मसली माइजुको मिस्डकल
मोवाइल हातमै थियो । अगस्ट २६ २०१९ (२०७६ साउन १६ गते) साँझ ८ः५१ बजे । मोवाइल भाइब्रेट भयो । भर्खरै कोठामा आइपुगेकी थिएँ । कसको मिस्डकल आयो ? मनमनै सोचेँ ।
एक घण्टाजति पछि मोवाइल हेरेँ । मसली माइजुको मिस्डकल थियो । सोचेँ बिहान फोन गर्छु । बिहान भयो तर मूले मसली माइजु बिर्सिए । सायद हामी केही सम्बन्धहरुलाई कम प्राथमिकता दिन्छौँ । मैले पनि त्यसै गरेँ । भोलि फोन गरौँला भन्दा भन्दै मैले मैले धेरै दिनसम्म मसली माइजुलाई बिर्सिएँ । भाका सारिरहे ।
बेला–बेलामा उहाँको मिस्डकल आइराख्ने । यसअघिको केही मिस्डकलमा मैले फोन फर्काएर उहाँसँग गफ गरेकी थिएँ । त्यसपछि भने उहाँको मिस्डकल आउनै छोड्यो, मैले उहाँको मिस्डकल मिस गर्न थालेँ । एकदिन फोन गरे तर उहाँको फोन स्वीच अफ थियो । फेरि केही दिनपछि फोन गरेँ, फेरि पनि फोन स्वीच अफ नै थियो ।
+++
मैले एक बर्षपछि मात्रै भेटेकी हुँ मसली माइजुलाई । ममी र म जाँदा मसली माइजु मामासँग आलु खनिरहनु भएको थियो । उहाँसँगै थिए एक बैशाखी । म पहिलोपटक उहाँको घर पुगेकी थिएँ । ममीले बचपनमा देख्नुभएको भाई उहाँकै आखाँअगाडि हनुहुन्थ्यो । मामाले राम्रोसँग ठम्याउन सक्नुभएन । ममीले थप चिनाउनु भयो । उहाँ ममीको मामाको छोरो हुनुहुन्थ्यो, ममीले बचपनमा मामाघर आउनु हुँदा सँगै खेल्नुभएको साथी । ममी ४० बर्षपछि आफ्नो मामाघर पुग्नुभएको थियो । आफ्नो मामाघर टाढा, त्यसकारण पनि मलाई मामाघर र मामा माइजु खास लाग्ने । म उसै मख्ख थिएँ ।
+++
साँझ मामा माइजुले हाम्रो लागि निकै खास बनाउनुभयो । मामा पसल पुगेर आएर खाना बनाउन लाग्नुभयो । मैले मामालाई सघाएँ । प्यारालाइसिस भएपछि माइजुलको एकपटीको अङ्ग निष्क्रिय भएको रहेछ, । उहाँलाई उठबस गर्न र हिड्न साह्रै गाह्रो हुने भएकोले मामा आफैँ भान्से हुनुभयो ।
हाम्रोतिर काठको घर हुन्छ, त्यसैले हामीले धुँवाको समस्या खासै भोग्नु पर्दैन । त्यही बानीले होला मलाई धुँवा सहने बानी थिएन ।
+++
छोराछोरी सबै घर बाहिर घरमा मामा र माइजु मात्रै । भन्नुहुन्थ्यो ‘बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधैमाथि’ । दुई जनाको परिवारमा पनि मामा हिन्दु, माइजु क्रिश्चियन । एकअर्काप्रतिको प्रेम र समर्पण भने गहिरो । सायद संसारभर व्यख्या गरिने प्रेम जोडी जुलियट र रोमियो जस्तै । धुँवा नै सहेर भए पनि मलाई उहाँहरुको कथा सुन्नुथियो । मसँग त्यही एकरातको समय थियो । माइजुले आफ्नो कथा सुरु गर्नुभयो । बेलाबेलामा बिर्सिएको कुरा सम्झाउन मामा पनि छेउमा बस्नुभयो ।
+++
‘मेरी आमा क्षेत्री त्यसैले नेवार केटासँग भाग्नुभयो । अन्तरजातिय बिवाहका कारण मामाघरसँग मेरी आमाको सबै टुट्यो । म सानो छँदा नै बुवा बित्नुभयो । उहाँको असाध्यै रक्सी पिउने बानी थियो, त्यसकारण पनि म सानैमा टुहुरो भएँ । भाइबहिनीहरु थिएँ । घरकी ठूली छोरी भनकै म । मेलापात नगए छाक टार्न मुस्किल । केही सहज होला भनेर ९ बर्षको हुँदा नै मलाई आमाले बिहे गरिदिनुभयो । त्यसबेला मेरो लागि बिहे कुनै खेलजस्तै थियो । मैले बिहे गरेको केटा भने २० बर्ष कटिसकेका थिए । मलाई बिहे गरेर ल्याएको केही दिनमै उनी लाहुर (इन्डिया)गए । मैले उनी फर्किने बाटो हेरेर ६र७ बर्ष बिताए । उनी फर्किएनन् । न त कुनै खोजखबर नै आयो १ मलाई मेरो जीवन यत्तिकै बित्छ जस्तो लागेको थियो । घरमा त म एक मेसिन जस्तो मात्रै थिएँ । माइतमा पनि दुःख सुनाउनु पिरोल्नु जस्तो लाग्थ्यो र केही भन्दिन थिएँ । यस्तैमा तिम्रो मामासँग भेट भयो । उनले मलाई बिहे गरे । तिम्रो मामा हुनुजेल मलाई कुनै कुरा छैन अब ।’
+++
प्यारालाइसिसले एकपट्टीको अङ्ग नचलेपछि माइजुलाई एक क्रिश्चियन भइसकेका छिमेकीले भन्यो ‘क्रिश्चियन भएपछि निको हुन्छ ।’ मामाको हैरानी देखेर थाक्नुभएको उहाँमा निको हुने आशा पलायो र माइजु क्रिश्चियन बन्नुभयो । माइजुले मामालाई भने त्रिश्चियन बन्न कर गर्नुभएन न मामाले नै माइजुलाई क्रिश्चियन बन्न रोक्नुभो । ‘हामी चाडपर्व सबै सँगै मनाउँछौँ, मात्रै उनले पुजाआजा गर्दिनन्, प्रसाद खादिनन् । रमाइलो गर्न र अरु खानेकुरा खान भाइहाल्छ नि ’ मामाले भन्नुभो ।
त्रिश्चियन भएपछि उहाँ बैशाखीको साहाराले हिड्न थाल्नुभएको रे । घर वरपर हिडडुल गर्न सकेपछि माइजुलाई निको हुन्छु भन्ने विश्वास रैछ ।
+++
बाहिर झरी परिरहेको थियो । म मामा माइजुको कुरा सुन्दै कतिबेला निदाएँ पत्तो पाइन । बस मैले सुनेको यत्ति हो । ममी र मामा माइजु कतिबेलासम्म गफ गरेर बस्नुभयो थाहा पाइनँ । बिहान हिड्ने बेलामा माइजुलाई फेरि भेट्ने बाचा गरेँ । भने ‘काठमाडौँ रेगुलर चेकअपको लागि आउनुहुँदा भेट्नेछु । फोन गरिरहनेछु । फुर्सद मिलाएर आइरहनेछु ।’ मैले उहाँलाई आफ्नो नम्बर छोडेर भनेकी थिएँ ‘माइजु मिस्डकल हान्नु, म फोन फर्काउनेछु ।’ मनमनै भने मलाई उहाँको बचपनको कथा सुन्नु थियो । मामासँग पहिलो भेट भएदेखिका कुराहरु सोध्नु थियो । मैले आफैँसँग बाचा गरेकी थिएँ, अर्कोपटक पक्का आउनेछु र दुई दिन माइजुसँगै बस्नेछु ।
+++
लगभग ६ महिना यसरी नै बित्यो । मैले एकदिन ममीसँग चासो राखेँ उहाँको खबरको बारेमा । त्यसबेला थाहा पाएँ कि अब मसली माइजुको मिस्डकल आउने छैन । मैले आफ्नो माइजु पहिलो पटक भेट्दा म ३÷४ बर्षकी थिएँ । मलाई उहाँको खासै सम्झना छैन । मामाचाहिँ म १२/१३ बर्षको हुँदा नेपाल आउनु भएको थियो । उहाँ जानुभएपछि फेरि भेट भएन । त्यसैले होला, मलाई मामा माइजु अत्यन्तै मनपर्ने साइनो हुन् । अघिल्लो पटक फोनमा कुरा हुँदा पनि मैले माइजुलाई भेट्ने बाचा गरेकी थिएँ र नियमित चेकअपका लागि हस्पिटल आउन आग्रह । त्यसपछि मैले मामासँग पनि कुरा गर्ने हिम्मत गरेकी छैन । त्यो एक्लो घरमा मामा कसरी बस्नुभएको होला जस्तो लागिरहन्छ । मलाई हत्तपत्त कसैको मिस्डकल आउँदैन थियो, जति मसली माइजुको आउथ्यो । अब उहाँको मिस्डकल पनि आउदैँ र कहिल्यै आउनेछैन सायद ।
Comments
Post a Comment