आयामेली दृष्टिकोणबाट वैरागी काइँलाको ‘पर्वत’ कविताको विश्लेषण


अध्ययन सार


आयामेली आन्दोलन (२०२०) मार्फत् नेपाली साहित्यक्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकार वैरागी काइँला आयामेली तथा प्रयोगवादी दृष्टिमा कविता रचना गर्ने सष्ट्रा हुन् । आयामिक लेखन सिद्धान्तवादी सृजनात्मक आन्दोलनको रुपमा आएको लेखन हो । 

आयामिक सिद्धान्तका प्रमुख प्रभाव स्रोतहरुका रुपमा जेस्टाल्टवाद, घनत्ववाद र हेलियोग्राफ रहेका छन् । जर्मनमा पहिलो पटक सन् १०१२ मा प्रयोगमा आएको जेष्टाल्टवादले पूर्णाकार अर्थात सम्पूर्णता भन्ने अर्थ दिन्छ । यसैगरी अङ्ग्रेजीको Cubism 

 शब्द चित्रकलामा आएको एउटा अभिव्यक्ति प्रणाली हो । 

आयामेली रचनामा लम्बाइ, चौडाइ र गहिराइ तीनै आयामहरुलाई यसरी समावेश गरेर घनत्व देखाउने प्रयास गरिएको हुन्छ । त्यस्तै, हेलियोग्राफ आयाम सम्बन्धी मान्यता लिएर जन्मेको एउटा पद्धति हो । वस्तुको घनत्व जसलाई तेस्रो आयाम भनिन्छ यही तेस्रो आयामलाई त्यस वस्तुमा थपेर चित्रित गर्ने नयाँ पद्धति नै वास्तवमा हेलियोग्राफ हो । 

आयामिक सिद्धान्तमा अर्को महत्वपूर्ण तत्त्वको रुपमा सम्पूर्णतालाई लिन सकिन्छ । अंश वा भाग मात्र सम्पूर्णता होइन । विभाजनले सम्पूर्णतामा बाधा पु¥याउँछ । 

यसले पूर्णकाल निरन्तरता बुझाउँछ र यो जीवनको तेस्रो आयाम हो । सम्पूर्णताले चेप्टोपनको विरोध गर्दछ । आयामिक चिन्तकहरु आद्य स्वरुपलाई अङ्गाल्न कालको निरन्तरता खोज्दछन् । निरन्तरतामा विविध युगहरु मिथकहरुलाई आद्य रुप लिदा सामान्यीकृत हुन्छ । आद्य बिम्बबाटै मानिसको सामूहिक अवचेतन बुझ्न सकिन्छ भन्ने आग्रह आयामिकहरुको रहेको छ । 

साहित्य र चित्रकलाको सम्बन्ध आयामिक प्रतिष्ठाताहरु प्राप्त गर्न खोज्दछन् । चित्रकलाको भाषा प्रयोग गर्दा यसको लेखन विधि तत्क्षणतामा अडिएको हुन्छ । उनीहरु अनुभूति जसरी हुन्छ त्यसरी नै लेख्ने आग्रह लिन्छन् । नेपाली साहित्यका विगत दुई दशकका प्रयोगशील विशिष्ट प्रतिभामध्ये वैरागी काइँलाको ‘पर्वत’  कविता आयामिक कविता लेखनको प्रारम्भिक रचनामध्येको एक हो ।

 चित्रकलाको सोझो साम्यको भाषा प्रयोग, आद्य स्वरुप, सम्पूर्णता, वस्तुता जस्ता आयममिक सिद्धान्तहरुको प्रयोग ‘पर्वत’ कवितामा पाउन सकिन्छ । उनको यस कवितामा अनुभूतिका तत्क्षणतामा मानवीय यात्रा र जीवन चेतनाको समग्रतालाई समेट्ने यत्न गरिएको छ ।

कबिले यस कवितामा ‘पर्वत’ लाई लम्बाइ, चौडाइ र गहिराइ तीनै पक्षबाट विश्लेषण गरेका छन् । ‘पर्वत’को सिङ्गो चित्रण गरिएको यस कविता चित्रात्मक शैलीमा रचना गरिएको छ भने कवितामा वर्णित ‘पर्वत’ ले सम्पूर्णता बुझाएको छ ।



विषय प्रवेश

आयामेली आन्दोलन (२०२०) मार्फत् साहित्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकार हुन् वैरागी काइँला अर्थात तिलविक्रम नेम्वाङ । 

पाँचथर जिल्लाको सारताप पौवा गाउँमा वि.सं १९९६ साउन २५ गते  जन्मेका काइँलाले स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला नेपाली साहित्यका अनुकरणीय व्यक्तित्व हुन् । 

उनले थोरै कविता लेखेका छन्, तर सबै सशक्त छन् । उनका दुई कविता संग्रह ‘अन्धा मान्छेहरू र हात्ती’ र ‘वैरागी काइँलाका कविताहरु’ प्रकाशित छन् । त्यस्तै, लिम्बू भाषा संस्कृतिको विकासमा उनले दर्जनभन्दा बढी कृति प्रकाशित गरेका छन् । 

उनका अन्य कृतिहरुमा तेस्रो आयाम (२०२०), किराँत जागरण गीत (२०३८), महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थका भजनमाला (२०४७), समकालिन साहित्य (२०४६), जर्नल अफ लिम्बु, लिटरेचर एण्ड कल्चर (२०४८), लिम्बू जातीमा कोख–पूजा (२०४८), इर्ष्या र आँखि डाहीको आख्यान (२०५१), लिम्बु ग्रन्थ सूची (२०४९), प्रेतात्माको आख्यान र अनुष्ठान (२०५१), मोच मार्ने आख्यान र अनुष्ठान (२०५२), तङ्सिङ् तक्मा मुन्धुम्स् आख्यान र अनुष्ठान (२०५२), मुजिङ्ना खेयङ्ना मुन्धुम (२०७०), लाहादाङ्ना सुहाम्फेबा मुन्धुम (२०७०), खाप्पुना मेल्लङ्हाङ्मा मुन्धुम (२०७०), पाजाइवा मुन्धुम (२०७०), नाम्सामि–केसामि मुन्धुम (२०७०) लगायतका रहेका छन् । 

उनी वि.सं. २०६६ देखि २०७० सम्म नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति थिए । उनले साझा पुरस्कार (२०३१), सिद्धिचरण श्रेष्ठ काव्य पुरस्कार (२०५३) जस्ता पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

 ‘मन्थन साहित्य संस्था’, ‘शताब्दी काठमाडौं’ जस्ता संस्थाका सल्लाहकारसमेत रहेका साहित्यकार बैरागी काइँला कविगोष्ठी साहित्यिक प्रतिष्ठान दार्जिलिङ्का संस्थापक र सञ्चालन, ‘फूलपात पतकर’ पाक्षिकको प्रकाशक, ‘जर्नल अफ लिम्बू लिटरेचर एन्ड कल्चर’ का सम्पादक, राष्ट्रिय भाषा नीति सुझाव आयोगका संयोजक, सामाजिक सेवा स्थानीय विकास कार्यक्रम धुलाबारी झापाका अध्यक्ष, किराँत भाषाभाषी कवि गोष्ठीका आयोजक, नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय परिवार वर्ष नेपालका सदस्य आदि रहेर पनि काम गरिसकेका छन् ।

वि.सं. २०१३ सालदेखि काव्य लेखन कार्य आरम्भ गरेका वैरागी काइँलाको पहिलो कविता ‘भारती’ पत्रिकामा तिलविक्रम सुब्बाका नामबाट प्रकाशित छ । वि.सं. २०१८ सालबाट ‘फूल, पात, पतकर’ पत्रिकामा उनको कविताहरु प्रकाशित हुन थालेको देखिन्छ । 

नयाँ शिल्प र शैली विकास नगरी अर्को बाटोमा हिड्न सकिदैन भन्ने उनको बुझाई रहेको थियो । उनीसँग साहित्यलाई वस्तुगत र निरपेक्ष ढङ्गबाट विश्लेषण गर्ने शसक्त क्षमता थियो । उनी समाजको चित्रणलाई साहित्यका माध्यमबाट देखाउँने ऐना मान्दथे ।

आयामेली सिद्धान्तका प्रवर्तक तथा प्रयोक्ता कबि वैरागी काइँलाले शुरुमा स्वच्छन्दवादी त्यसपछि आयामेली र प्रयोगवादी लेखनमा जोड दिएका छन् । 

अमूर्त तथा अतियथार्थवादी काव्य लेखन, अवचेतन मनको तात्क्षणिक अनुभूतिको प्रस्तुती, परम्परागत लेखन त्यागेर जीवनको तीन आयामलाई प्राथमिकता दिनु, विसङ्गतिको माझबाट मानवीय अस्तित्वको खोजी, आवेग र बौद्धिकताको कलात्मक संयोजन, पूराकथा, सामाजिक, साँस्कृतिक बिम्व प्रतीकको प्रयोग, भाषा र संरचनाको आत्मनियन्त्रित कलात्मक प्रयोग, मर्दना ओज तर कोमलताको आभास उनका कवितामा पाउन सकिन्छ । 
तेस्रो आयामको परिचय

नेपाली साहित्यमा तेस्रो आयाम एक आन्दोलनको रुपमा देखा परेको हो । आयामिक लेखन परम्परागत मान्यता, धारणा र लेखनभन्दा अलग हुन खोज्दछ । लेखनमा जीवनको निख्खरपन आउनु नै आयामिक लेखन हो । सम्पूर्णता ग्रहण गर्न अनुभूतिमा कुनै प्रकारको पूर्वाग्रह, थपघट वा वर्णनहरु हुनुहुदैन र रचना गर्दा तटस्थ हुनुपर्छ भन्ने आयामिक लेखनको सिद्धान्त हो । 

आयामिक लेखनमा जीवनको बाहिरी वर्णन वा अतिशयोक्तिपूर्ण व्याख्या हुनुहुँदैन । सम्पूर्णता सम्बन्धी दृष्टिमा एक पाटा वा एक भागको मात्र चित्रणले साहित्य पूर्ण हुन सक्दैन भन्ने मान्यता आयामिक सिद्धान्तले बोक्छ । मान्छेको अघिल्तिरको भाग मात्र पूर्ण मान्छे होइन, उसको पछिल्तिर हेरिनु पर्छ नत्र साहित्य चेप्टो हुन्छ । आयामिक लेखनले कोरा भावुकताको विरोध गर्दछ । बैरागी काइँलाका विचारमा जीवनको गहिराइ नै तेस्रो आयाम हो ।

आयामिक लेखनले धेरै भित्रसम्म पसेर जीवनलाई अभिव्यक्त गर्दछ । यसो गर्दा आयामिक लेखनमा कविताले अर्थलाई पर पन्छाउनु परेको हो । त्यसैले यस्तो कवितामा अर्थहीनता होइन अर्थ निरपेक्षता कायम गर्दछ । बैरागी काइँलाका अनुसार रचनामा अनुभूतिको तत्क्षणता, चित्रकलाको सोझो साम्य भाषा, जीवनलाई समग्रतामा हेर्नु, जीवनको गहिराइ, वस्तुता र रचनामा अर्थनिरपेक्षता हुनु नै आयामिक साहित्य हो । 
आयामिक सिद्धान्तका प्रभाव स्रोतहरु र तिनको परिचय

आयामेली आन्दोलनको शुरुवात निम्नअनुसारका सिद्धान्तहरुबाट प्रभावित भएर शुरु भएको देखिन्छ ः 

जेस्टाल्टवाद
जेस्टाल्टवादको सबभन्दा पहिलो प्रयोग जर्मनमा भएको थियो । नेपालीमा यसको अर्थ पूर्णाकार हुन्छ । वर्दिमर, कोलर र काफ्काले यसलार्ई अघि बढाउन प्रचार गरेको पाइन्छ । 

आकार, संरुप (ढाँचा), सारवस्तु आदिको अर्थ समेत लाग्न सक्ने यस शब्दको अर्थ सम्पूर्णताको रुपमा पुर्णाकारलाई लिन सकिन्छ ।  यसलाई मनोविज्ञानको विभिन्न पद्धतिहरुमा नयाँ वादको रुपमा हेर्ने गरिन्छ । वास्तवमा जेस्टाल्टवाद भन्नु सम्पूर्णतामाथि जोड दिने वाद हो किनभने यसको मूख्य मान्यता नै सम्पूर्णता हो । 

धेरै अंशहरु स्वयंम पूर्ण हुँदैनन् । ती अंश वा टुक्राहरु मिलेर नयाँ रुपको जन्म हुन्छ । सम्पूर्णतामा पाइने गुण टुक्रामा पाइदैन । जेस्टाल्टवादीहरुका अनुसार घरको विश्लेषणमा काठ ईँटाहरुको होइन त्यहाँको मानसिक प्रक्रियाको अध्ययन हुनुपर्छ । घरको समस्या भन्नु भौतिक समस्या होइन ।

सम्पूर्णता सिङ्गो अध्ययन वा चित्रणले मात्र प्राप्त गर्न सक्छ । यसरी सम्पूर्ण रुप वा समग्रतालाई नै जेस्टाल्टवादीहरुले अपनाउन खोजेका छन् । 

घनत्ववाद
अङग्रेजीको Cubismबाट नेपालीमा आएको घनत्ववाद चित्रकलामा आएको एउटा अभिव्यक्ति प्रणाली हो । चित्रकला क्षेत्रमा नविन प्रयोगको रुपमा आएको घनत्ववादको बिजारोपन सेजानको चित्राङ्कनदेखि नै भएको पाइन्छ । यसको प्रमुख मान्यताचाहिँ रुप सौन्दर्य हो । 

पिकासो र ब्राकले चित्रकलामा घनत्वलाई प्रमुखता दिएको देखिन्छ । उनीहरुले मूर्तता र वस्तुको रुपलाई मात्र प्राथमिकता दिने परम्परालाई तोडेर रुपलाई गौण रुपमा मात्र हेर्न थाले । ज्यामितीमा वस्तुका लम्बाइ, चौडाइ, उचाइ बरावर भएको कुनै ठोस वस्तुलाई समावेश गरेको हन्छ । जहाँ तीनै आयामहरुलाई समावेश गरेर घनत्व देखाउने प्रयास गरिन्छ ।

ज्यामितिक कोण समकोण आदि आवश्यक अंग भएको यो प्रविधिलाई नै घनत्व भन्न सकिन्छ । घनत्ववादीहरुले वस्तुको रुप, वर्ण र रेखाको वास्तविकतामा आफ्नो थप दृष्टि आरोपित गरेर नयाँ शैलीको निर्माण गरेर मात्र रुप, वर्ण वा रेखाको पूर्ण बहिष्कार गरे ।

शुरुमा वस्तुलाई ज्यामितिक खण्डहरुमा विभाजन गरेर चित्राङ्कन गरियो भने उत्तराकालीन घनत्ववादीहरुले चित्रहरुमा वस्तुको खास खास अङ्गहरु मात्रै चित्रित गरे अर्थात कलाकारको दृष्टिमा अनावश्यक वस्तुहरु त्यहाँ चित्रित भएनन् । 

वस्तुका विभिन्न पक्षहरु एकै धरातलमा देखिन ज्यामितिक शैली अपनाए तापनि त्यहाँ केवल सौन्दर्य र रुपहरु मात्र आएनन्, वस्तुको घनत्वलाई पनि विशेष प्राथमिकता दिइयो । यसरी वस्तुको विभिन्न प्रकारहरु देखिने किसिमका दृष्टिहरुको अवस्थालाई दुई आयामिक धरातलमा मिलाएर राख्नु र त्यसबाट तेस्रो आयाम व्यक्त गर्नु नै घनत्ववाद हो । 

हेलियोग्राफ

भौतिक विज्ञानमा प्रचलित एउटा पद्धति जुन मूर्तिकलामा प्रयोग गरिएको थियो, जसलाई हेलियोग्राफ भनिन्छ । आयाम सम्बन्धी मान्यता लिएर शुरु भएको यो पद्धति भौतिक विज्ञानबाट मूर्तिकलाको क्षेत्रमा आएको मानिन्छ । वस्तुको घनत्व जसलाई तेस्रो आयाम भनिन्छ त्यहि तेस्रो आयामलाई त्यस वस्तुमा थपेर चित्रित गर्ने नयाँ पद्धति नै हेलियोग्राफ हो । 

सन् १९४० मा डेनिस गेवरले हेलियोग्राफ शुरु गरेका हुन् । हेलियोग्राफको विकासमा गेवरले निकै महत्वपूर्ण योगदान दिए पनि लेसर किरणको आविष्कार नभएसम्म यसको विकासमा तिव्रता आउन सकेन । 

एक प्रकारको किरण नै लेसर हो । लेसर र बीम स्प्लिटर भनिने अर्को किरण मिलेर हेलियोग्राफको निर्माण हुन्छ । एउटा किरणले वस्तुलाई प्रकाशवान् बनाउँछ अर्कोले प्रेषकको रुपमा काम गर्छ । किरणहरुको साहाराले वस्तुलाई यथार्थिक धरातलमा भन्दा तेस्रो आयाम देखाएर भ्रमात्मक रुपमा चित्रण गर्छ । 

हेलियोग्राफलाई तेस्रो आयाम पनि भन्न सकिन्छ । यो एक प्रकारको मूर्तिकलामा प्रयोग भएको हो र खासमा यसले मूर्तिको लम्बाइ, चौडाइ र उचाइ वा गहिराइलाई अङ्कन गरेर मूर्तिको तेस्रो आयाम देखाउँछ । वास्तवमा कल्पनाले मात्र वस्तुको तेस्रो आयाम देखाउन सक्दैन ।

 वैज्ञानिकहरुका अनुसार अनुभव गर्ने कुरा हो जसलाई परीक्षणद्वारा देखाउँन सकिन्छ । स्पष्ट रुपमा भन्ने हो भने हेलियोग्राफ एउटा प्रक्षेपित प्रकाशबाट उत्पन्न त्रि–आयामिक मूर्ति हो । मूर्तिलाई प्रकाशहरुको साहाराले त्यसको सबै आयामहरु देखाउँदा त्यसको सजीवता चित्रित हुन्छ । 

त्यो यति सजीव हुन्छ जसलाई हेर्दा दर्शकहरु भ्रममा पर्न सक्दछन् । त्यसलाई छोएर मात्रै त्यसको खास यथार्थलाई छुट्याउन सकिन्छ । अमेरिकामा यसको प्रयोग एउटा मूर्तिलाई प्रकाशहरु फालेर त्यसबाट विविध रुपमा निकालेर गरिएको थियो । 

किरणहरुको सहायताले यस मूर्तिलाई सजीव मात्र नतुल्याएर यसका तीन आयामहरु लम्बाइ, चौडाइ र खास गरेर गहिराइ देखाउने प्रयत्न भयो । यस पद्धतिमा कल्पनाको कुनै आवश्यकता परेन । वस्तुका तीनै आयाम एकैपटक एउटै हेराइमा देख्न सकिने मूर्तिलाई हेलियोग्राफ पद्धतिद्वारा व्यक्त गर्न खोजिएको छ  अर्थात हेलियोग्राफले एकै पटकमा कुनै वस्तुका सबै पक्षहरु हेर्न खोज्दछ । 

तेस्रो आयामको सैद्धान्तिक परिचय

आयामिक लेखनको शुरुवात सन् १९६३ सालमा प्रकाशित ‘तेस्रो आयाम’ पत्रिकाबाट भएको पाइन्छ । यस सिद्धान्त प्रतिपादन गर्ने इन्द्रबहादुर राई, वैरागी काइँला, र ईश्वरवल्लभ हुन् । 

कतिपय आलोचकहरुले कुनै निश्चित सिद्धान्त छैन भनेर आलोचना गरेको भए पनि यसका तीन प्रवर्तकले तेस्रो आयामको बारेमा विभिन्न सिद्धान्त, धारणा व्यक्त गरेका छन् । जसलाई यसप्रकार उल्लेख गर्न सकिन्छ : 

घनत्व
तेस्रो आयामको खास सिद्धान्त वस्तुको तीन आयामसँग सम्बन्धित छ । कुनै पनि वस्तुका तीन आयाम हुन्छन्, लम्बाइ, चौडाइ र गहिराइ । 

यदि वस्तुको समग्र चित्रण गर्ने हो भने यी तीन आयामको अभावमा सम्भव छैन । आयामेली आन्दोनमा यी तीन आयाम भएको वस्तुलाई गोलो वा सम्पूर्ण भनेर व्याख्या गरेको पाइन्छ ।

एक आयाम छैन भने त्यो अपूर्ण हुन्छ अर्थात चेप्टो हुन्छ । वस्तुमा निहित घनत्व नै नदेखिने तेस्रो आयाम हो । घनत्व हेरेर वा छानेर वा अनुभव गरेर मात्र त्यसको तेस्रो आयाम पत्ता लाग्न सक्दछ । 

घनत्वले वस्तुलाई सजिव पार्दछ । आयामेली सिद्धान्तका प्रतिपादक मध्येका साहित्यकार वैरागी काइँलाका अनुसार कुनै एक जीवनमा तीनै आयाम हुन्छ । जीवनका तिनै तीन आयामलाई खिचेर मात्र त्यसको घनत्व थाहा पाइन्छ । जीवनको घनत्व छाम्न वुद्धिको सहारा लिनुपर्ने आयामिक मान्यताले अर्थलाई प्रधानता दिँदैन । 

सम्पूर्णता 
आयामिक सिद्धान्तको अर्को महत्वपूर्ण पक्ष सम्पूर्णता हो । जीवनको यथार्थता पक्रन सम्पूर्णता नै हेर्नुपर्छ भन्ने आयामिक आग्रह रहेको छ । यसभित्र समग्रता, निरन्तरता, विभाजनको अस्विकार आन्तरिकता जस्ता पक्षहरु पर्दछन् । 

‘सम्पूर्णता बाचौँ, सम्पूर्णता लेखौँ’ भन्ने इन्द्रबहादुर राईको भनाइबाट सम्पूर्णता भन्नाले समग्रता बुझाउँछ । एक पक्ष मात्र जीवनको अपूर्णता हो । मानिस सम्पूर्ण हो, त्यो एकपाटा मात्रै होइन तर मानिस आदिम युगदेखि अहिलेसम्म आउँदा टुक्रा टुक्रा बनेको छ भन्ने आयामिक विचार छ । 

मानिसलाई चिन्नका लागि उसका विगतलाई, इतिहासलाई पनि हेर्नुपर्दछ । अघिल्तिरबाट मात्र हेर्दा मानिस अपूर्ण हुन्छ । युगको सामूहिक अचेतनबाट मानिसको सम्पूर्णता व्यक्त हुने यस सिद्धान्तको मान्यता छ । निरन्तरतामा युगको सामूहिक अवचेत आउँछ । मानिसको सम्पूर्णता भन्नु नै सामूहिक अवचेत हो । सामूहिक अवचेतन कालको अखण्डता हुन् अर्थात समयको निरन्तरता ।

सम्पूर्णता त्यहि निरन्तरतामा हुन्छ । आयामिक साहित्यमा सम्पूर्णताको अर्थ विभाजनको अस्वीकारका रुपमा पनि लिइएको छ । यसले विभाजनलाई अपूर्ण र टुक्रा मान्दछ ।

जीवनको सिङ्गो अभिव्यक्तिमा विभाजनले बाधा गर्छ । पूर्णकालको विभाजन समग्रताको विभाजन या कुनै पनि जीवनको पूर्ण चिजको विभाजन गरेर टुक्रा वा क्षणको मात्र अभिव्यक्ति गर्नु सम्पूर्णता होइन भन्ने यसको सिद्धान्त रहेको छ । जीवनलाई चारैतिरबाट सोलोडोलो रुपमा हुेर्नुपर्छ, विभक्त गरेर होइन । 

त्यस्तै जीवनको वाह्य पक्ष मात्रै सम्पूर्णता होइन । जीवनको घनत्वलाई समाउनु वा आन्तरिक पक्षलाई लिनुपर्छ । यसलाई गहिराइ वा तेस्रो पक्ष पनि भनिन्छ । जीवनको त्यो भित्री पक्षलाई नसमाती जीवनको सम्पूर्णता स्थिति अभिव्यक्त हुन सक्दैन । 


वस्तुता
वस्तुको स्वतन्त्र अस्तित्व नै वस्तुता हो । साहित्यकार इन्द्रबहादुर राईको ‘तृतीय आयाम सारतत्व नै वस्तुता हो’ भन्ने भनाइबाट आयामेली लेखनमा वस्तुताको महत्व स्पष्ट हुन्छ । 

यस सिद्धान्तले वस्तुलाई सत्य र व्यावहारिक रुप मानेको छ । रचनामा वस्तुता हुनु भनेको व्यावहारिकता वा यर्थाथ हुनु हो । बाह्य आडम्बरले विशेषण जोडेर त्यसको वस्तुता रुप आउन सक्दैन । वस्तु जे हो त्यही नै सत्य हो । 

आयामिक सिद्धान्तमा वस्तुको वस्तुता लेख्दा लेखक तटस्थ हुनुपर्छ । यसअन्तर्गत स्वतन्त्रता, अर्थ निरपेक्षता, साक्षात्कारिता तत्कालिकता जस्ता विशेषता पर्दछन् । 

वस्तुलाई आफ्नो अस्तित्वमा हुन दिनु हाम्रो विचार धारणा वा विशेषणको आवश्यकता पर्दैन । वस्तु अर्थ निरपेक्ष छ । वस्तु जे छ त्यसको अर्थ पनि त्यहि हो । 

अर्थ निरपेक्ष भन्नाले अर्थहीनता भने होइन । जीवनलाई बाँच्न सक्दछौँ तर विवेकले जानेर बुझेर त्यसको अर्थ भेट्न सकिदैन । वस्तु साक्षात्कारी हुन्छ ।

कुनै कुरामा म सचेत छु भन्ने चेतना वा त्यस दृष्टिले समेत सचेत छ भन्ने त्यो आत्म सचेतना हुन्छ । सचेतनालाई बहिस्किृत गर्नु साक्षत्कार्य हो र यसबाट वस्तुको यर्थाथता भेटिन्न । तर्क विचार वा धारणाहरुले वस्तुको यथार्थ रुप व्यक्त हुँदैन । वस्तुलाई तत्कालै अनुभूत गर्दा वस्तुता स्वतन्त्र रुपमा अङ्कन हुन सक्दछ । 

आद्य स्वरुप
आयामिक सिद्धान्तको अर्को महत्वपूर्ण मान्यता आद्य स्वरुप हो । यसलाई बिम्ब, मिथक र प्रतीकद्वारा व्यक्त गरिन्छ । वंशानुगत आदिम प्रवृत्तिहरुलाई आद्य स्वरुप भनिएको छ । 

आद्य स्वरुप मानिसहरुले प्रयोग गर्ने सामूहिक अवचेतनाको बिम्बहरु हुन् । यस सिद्धान्त सम्पूर्णताको निरन्तरता पत्ता लगाउन आवश्यक पर्छ । जस्तो एउटा घरको सम्पूर्णता खोज्न त्यसको निरन्तरता दिँदै गुफासम्म पुग्नुपर्छ । यही मिथक र मिथक सिर्जनको सन्दर्भमा मानिसको आद्य वृत्तिलाई चिन्न सकिन्छ भन्ने आयामिक धारणा छ ।
 
आयामिक चिन्तकहरु आद्य स्वरुपलाई अङ्गाल्न कालको निरन्तरता खोज्दछन् । निरन्तरतामा विविध युगहरुबाट मिथक र आद्य रुप लिदा सामान्यीकृत हुन्छ । 

कालको सिङ्गो रुप लिन सम्भव हुँदैन यसर्थ अखण्ड कलालाई मिथकद्वारा लेखिन्छ । आयामिकहरु त्यो मिथक लिदाँ वस्तुमा मात्रै होइन भाषामा समेत अमूर्तता हुन्छ भन्ने मान्यता राख्छन् । त्यसैलाई बिम्बको माध्यमद्वारा प्रयोग गरेर लेखिनुपर्ने धारणा उनीहरुको रहेको छ । आद्य बिम्बबाटै मानिसको सामूहिक अवचेतन बुझ्न सकिन्छ । 

चित्रकलाको सोझो साम्यको भाषा

आयामिक साहित्यको महत्वपूर्ण पक्ष भाषा प्रयोगमा नयाँपन हो । परम्परागत रुपमा प्रयोग गरिने भाषा अमान्य भएको अनुभव गरेर आयामिकहरुले चाहेअनुसार भाषा त्यस्तो हुनुपर्छ जसले एकै दृष्टिमा अनुभूतिलाई पक्रन सकोस् भनेर चित्रकलाको जस्तो भाषा अपनाउनु पर्ने धारणा व्यक्त गरेका हुन् । भाषाको शास्त्रीय र परम्परागत लेखाइले त केवल वर्णन मात्र गर्न सक्छ । 

भाषा भइसकेपछि मानिसलाई यसले पुगेन, लेखनमा अझै यो अपुग भयो भनेर आयामिक सिद्धान्तमा भाषालाई चित्रकलाको सोझो साम्यको भाषाको रुप दिन प्रयास गरिएको पाइन्छ । वैरागी काइँलाका अनुसार आयामिक लेखनले केवल लेखन चित्रकलाको ढङ्गमा मात्र होइन भाषालाई नै चित्रकलात्मक ढङ्गमा ढालेर लेख्ने कामको आह्वान गर्दछ । 

भाषालाई चित्रकलाको ढङ्गमा ढाल्नुको तात्पर्य भषामा दुरुहता शब्दमा नयाँ अर्थ बिम्ब प्रतीकहरुमा संकेत, कतै लामो वाक्य कतै एउटा शब्दको एउटै वाक्यहरु हुन जाने कुरा आयामिकहरुको मान्यता छ । अनुभूति ध्वनि हो, चित्रात्मक ध्वन्यात्मक अनुभूतिलाई ध्वनिमा नै व्यक्त गर्न सकिदैन । 

चित्रकलाको रङ्ग जस्तै यसलाई व्यक्त गरिनुपर्ने आयामिकहरुको धारणा छ । चित्रकलाको भाषा प्रयोग गर्दा यसको लेखन विधि तत्क्षणतामा अडिएको हुन्छ । यसलाई आयामिकहरु ‘झ्वाप्प’ वा ‘एकै गाँस’ भन्न रुचाउँछन् । जे होस्, उनीहरु अनुभूति जसरी हुन्छ त्यसरी नै लेख्ने आग्रह लिन्छन् । 

आयामेली दृष्टिकोणबाट वैरागी काइँलाको ‘पर्वत’ कविताको विश्लेषण

थोरै कविता लेखेर धेरै चर्चित, अर्थित र गर्वित प्राज्ञमा दरिने कबि तथा साहित्यकार वैरागी काइँलाले कविताका अतिरिक्त लोकसाहित्य र संस्कृतिका क्षेत्रमा पनि कलम चलाएका छन् । 

मूलतः कवि व्यत्तित्त्वकै रुपमा ख्याति प्राप्त उनी नयाँ शिल्प र शैली विकास नगरी अर्को बाटोमा हिड्न भन्ने मान्यता राख्छन् । आयामेली अभियान्ता कबि वैरागी काइँलाको ‘पर्वत’ (२०२०) आयामिक कविता लेखनको प्रारम्भिक कृतिमध्येको रचना हो । 

प्रस्तुत कविता उनको ‘वैरागी काइँलाका कविताहरु’ (२०३१) कविता सङ्ग्रहमा संकलित छ । यो कविता संरचनागत रुपमा तीन भागमा मात्र विभाजित छ तापनि यी प्रत्येक भागमा लामा छोटा अनेक अनुच्छेद छन् । यो कविता कविनिवद्ध वक्ता म वा मान्छेको प्रथम पुरुषात्मक आत्मलापका कथनपद्धतिमा संरचित छ । 

चित्रकलाको सोझो साम्य भाषा
कबि वैरागी काइँलाको कवितामा भाषालाई चित्रकलाको सोझो साम्यको रुपमा भाषाको रुप दिइएको हुन्छ । उनको प्रस्तुत ‘पर्वत’ कविता चित्रात्मक शैलीमा रचना गरिएको छ । कबि काइँलाका यस कवितामा ‘पर्वत’ लाई मानवीकीकरण गरेर सजिव रुपमा प्रस्तुत गरिएको छ । 

जस्तैः घरभित्र सिरान तला उक्लिदा
डाँडाडाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छु
आजकल म सपनामा पर्वत चढिरहेको हुन्छु !
जो झुक्तैनन् जति डाँडाहरु, पहाडहरु
टेक्दै झुकाउँछ खुट्टाले प्रत्येक पाइलाको सङ्घारमाथि
मेरो सडकमाथि !
कवितामा कविले देखेको सपनाको कुरालाई सजिव रुपमा चित्रण गरिएको छ । कवि स्वप्निल छन् । उनी सपनामा पनि पर्वत चढ्छन् । 
उफ ! भाँच्चिएर लडिदिन्छन् 
हिमालयनका ढाडहरु –
आहाल आहाल रगत छादेर मेरा सडकमाथि !
यी सब सडकहरु
मैले मेरो काँधमामाथि बोकेको छु 
स्वागत छ – पर्वतारोहीलाई
कलिला कलिला पैतालालाई
प्रत्येक जिन्दगीलाई !
अब प्रत्येक मान्छेले सुरु गरुन् 
आफ्नो यात्रा फेरि यहाँबाट यस फाटकबाट ! 
यस कविताको संरचनामा केहि चित्रात्मकता पाउन सकिन्छ । चित्रको भाषामा लेखिएको यस कविताले आयामिक मान्यताको निर्वाह गर्न खोजेको छ । 

सम्पूर्णता
कविता आफैँमा अनुभूतिको सम्पूर्णता हो । सम्पूर्णता विश्वयापीकरण पनि हो । कवि बैरागी काइँलाको कवितामा विश्वव्यापकता हुन्छ । उनी बहुलताको दृष्टिले जीवनलाई कवितामार्फत अभिव्यक्त गर्छन् । कबिले ‘पर्वत’ कवितामा अनुभूतिका तत्क्षणतामा मानवीय यात्रा र जीवनचेतनाको समग्रतालाई समेट्ने प्रयास गरिएको छ । उनले विभाजनकालाई अस्वीकार गरेका छन् । यस कविताको शीर्षक ‘पर्वत’ ले नै सम्पूर्णताको अभिव्यक्ति दिएको छ । ‘पर्वत’ लाई कबिले कतै विकाससँग जोडेका छन् त कतै विनाससँग जोडेका छन् । 

जस्तैः मेरो काँध माथिबाट
मेरो प्रेमको घनत्व र आस्थाको उत्तापले
पाकेको जिन्दगीको लास
चोइटा चोइटा किरणहरुमा चोइटिएर खस्तछ
यौटा यौटा बरखान बोकी उज्यालोमा छ्यापिँदै खस्तछ 
मेरो प्रत्येक पाइलाभित्र : मेरो सडकमाथि !
आँखा खस्तछ : यौटा रात सकिन्छ
अर्को आँखा खस्तछ : फेरि यौटा अर्को रात सकिन्छ
पैताला खस्तछ : एक खुट्टा बाटो भरिन्छ
पन्जा खस्तछन् : पृथ्वीदेखि आकाशसम्म पुल टाँगिन्छ 
दुई हात अङ्गालो खस्तछ : असीमित आयतनमा धरतीमाथि 
अनि इतिहासमा फेरि यौटा अर्को फाटक उघ्रिन्छ

कबिले कविता मार्फत आँखा, पैताला, पन्जा, दुई हात अंगालो खसेपछि मात्रै इतिहासमा फेरि यौटा अर्को फाटक उघ्रिने उल्लेख गरेका छन् । कवितामा ‘पर्वत’ ले जीवनको तीन आयाम लम्बाइ, चौडाइ र गहिराइलाई समेटेको छ । कविताले पर्वतको समग्रता बोकेको छ । पर्वत अविभाजित छ । कालखण्डको निरन्तरता छ । पर्वत विश्वयाव्यापीकरणसँग नजिक छ । पर्वतलाई बुझ्नको लागि यसको सम्पूर्णता बुझ्नुपर्दछ । उनको यस कवितामा पर्वतको लम्बाइ, चौडाइ र गहिराइ पाउन सकिन्छ । 


आद्यता स्वरुप
वैरागी काइँलाका कवितामा बौद्धिकता चरम विन्दुमा पाइन्छ । कवितामा बौद्धिकताको पहिचान बिम्ब र प्रतीकद्वारा हुन्छ । उनको कवितामा आयामिक मान्यतामा पाइने टड्कारो रुपमा पाइने पक्षमध्ये आद्य स्वरुप पनि हो । उनका कवितामा बिम्ब र प्रतीकहरुबाट अभिव्यक्ति आद्यतामा पुग्न खोजेको देखिन्छ । 

कवि बैरागी काइँलाको ‘पर्वत’ कवितामा प्रशस्त मात्रामा आद्य स्वरुपको प्रयोग भएको देखिन्छ । वर्तमान मानव जीवनका विसङ्गति र भयावह अवस्थाको चित्रण गर्नका लागि कविले विभिन्न बिम्ब प्रतीकहरुको प्रयोग गरेका छन् ।

यस कवितामा पर्वत यात्राको केन्द्रिय प्रतीक तथा घर, रेल, सडक, सहरी दिनचर्या, दुर्घटना, कुम्भकर्ण र गोवर्धन तथा सतीका अङ्गपतनका पुराकथा र फाटक, वनस्पति, सूर्यको तेस्रो आँखाको ठूलो घुम्ने बल्ब, समुन्द्र, मत्स्यनयाय जस्ता आद्य स्वरुपको प्रयोग भएको पाइन्छ ।

यसैगरी प्राकृत आद्य मानव जीवन र पर्वतीय उच्चतातर्फका मानवीय पुनर्जागृतिको चेत तथा अस्मितालाई पनि यस कवितामा तनाव, अन्तद्र्वन्द्व र निष्कर्षणका साङ्केतिक पद्धतिबाट आद्यताको प्रयोग भएको देखिन्छ । यसर्थ ‘पर्वत’ कविता बौद्धिकताका दृष्टिकोणले निकै अब्बल दर्जाको मानिन्छ । 

वस्तुता
विभिन्न बौद्धिक अन्तर्विनियोजनले विभिन्न नव विलक्षण साङ्केतिक भाव बिम्ब र पुराकथा प्रतीकलाई संयोजन गरी वस्तुताको सृजन र त्यसभित्र भावचिन्तनको साङ्केतिक अन्तर्योजनाका साथै अन्वितिविधान गर्न खोजिएको भेटिन्छ । वस्तु जे हो त्यसको हुनुपर्ने वा स्वतन्त्र अस्तित्व वस्तुता हो, यसलाई अर्थ या रङ्ग दिने होइन वस्तु नै लेखिनु पर्छ भन्ने मान्यता उनको पर्वत कवितामा पनि पाइन्छ । कबिले पर्वतलाई स्वतन्त्र रुपमा यस कवितामार्फत प्रस्तुत गरेका छन् । कवितामा बाटो र सडक पनि स्वतन्त्र छ । 

जस्तैः धेरै नानीहरुलाई स्कूलसम्म पु-याएर
धेरै छोराहरुलाई सीमान्तको मोर्चासम्म पु-याएर
धेरै बाबुहरुलाई अड्डादेखि घरसम्म पु-याएर

नानीहरुलाई स्कूलसम्म पु-याउँन बाटो स्वतन्त्र छ, छोराहरुलाई मोर्चासम्म पु¥याउँन पनि बाटो स्वतन्त्र छ र बाुबहरुलाई अड्डादेखि घरसम्म ल्याउँन पनि बाटो स्वतन्त्र भएको कुरा कबिले गरेका छन् । बाटो वा सडक जसको आफ्नै अस्तित्व छ र जो स्वतन्त्र छ । 

फाटकको निधारभरि
मानिसको जानकारीको निम्ति
धूपिको सिन्के पातहरुको माझ–माझ 
हाँगाको आँख्ला आँख्लाको आँखाहरुको अक्षरमा 
समयले दौडी आएर लेखिदिन्छः सूचनाका केही पङ्क्तिहरु –
निधार मात्रै सत्य हो । तर यहाँ समयले लेखिदिने सूचनाको पङ्क्तिहरुको भने कुनै अस्तित्व छैन । वस्तुहरु चाहे जेसुकै हुन् तिनको आफ्नो स्वतन्त्र अस्तित्व हुन्छ वस्तुता त्यहि हो, त्यसैलाई अर्थ दिन खोज्दा त्यसको यथार्थ पक्ष छेलिन्छ । 

सूर्यलाई भरीकन
तेस्रो आँखाको ठूलो घुम्ने बल्बभित्र 
उत्तानो समुन्द्रलाई दुबै हातका टेकि दिएर उभ्भिएको, फाटकको टाङ मुनिबाट 
सार्क र ह्वेलको मत्स्य आक्रणबाट
तारतारी सामुद्रिक डाँकुहरुको लुटपिटबाट
धनमाल औ बचाएर जहाजलाई 
अनि औँलामा उचालेर गोवर्धन

कविले पर्वतलाई समयको रुपमा, युद्धको पृष्ठभूमिको रुपमा, गोवर्धनको आदिको रुपमा प्रस्तुत गरेका छन् भने स्वतन्त्र पर्वतलाई बचाउनको लागि कबि आफू लागिपरेको कुरा कवितामार्फत अभिव्यक्त गरेका छन् । 


निष्कर्ष
आयामिक लेखन सिद्धान्तवादी सृजनात्मक आन्दोलनको रुपमा आएको लेखन हो । यसले शैलीगत र विचारगत परम्पराको बेग्लै स्थान नेपाली साहित्यका प्रयोगवादी धारामा रहेको छ र त्यसैले यसले छुट्टै अस्तित्व कायम गर्न सकेको छ । 

आयामिक सिद्धान्तका प्रमुख प्रभाव स्रोतहरुका रुपमा जेस्टाल्टवाद, घनत्ववाद र हेलियोग्राफ रहेका छन् । जर्मनमा पहिलोपटक सन् १०१२ मा प्रयोगमा आएको जेष्टाल्टवादले पूर्णाकार अर्थात सम्पूर्णता भन्ने अर्थ दिन्छ । वर्दिमर, कोलर र काफ्काले यसको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । 

सम्पूर्ण रुप वा समग्रतालाई जेस्टाल्टवादीहरुले अपनाउन खोजेका छन् । उनीहरुले सम्पूर्णता उपर जोड दिएको देखिन्छ । यसैगरी अङ्ग्रेजीको Cubism शब्द चित्रकलामा आएको एउटा अभिव्यक्ति प्रणाली हो । 

यस अन्तर्गत एउटै वस्तुको विभिन्न पक्षलाई विभिन्न दृष्टिले प्राविधिक रुपमा हेरिरहेको थियो, कुनै व्यक्तिले प्रकृतिको एउटा वस्तुलाई हेर्दा प्राकृतिक आकार सहित त्यसै व्यक्तिको मस्तिष्कमा जे जस्तो रुप वा आकार आउँछ त्यसको चित्र घनत्ववादी चित्रकारहरुले रङ्गको माध्यमद्वारा क्यानभासमा व्यक्त गरे । पिकासो र ब्राक घनत्ववादका जन्मदाता हुन् । 

ज्यामितिमा वस्तुका लम्बाइ, चौडाइ र उचाइ बराबर भएको कुनै ठोस वस्तुलाई समावेश गरेको हुन्छ । त्यहाँ ती तिन आयामहरुलाई यसरी समावेश गरेर घनत्व देखाउने प्रयास गरिएको हुन्छ । ज्यामिती कोण समकोण आदि आवश्यक अङ्ग भएको प्रविधिलाई नै घनत्व भन्न सकिन्छ । 

त्यस्तै, हेलियोग्राफ आयाम सम्बन्धी मान्यता लिएर जन्मेको पद्धति हो । सन् १९४० मा डेविस गेवरले विकास गरेको यस सिद्धान्त भौतिक विज्ञानबाट मूर्तिकलाको क्षत्रेमा आएको हो । वस्तुको घनत्व जसलाई तेस्रो आयाम भनिन्छ यही तेस्रो आयामलाई त्यस वस्तुमा थपेर चित्रित गर्ने नयाँ पद्धति नै वास्तवमा हेलियोग्राफ हो ।
 
आयामिक लेखनमा जीवनलाई लेख्दा ठोस वस्तुको जस्तो वर्णन गरेर होइन त्यसलाई अनुभूत गरेर लेखिन्छ । जीवनको घनत्वलाई अनुभूत गरेर लेख्न गाह्रो छ किनभने जीवन अवोधगम्य छ । 

ठोस वस्तुलाई जस्तो जीवनलाई स्पर्श गरेर लेख्न सकिदैन । जीवनको घनत्व छाम्न बुद्धिको सहारा लिनुपर्ने  आयमिक मात्यताले अर्थलाई प्रधानता दिँदैन । आयामिक सिद्धान्तमा अर्को महत्वपूर्ण तत्वको रुपमा सम्पूर्णतालाई लिन सकिन्छ । अंश वा भाग मात्र सम्पूर्णता होइन ।

विभाजनले सम्पूर्णतामा बाधा पु-याउँछ । पूर्णकालको निरन्तरता बुझाउने सम्पूर्णता जीवनको तेस्रो आयाम हो । यसले चेप्टोपनको विरोध गर्दछ । सम्पूर्णताको लागि आद्य स्वरुपसम्म पुग्नुपर्दछ । वस्तुको अस्तित्व नै वस्तुता हो । त्यसलाई जस्तो छ त्यस्तै हुन दिनुपर्दछ । आयामिक सिद्धान्तले जीवनको वस्तुतालाई अपनाएर त्यसको यथार्थ पक्ष उद्घाटित गर्न खोज्दछ । 

त्यसको चित्रणमा कुनै पूर्वाग्रह, अनावश्यक वर्णन या त्यसमाथि आफ्नो कुनै विचार वा धारणा आरोपित हुनु हुँदैन । आयामिक चिन्तकहरु आद्य स्वरुपलाई अङ्गाल्न कालको निरन्तरता खोज्दछन् । 

निरन्तरतामा विविध युगहरु मिथकहरु र आद्य रुप लिदा सामान्यीकृत हुन्छ । आयामिकहरु त्यसैलाई बिम्बको माध्यमद्वारा प्रयोग गरेर लेखिनु पर्छ भन्ने धारणा राख्छन् । आद्य बिम्बबाटै मानिसको सामूहिक अवचेतन बुझ्न सकिन्छ भन्ने आग्रह आयामिकहरुको रहेको छ ।
 
साहित्य र चित्रकलाको सम्बन्ध आयामिक प्रतिष्ठाताहरु प्राप्त गर्न खोज्दछन् । चित्रकलाको भाषा प्रयोग गर्दा यसको लेखन विधि तत्क्षणतामा अडिएको हुन्छ । उनीहरु अनुभूति जसरी हुन्छ त्यसरी नै लेख्ने आग्रह लिन्छन् । कवि वैरागी काइँला आयामेली सिद्धान्तका प्रर्वतक हुन् । 

नेपाली साहित्यका विगत दुई दशकका प्रयोगशील विशिष्ट प्रतिभामध्येका उनको ‘पर्वत’ कविता आयामिक कविता लेखनको प्रारम्भिक रचना मानिन्छ । कबिले यस कवितामा ‘पर्वत’ लाई लम्बाइ, चौडाइ र गहिराइ तीनै पक्षबाट विश्लेषण गरेका छन् । 

कवितामा ‘पर्वत’को सिङ्गो चित्रण गरिएको छ । चित्रात्मक शैलीको यस कवितामा ‘पर्वत’ ले सम्पूर्णता जनाएको छ । चित्रकलाको सोझो साम्यको भाषा प्रयोग, आद्य स्वरुप, सम्पूर्णता, वस्तुता जस्ता आयामिक सिद्धान्तहरुको प्रयोग ‘पर्वत’ कवितामा पाउन सकिन्छ । उनको यस कवितामा अनुभूतिका तत्क्षणतामा मानवीय यात्रा र जीवन चेतनाको समग्रतालाई समेट्ने यत्न गरिएको छ ।
 
सन्दर्भ सूची

१) ओझा, रामनाथ (२०७५), नेपाली कविताकाव्य, काठमाडौँ : करुणधारा पब्लिकेसन ।

२) मल्ल, अशेष, (सन् १९८६), तेस्रो आयाम सैद्धान्तिक चिन्तन र विवेचना, सिक्किम : गान्तोक प्रकाशन ।

३) त्रिपाठी, वासुदेव, न्यौपाने, दैवज्ञराज र सुवेदी, (२०६०), नेपाली कविता भाग ४ ललितपुर : साझा प्रकाशन ।

Comments

Popular posts from this blog

पूर्वीय महाकाव्यगत दृष्टिकोणबाट ‘शाकुन्तल’ महाकाव्यको विश्लेषण

समाजपरक समालोचना प्रणाली