"नाकढोडी दिदी"

त्यो दिन पानी परेको थिएन, न त हामीलाई कतै खेताला नै जानु थियो । दिउँसो तीन बजेको हुँदो हो । पसिना पुच्छै मकै पोल्दै थिइन् ठूलीकान्छी दिदी । पकाउने कुरामा ममी र म उस्तै । हत्तपत्त चुल्होमा बस्न नमान्ने । मैले गुन्द्रुक साँधे । घरमा हली थिएन, न त अरु कोही सदस्य । त्यसैले हामीबिच खेत कसरी रोप्ने भन्ने बिषयमा सल्लाह हुँदै थियो । त्यत्तिकैमा उनी फुत्त भित्र पसिन्, र सँगसँगै भनिन् ‘धमा’ ! हामी तीन आमा छोरीले झस्किएर हेर्यौँ । मानौँ हामीबीच केही अजिब वस्तु आइपुग्यो । 

हामीले हेरेपछि उनले हाँस्दै भनिन् ‘लौ किन तर्सेको सबैजना ?’ अघि है पनि भन्न नभ्याउनु भएको ममीले भन्नुभो ‘यो मोरी पो रैछ ! कस्तो सात्तै गयो । आइज बस् ।’ ममीको अनमति पाएपछि उनी ममीकै छउमा आएर बसिन् । हल्का रातो रंगको कुर्ता सलवार लगाएकी, टाउकोमा सल बाँधेकी उनी साइनोमा हाम्रो दिदी पर्ने । उनको माइती घर र हाम्रो घर ठ्याक्कै आमुन्ने–सामुन्ने छ । उनको घर जाने छोटो जंगलको बाटो हाम्रो घर हुँदै गुज्रिन्छ । ‘नातीहरु खै त ?’ ममीले सोध्नुभो । पोलेको मकै हातमा बोकेर भुईँतिर एकहोरो हेरिरहिन् । निकै बेरपछि बोलिन् ‘घरमै छन् धमा ।’ अघि हाँस्दै भित्र पसेको अनुहार एकाएक नीलो भएपछि ममीलाई अनुमान लगाउन गाह्रो परेन । सोध्नुभो ‘घरमा झगडा परेर आइस् कि क्यो हो ?’

                                                                   ***

उनी काइली दिदीको साथी हुन् । घाँस काट्न जाँदा, बस्तु गोठाला जाँदा होस् वा शनिबारे हाट जाँदा नै किन नहोस् । उनी घरबाटै चिच्याउथिन् ‘ओइ काइली, छिटो आइज ।’ उनले छिटो आइज भनेपछि दिदी मलाई समेत छोडेर कुद्थिन् । त्यसैले सानोमा उनी मलाई मन पर्दैन थियो । कहिलेकाहीँ दिदीसँग म पछ्याएर गएको बेला उनी मलाई रुन्ची, चिम्री यस्तो केके भन्थिन्, जुन मलाई मनै नपर्ने । दिदी कतै गएको बेलामा वा मलाई घर बाहिर देखेको बेलामा केही भन्न पर्यो भन्ने उनी मलाई ‘ओई सिते’ भन्थिन्, मलाई त्यो पनि मन नपर्ने । कहिलेकाही साह्रै रिस उठ्थ्यो अनि म मनमनै ‘नाकढोडी’ भन्थेँ । उनले सुन्नेगरी यसो भन्न भने मलाई कहिले पनि आँट आएन । उनको नाक ठूलो थियो, त्यसैले उनलाई दिदीहरुले नाकढोडी भनेर चिढ्याउनु हुन्थ्यो । कसैले गाली गर्नुपर्यो भने उनलाई ‘नाकढोडी’ नै भन्थे । उनलाई यसो भनेको विल्कुल मन पर्दैन थियो । जोसँग पनि सुरिएर झगडा गर्न जान्थिन् ।

दिदीले नाकढोडी भन्नुहुँदा एकपटक उनी दिदीसँग कुस्ती नै खेल्न आएकी थिई । भएपनि उनी दिदीको मिल्ने साथी थिईँ । उनीसँग लागेर उपद्रो गरेको कुरा कहिलेकाहीँ दिदीहरुले घरमा सुनाउनु हुन्थ्यो । बुवा आमाले तिनीहरुको संगत नगर है तिमरु विग्रन्छौँ भन्नुहुन्थ्यो । यद्यपि, उनले सानै उमेरमा बिहे गरिन् । अर्थात भनौँ आफूले मन पराएको केटोसँग भागिन् । त्यसपछि दिदीहरुसँग उनको संगत लगभग टुट्यो । उनको घर हाम्रो घरभन्दा ४५ मिनेटजति टाढा थियो । 

‘छोरी पोइला गएको भन्दै काकोले आँगनमा उनको कपडा डढाउनु भयो । मेरी कान्छी छोरी मरिन् भन्दै टाउकोमा एक लोटा पानी खनाउनु भो रे’ भन्ने उनको फर्निचरको काम गर्छन् भन्ने सुनेकी थिए । ‘दाजुभाइले सम्झाएपछि उनले ज्वाईँ स्वीकार गरेका रे । घरमा बोलाएर टिकाटालो गरेछन् । उनको टिका लगाएको दिन आफ्नै जात हो, मागेर लगेको भए भइहाल्थ्यो, चोरेर लानुपर्छ ? भनेर ज्वाईँलाई खुबै गाली गरेका थिए रे !’ बुवा विरामी हुनुभएको कारण काका अक्सर हाम्रो घरमा आइराख्नु हुन्थ्यो । बुवा काकाको मावली दाई हुनुहुन्थ्यो, यसकारण पनि उहाँ हाम्रो नजिकको छिमेकी हुनुहुन्थ्यो । त्यतिबेला मैले बुवा र काकाबीच भएको कुरा सुनकी थेँ । 


                                                                           ***

बिहेपछि उनी सायद घरगृहस्थीमा सक्रिय भइन् । माइत पनि कमै आउथिन् । माइत आएको बेलामा वा बाटोमा भेटेको बेला हामीसँग राम्रै बोल्थिन् । मैले उनको बारेमा चासो राख्न पनि छोडिसकेकी थिएँ । उसो त दिदीको पनि बिहे भइसकेको थियो । यत्रो बर्षपछि उनी अचानक त्यो दिन हाम्रो घरमा आएकी थिइन् । हामी सबैले सोचेका थियौँ, उनी बाटो परेर हाम्रो घरमा आएकी हुन् ।

मलाई थाहा भएसम्म उनलाई गफ्फिन असाध्यै मन पर्थ्यो । जोसँग पनि बोलिहाल्ने, नजिक भइहाल्ने उनको स्वभाव थियो । आज ममीको प्रश्नमा उनी बोलिनन् । ममीले फेरि प्रश्न गर्नुभो ‘हन किन बोल्दैन यो ?’ ह्या... छोड्नु न धमा । यसपटक भने उनी बोलिन् । उनको आखाँभरी आँशु थियो । उनको आखाँमा मैले पहिलो पटक आँशु देखेँ । आमाको मन यसरी किन मान्थ्यो र ! ममीले जिद् छोड्नु भएन । त्यसपछि उनले 'ल हेर्नु उसो भा ' भनेर टाउकोमा बाँधेको सल खोलेर देखाइन् । 

उनको कालो, लामो कपाल थियो । मेरो दिदीहरुलाई पनि उनको कपाल देखेर ईष्या लाग्थ्यो । बेला बेला सोध्नुहुन्थ्यो ‘तँ केले नुहाउँछस् ?, कुन तेल लगाउँछ ?, तेरो जस्तो कपाल कसरी हुन्छ ?’ उनी दिदीहरुलाई चिढ्याउँदै भन्थिन् ‘मेरो जस्तो कपाल हुनु त भाग्यमा हुनुपर्छ बाबै !’ तर यसपाली आउदा उनको टाउकोमा कालो, लामो कपाल थिएन । टाउको रित्तो थियो, मरुभूमि जस्तो रित्तो थियो । कतै कतै रगतको टाटो थियो । कानको छेउतिर कतै कतै एक/दुईओटा कपालको जरा देखिन्थ्यो नत्र त त्यो पनि थिएन । उनको आखाँबाट आँशु झरिरह्यो । यसपटक भने ममीले कुनै प्रश्न गर्नुभएन । 


Comments

Popular posts from this blog

पूर्वीय महाकाव्यगत दृष्टिकोणबाट ‘शाकुन्तल’ महाकाव्यको विश्लेषण

समाजपरक समालोचना प्रणाली