शताब्दी कवि पुरुषको उर्जा

राष्ट्रकवि माधवप्रसाद घिमिरेको यही भदौ २ गते मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा १०१ वर्षको उमेरमा  निधन भएको छ । 

वि.सं. २०७४ साल असारमा सिन्धुली वाङ्मय प्रतिष्ठान राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई सम्मान गर्ने कार्यक्रमसहित उनको घरमा पुगेको थियो । सोही विषयमा एउटा ब्लग लेखेकी थिएँ । जुन वि.सं.२०७४ साल साउन महिनाको अर्थ डबली मासिकमा ‘शताब्दी कवि पुरुषको उर्जा’ शीर्षकमा प्रकाशित भएको थियो ।


यस्तो छ ब्लग :

माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । ३ वर्षको हुदाँ उनको आमाको स्वर्गारोहण भयो । ६ वर्षको उमेरमा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पचाङ्ग अध्ययन गरे ।

११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे ।

त्यसपछिको अध्ययनको यात्रा उनले वनारसको लागि तय गरे ।  घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन् ।

नेपाली साहित्य जगतका धरोहर माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् ।

उनी बाल्यकालदेखी निरन्तर रूपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख–प्रबन्ध जस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका नेपाली सहित्यका बहुमुखी प्रतिभा हुन् ।

प्रकृतिका अनेकन विविध पक्षहरुलाई जीवन्त रूप दिदैं जीवनलाई नै प्रकृति सापेक्ष ढङगबाट व्याख्या गर्ने उनका सिर्जनाहरू दिर्घसाधनाले भरिएका छन् । उनले १९९२ सालमा पहिलोपटक गोरखापत्रमा आफ्नो कविता छपाएका थिए ।

'नवमञ्जरी' (१९९४), 'घामपानी' (२०१०), 'नयाँ नेपाल' (२०१३), 'किन्नर–किन्नरी' (२०३३) जस्ता कविता संग्रह संकलित छन् । कवि घिमिरेलाई ‘राष्टकवि’को उपाधिले सम्मान गरिएको छ ।

१४ वर्षको उमेरमा 'ज्ञानपुष्प' शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे । घिमिरले २००५ सालमा गोरखापत्रमै सह सम्पादकको जागिरे पनि थिए ।

बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि  १९९८ सालमा भाषानुवाद परिषद्बाट मासिक २५ रूपैयाँ तलबमा लेखक पदमा र २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रहेर काम गरे ।

त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए । वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’का रचनाकार घिमिरेका अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’, ‘आजै र राति के देखे सपना’ लगायतका छन् ।

उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे । काव्यिक यात्राको शुरुवात उनले वि.सं. १९९४ सालमा प्रकाशित ‘नवमन्जरी’ वाट गरेका हुन् । वि.सं. २००४ सालमा उनको जीवनसंगिनी गौरीको निधनले उनलाई ठूलो चोट प-योे ।

त्यसपछि उनले ‘गौरी’ शोककाव्य लेखे । साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशिर्षकमा लेखिएका कविताहरू संग्रहित छन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

जीवनको उत्तराद्र्धमा सकारात्मकता र उत्साहका कविता लेखिरहेका कवि माधव प्रसाद घिमिरे जीवनको उपलब्धी भने प्रेमलाई मान्दछन् ।

काठमाडौँको लाजिम्पाटस्थित उनको निवासमा राष्ट्रकवि माधवप्रसाद घिमिरे सबै आगन्तुकहरुसँग विनम्रताका साथ भेटिरहेका हुन्छन् । उत्साहका साथ कुरा गरिरहेका हुन्छन् । ९८ वर्षको उमेरमा पनि आफैंसँग गुन्गुनाउँदै गीत, कविता  लेखिरहेका हुन्छन् । 

उनको सक्रियता र उर्जा कुनै जवान व्यक्तिको भन्दा कम छैन । काठमाडौँ जस्तो शहरमा पनि उनी ‘फुल र चराहरुको बिचमा बसेको छु’ भन्छन् । सिर्जना यात्रा जीवन नरोकिएसम्म नरोक्ने विचार छ उनको । 

उनी सद्विचारकै बारेमा महाकाव्य लेख्दैछन्, 'ऋतम्भरा' । 'ऋतम्भरा'को सन्दर्भलाई कोट्यादै उनी थप्छन् ‘ऋतम्भरा' वैदिक कालकी राजाकी छोरी हुन् । उनको नामवाट आगामी महाकाव्यको नाम जुराएको हो । अझै यो वर्ष लाग्ने सम्भावना छ ।’

'ऋतम्भरा'को प्रेरणा खोज्न भने घिमिरेको इतिहास नै कोट्याउनुपर्छ । विश्व अणु सन्त्रासले त्रस्त भएको समयमा अणु अस्त्र जस्तै ब्रह्मास्त्र लिएको र त्यसको दुरुपयोग गरेको हाम्रो एउटा पात्र अश्वत्थामालाई लिएर कृति लेखेको थिएँ, उनी सम्झन्छन् । गलत बाटोमा गएको विश्वलाई खबरदारी गरेको छ यस कृतिले ।

सिर्जनाको लागि उनी एकान्त मन पराउँछन् । पहिले राती बसेर लेख्ने घिमिरे बुढ्यौलीले छोपेपछि राती बसेर लेख्न नसक्ने बताउँछन् । 

घिमिरेले संसार चिन्ने मात्रै होइन संसारले घिमिरेलाई चिन्ने पनि समय थियो त्यो, जब उनले ‘गौरी’, ‘अश्वत्थामा’, ‘मालती मंगले’ र ‘शकुन्तला’ जस्ता अनेकौ कृतिहरु लेखे, शास्त्रीय छन्दको लोकप्रियता महत्वपूर्ण योगदान दिए ।

प्रज्ञा प्रतिष्ठानको कुलपति पदको जिम्मेवारी समेत सम्हालेका उनले साझा पुरस्कार र त्रिभुवन पुरस्कार जस्ता अनेकौ पुरस्कारबाट विभूषित भए ।  राष्ट्रकविको उपाधि पाउँदा कविशिरोमणि लेखनाथ पौड्यालपछि सार्वजनिक अभिनन्दनले सम्मानित हुने पहिलो कवि बने । 

सायद मौसम पनि खुशी थियो त्यसैले एकछिन अगाडिको चर्को घाम र गर्मी शीतल भयो वर्षा शुरु भयो । हामी राष्ट्रकवि माधव प्रसाद घिमिरेको प्राङ्गणमा थियौ । मान्छेको चाल सुनेर होला घिमिरेका छोराले माथि झ्यालवाटै सोधे ‘तपाईहरु को हो र कहाँबाट ?

हामीसँगै गएका पत्रकार एल एन घिमिरेले उत्तर दिए ‘हामी सिन्धुलीवाट आएका बुवालाई भेट्न, मैले तपाईसँग फोनमा कुरा गरेको थिएँ त !’ ‘ए (सम्झेजस्तो गरेर)  ल ल भित्रै आउनुहोस् ।’ उनी तल आए र हामीलाई स्वागत गर्न ढोकामा आइपुगे । ‘तपाईहरु बस्दै गर्नुहोस् म बुवालाई लिएर आउँछु ।’ हामीलाई बैठक कोठा देखाएर उनी माथी उक्लिए । 

राष्ट्र कविको बैठक कोठा जहाँ उनले जीवनको कयौ पाटाहरु हामीजस्ता पाहुना/शुभेच्छुकसँग बाँडे होलान् । पस्नसाथै मिठो सुगन्ध कविताको महसुस हुने वैठककोठामा उनको प्रतिमा तथा तस्विरहरु मुस्कुराई रहेका थिए ।

हामी सबै भुँइमा वस्यौ गलैँचामाथि र व्यग्र प्रतिक्षा गर्न लाग्यौ कवि घिमिरेको । धपक्क बलेको जस्तो एउटा उज्योलो चेहेरा हामीकहाँ आइपुग्यो । चम्मा भित्रको आँखाको चमक कविता जस्तै शसक्त थिए । 

उनलाई एक्लै देखेर हाम्रो जमातको कसैले प्रश्न ग-यो ‘हजुरआमा खै त ? उमेरको कारणले कम सुन्ने कान सोझ्याउँदै उनले नबुझेको संकेत दिए । फेरि प्रश्न दोहो-याइयो । ‘आमा आउनुभएन ?’ उनले जवाफ दिए ‘उनलाई बोलाउनु पर्छ ।’ ‘पहिले नै भन्नुपर्थ्यो नि, हामीले कसरी भुल्यौ उहाँलाई ?’ हामीसँग गएकी कवि अम्विका शर्माले गुनासो गरिन् । र उनलाई बोलाउन आग्रह गर्यौँ । 

हाम्रो ८/१० जनाको सानो समूहको बीचमा कवि घिमिरे दम्पती थिए । छोटो औपचारिक कार्यक्रम गरेर घिमिरे दम्पतीलाई सम्मान गर्ने कार्यक्रम सिन्धुलीदेखि बोकेर आएको सिन्धुली वाङ्मय प्रतिष्ठानले कार्यक्रम शुरु ग-यो । कार्यक्रम सञ्चालन गर्न उभिए कवि शारदा पहाडी । कवि अन्जुलले मिठो शैलीमा कार्यक्रमको उद्देश्य प्रष्ट्याए ।

कवि दम्पतीको सम्मानपछि पालो थियो प्रश्न र उत्तर शृङ्खलाको । सद्विचार, श्रृजना र प्रेमको संसारमा रमाइरहेका घिमिरे ९८ वर्षको उमेरमा पनि निकै जोशका साथ यस शृङ्खलामा उत्तर दिइरहेका थिए । असारको झरीमा हामी उनको शब्दमा भिजिरहेका थियौ । यहि शिलशिलामा उनी महाकवि देवकोटाको बारेमा बोल्छन् ।

‘उनी जस्तो सिर्जना त्यस्तै सरल मान्छे । व्यक्तिगत रुपमा महान देवकोटासँग एउटै ओछ्यानमा एउटै सिरकमुनि निदाएको छु । सँगै काम गरेको छु । उनी रोमान्टिक शैलीको मान्छे हुन् । उनले नेपाली लोकलयलाई टपक्कै टिपेर उच्च स्थानमा पु-याए । आज नेपालीको जनजिव्रोमा लोकलय झुन्डेको छ ।’ 

सिर्जना सन्दर्भको सवालमा उनको उत्तर थियो ‘ हामीले सवैभन्दा पहिले साहित्य के हो ? भन्ने कुरा ख्याल गर्नुपर्छ । फुललाई पशुले झारपातको रूपमा लिन्छ, सामान्य मान्छेले सुन्दर चिजको रूपमा लिन्छ तर कविले त्यसलाई सौन्दर्यको रूपमा लिन्छ । विभिन्न उपमाहरुको रूपमा सम्बोधन गर्छ ।’ 

उनले लेखेका कयौ सिर्जनाहरु अमर छन् । सर्वप्रिय छन् त्यसमध्ये एउटा निकै नारायण गोपालले गाएका एउटा गीतको रचनागर्भको वारेमा घिमिरे भन्छन् ‘उनी (श्रीमती) विहानै चिया लिएर आइन् । छेउमा आएर भनिन्, मैले आज म आफै मरेको सपना पो देखेछु ।’ कवि मनका घिमिरेले श्रीमतीको सपनाको घटनाको बारेमा गीत लेखे ‘आजै र राती के देखे सपना मै मरिगएको, बतासबिच हाँगाको फुल झैँ झरिगएको.........।’ 

उनी गीतको बारेमा थप्छन् ‘जीवनमा सबैभन्दा डरलाग्दो र पीडादायी मृत्यु पनि सपनामा देख्दा कति सुकोमल’ उनले यति भनिरहँदा महाकाली घिमिरे मुस्कुराइरहेकी थिइन् ।

राष्ट्रकवि घिमिरेका धेरै गीतसंगीत तथा सिर्जनाहरु नेपाली जनजीवनसँग मेल खान्छन् । मन छुन्छन् । उनी भाइभाइको बीचको सम्वन्ध, माया र सद्भावलाई टपक्क टिपेर कविता जोड्छन् 
कस्तो हुन्थ्यो, कस्तो हुन्थ्यो एउटा धोको पुगे
मेरो मन दुख्छ हजुर भाइको मन दुखे
पल्लो घरको धुरीवाट धुँवा आको छैन
मैले खाई के सार भयो भाइले खाको छैन
कस्तो हुन्थ्यो एक–एक गाँस सबैलाई पुगे
मेरो मन दुख्छ हजुर भाइको मन दुख....

 

Comments

Popular posts from this blog

पूर्वीय महाकाव्यगत दृष्टिकोणबाट ‘शाकुन्तल’ महाकाव्यको विश्लेषण

समाजपरक समालोचना प्रणाली