"स्कुल पढ्ने केटी"
स्कुल पढ्ने केटी बिहान आमाभन्दा अगाडि कहिल्यै उठिनन् । उनी उठ्दा प्रायः उनकीे आमाले भैसी दोहेर बट्टामा दुध हालिसकेकी हुन्थिन् ।
कहिलेकाहीँ आमाको हात दुख्थ्यो, त्यतिबेला मात्रै उनले भैसी दुहुन पर्थ्यो, कहिलेकाहीँ आमा घरमा नभएको बेलामा मात्रै उनले भैसी दुहुन पर्थ्यो । उनी उठेर मुख धोएर ठिक्क पर्दासम्म आमाले उनको लागि एक गिलास दुध राखिसकेकी हुन्थिन् ।
स्कुलको सेतो सर्ट किताबसँगै ब्यागमा कोच्ने बेलासम्म त भारी पनि तयार भइसक्थे, छिमेकीहरु पनि आइसक्ने । वारीपारी उज्यालो हुने गरेर ४ बजे राती बत्ति बल्थ्यो ।
हुनेहरु टर्चलाइट बाल्थे, नहुनेहरु ‘पुल्टो’ बाल्थे । स्कुल पढ्ने केटीको ब्याग कहिले भारीको टाउकोमा हुन्थ्यो त कहिले पछाडी झुन्डिन्थ्यो । दुधको झोलाचाहीँ उनको दिदीको जिम्मा हुन्थ्यो । कहिलेकाहीँ दिदीले अल्छी गरे त्यो पनि उनको जिम्मामा आइपर्थ्यो ।
बजारमा पुगेर भारी बिसाउनसाथ उनलाई स्कुल जान हतारो भइसकेको हुन्थ्यो । पसिनाले निध्रुक्क भिजेको कुर्ता वा सर्ट खोल्थिन् र नाम्लोसँगै आमाको झोलामा कोच्थिन् । स्कुल जाँदा लाउने सर्ट लगाइसकेपछि कपाल सपक्क बनाएर लेबन्टोले कसेपछि सेतो रिबन त्यहिँमाथि लगाउथिन् ।
उनकी आमा नाम्लो र भोक बाकेर घर फर्किथिन् उनी सपना बाकेर स्कुल जान्थिन् । ९ कक्षा, अर्को बर्ष एसएलसी । अघिल्लो बर्ष सतप्रतिशत विद्यार्थी एसएलसीमा पास गराएको जिल्लाको उत्कृष्ट मानिएको सरकारी स्कुल । ९ कक्षामै अनिवार्य कोचिङ कक्षा ।
उनलाई स्कुलले कोचिङ फिसमा ५० प्रतिशत छुट त दिएको थियो तर कोचिङ कक्षासकिएपछि भात दिएको थिएन । उनको आमाले चिनजानका एक आफन्तकहाँ दुई पाथी चामल लगिदिएकी थिइन्, भात खानका लागि ।
९ बजेदेखि १० बजेसम्म भात खाने समय । उनी दौडेर भात खान त आउथी, आफन्तको घरमा, तर यो सधैँ सम्भव भएन । कसैको छोराछोरीलाई कसले सधैँभरी भात पकाएर खुवाउने ? आफन्तले भन्न थाले ‘स्कुल पढ्ने केटी भात खान आउँछे, पकाइदिनपर्छ ।’
स्कुल पढ्ने केटीलाई उनको घरको भात पहिलो हप्तामात्रै मीठो लाग्यो, त्यसपछि स्वाद हरायो । त्यसपछि उनको आमाले उनलाई अर्का आफन्तकहाँ राखिदिए । घरको काम सबै गरिदिन पर्ने । खान कुनै समस्या थिएन । आफन्तले खुब माया गर्थे । भलै उनको छोराछोरी अलिक खराब थिए तर बाआमा असल ।
१० कक्षाको विद्यार्थी । बेलुकी धन्दा सकेर होमवर्क गर्न बस्दा ११ बजिसकेको हुन्थ्यो, होमवर्क भ्याउदा रातीको २ । कोचिङ क्लासको होमवर्क, स्कुलको होमवर्क ।
मानौँ उनी स्कुलबाट फर्किदा किताबभन्दा धेरै होमवर्क बोकेर फर्किछिन् । उनको घर त स्कुलबाट टाढा थिएन तर बिहान घरमा आएर खाना पकाउनु पर्ने बाध्यता । सँगै आएका साथीहरु खाना खाएर फर्किन्थे । उनीहरुले जानेबेलामा उनलाई बोलाउन समेत छोडिसकेका थिए । उनी स्कुल पुग्दा पहिलो घण्टी सकिसकेको हुन्थ्यो ।
मिस सोझी थिइन् वा उनको बाध्यता बुझेकी थिइन् । मिस निस्कने बेलामा पुगे पनि उनको हाजिर गर्दिथिन् । उनलाई होमवर्क पनि दिन्थिन् । कहिल्यै किन ढिला ? भनेर समेत सोधिनन् उनलाई । सायद उनले अङ्ग्रेजी बिषय बिहान कोचिङमा मात्रै पढिन् ।
बाटोमा देख्नेहरुले उनलाई भन्थेरे ‘यो त स्कुल पढ्ने केटी होइन ? किन ११ बजे स्कुल जाँदैछे ?’ कसैकसैले ‘बहिनी दौड, तिम्लाई ढिला भो ।’ कसैले भन्थे रे ‘बिचरी ढिला भएछ, पसिनाले सर्ट सबै भिजिसकेछ ।’ स्कुल पुग्दा उनको सेतो सर्ट भिजेर जिउमा टाँसिसकेको हुन्थ्यो । उनको कोही खास साथी थिएन । जसलाई उनी स्कुल नजाँदा फरक परोस् । त्यसैले त अन्तिम बेन्च सधैँ उनलाई पर्खिरहेको हुन्थ्यो ।

Comments
Post a Comment