बिहे : एक रहर - २

एक दिन साँझमा केही अपरिचित मानिसहरु घरमा आए । यसबेला घरमा को आए ? दुई तरुनी छोरी भएको घरमा साँझमा लोग्ने मानिसहरु आएपछि ममी डराउनु भयो । म भने सुरो भए आँगनको डिलमै पुगेँ । ममीले गाली गर्दै हुनुहुन्थ्यो, को हो ? कहाँबाट आएका हुन ? छेउमा किन गाको ? भित्र आइज । 

ममी पिढीँबाट कराउदै हुनुहुन्थ्यो । ‘तपाईँहरु किन आउनुभएको ?’ मेरो प्रश्न सुनेपछि एकजनाले उत्तर फर्काए ‘तपाईँहरुको घरमा बेच्ने बाख्रा छ कि भनेर हेर्न आएको ?’ यति भनेपछि ममीले कुरा बुझ्नुभयो र भित्र आउनुस् भन्नुभो तर मैले उनीहरुलाई आँगनको डिलमै रोके ।


‘हाम्रो घरमा बेच्ने बाख्रा छैन, तपाईँहरु यहीँबाट फर्किनुस् ।’ ‘साँझमा आउनुभएका पाहुनालाई के भन्छे यो ? भित्र लिएर आइज’ ममी भित्र पाहुनाको लागि गुन्द्री ओछ्याउदै हुनुहुन्थ्यो । मेरो कुराले ती पाहुनाहरु अलमलमा परे । अर्को बोले ‘बैनी हामी तिम्रो आमालाई भेट्न आएका हौँ ।’ ‘अनि किन बाख्रा हेर्न आएका हौँ भन्नु भएको ?’ मेरो प्रश्नहरुले एकजनालाई दिक्क लागेछ भन्यो ‘सरी बैनी, हामीले त्यत्तिकै जिस्किएर भनेका हौँ । यसलाई सिरियसली नलिनुस् । ममीले भित्रबाट गाली गर्नुभएपछि बाटो छोडिदिए । 

उनीहरु दिदीका लागि बिवाहको कुरा चलाउन आएका मान्छे थिए । थाहा छैन छोरी मान्छेहरुलाई कहिलेसम्म यसरी वस्तुसँग तुलना गर्छ समाज ? मैले यही कुरा भनेको थिएँ, उनीहरुलाई कि महिलाहरु वस्तु होइनन् । फेरि कहाँबाट आउँछ खरिदबिक्रीको कुरा ! त्यसबेला उनीहरुले आफ्नो गल्ती सच्याए तर मन सच्याएनछन् । बिहेपछि दिदीले भन्नुहुन्थ्यो ‘तँ छुच्ची भनेर मेरो घरगाउँतिर कस्तो हल्ला छ ।’ 

***

म दिदीको बिहेको विपक्षमा थिएँ । ‘दिदीले मन पराउनुभएको केटो हो हुन्छ भन’ ममीले मलाई धेरैपटक फकाउनु भएपछि मैले हुन्छ भनिदिएकी थिएँ । दिदीलाई लाग्यो होला मैले बचपनमा पनि उनलाई बेहुली बन्न दिइन अब पनि नदिने भई भन्ने । तर बिहेपछि उनको खुशी र उत्साह यस्तै रहोस् भन्ने चाहान्थे । भिनाजुको खास कमाई थिएन न त दिदीको हातमा सिप ! अनि मैले कसरी हुन्छ भन्ने ! उनले मलाई विश्वास दिलाएकी थिईँ, ‘बिहेपछि तेरो भिनाजुले केही न केही त गरिहाल्नु हुन्छ नि ।’

***

दिदीको बिहेको जिम्मेवारी थियो मेरो काँधमा । कहिलेकाहीँ परिस्थितिले मान्छेलाई जिम्मेवार बनाउदो रैछ उमेरलेभन्दा बढी । बुवालाई आफ्नो आखिरी श्वाससम्म हाम्रो बिहेको चिन्ता थियो रे ! हुर्काउने, बढाउने काम त आमाले गर्न सक्छे, तर असल केटो खोजेर विहे गर्न सक्छे कि सक्दिनन् ! सायद उहाँ यो कुरामा ढुक्क हुनुभएको थिएन होला । ममी प्रायः बिरामी भइराख्नुहुन्थ्यो तर उहाँको उत्साह भने सधैँ निरोगी । तर मलाई भने उनको विहे सही या गलत भन्ने परिरहेको थियो । उनको जीवन खुशी÷सुखी रहला भन्ने कुरामा म ढुक्क थिइनँ । फाइनल्ली उनी बेहुली भइन् । उनी बेहुली भएपछि उनी कसैको श्रीमती, बुहारी र आमा पनि भइन । अचेल कुराकुरामा उनलाई म बेहुली नभएको खुशी लाग्छ । भन्छे ‘आ...बरु यत्तिकै बस् दश थरीको टेन्सन त हुँदैन । बिहे त रहर मात्रै रैछ ।’  


Comments

Popular posts from this blog

पूर्वीय महाकाव्यगत दृष्टिकोणबाट ‘शाकुन्तल’ महाकाव्यको विश्लेषण

समाजपरक समालोचना प्रणाली