा इसाको बिसौं शताब्दीको तेस्रो दशकमा समाजपरक समालोचनाको मार्क्सवादी धाराको विकास भएको हो । समाजपरक समालोचना प्रणालीले द्वन्द्वात्मक भौतिकवादका आधारमा जीवन र जगतको विश्लेषण एवम् मूल्याङ्कन गर्छ । यसलाई विकसित तुल्याउने व्यक्तिहरूमा कार्ल माक्र्स, एङ्गेल्स, प्लेखानोभ, लेनिन, म्याक्सिम गोर्की जस्ता व्यक्तिहरू अग्रपङ्तीमा रहेका छन् । 

प्रथम र द्वितीय विश्वयुद्धका मध्यम अवधिमा युरोपमा मार्क्सवादी समालोचना र द्वितीय विश्वयुद्धपछि तेस्रो विश्वमा नै प्रगतिवादी (माक्सवादी) समालोचनाको प्रसार भयो । चिनमा माओत्सेतुङको ‘येनान व्याख्यान’ पछि माक्र्सवादी समालोचना शुरु भयो । नेपालमा २००८ देखि २०१७ सम्म प्रगतिशिल र त्यसपछि प्रगतिवादी समालोचना प्रणालीको विस्तार भएको हो । 

हृदयचन्द्र सिंह प्रधान, डिपी अधिकारी, श्याम प्रसाद शर्मा, कृष्णचन्द्र सिंह प्रधान, आनन्ददेव भट्ट, गोविन्द भट्ट, नीनु चापागाई र ऋषिराज बराल यस समालोचना प्रणालीका अग्रणी व्यक्तित्व हुन् । समाजपरक समालोचना प्रणालीले भौतिकवादी दृष्टिबाट कलासाहित्यको व्याख्या गर्छ ।

 यसले कलासाहित्य आदि काल्पनिक सिर्जनाहरू रचनाकारले जीवनमा भोगेका वास्तविक जगतका प्रतिबिम्ब हुन् भन्ने मान्यता राख्दछ । साहित्य कल्पना र आदर्श नभइ ठोस वा वस्तुमुखी मान्ने यस समालोचनाले ऐतिहासिक भौतिकवादको बोध नै समाजवादी यथार्थवाद हो भन्छ । 

Comments

Popular posts from this blog

पूर्वीय महाकाव्यगत दृष्टिकोणबाट ‘शाकुन्तल’ महाकाव्यको विश्लेषण