"ह्याप्पी बर्थडे बुवा"

 

मेरो कारणले अक्सर दिदीले पिटाई खान्थी । त्यो दिन पनि उनको गल्ती थिएन । गल्ती थियो त मेरै । म नै दिदीसँग दौडिन सकिन र कुकुरले टोक्न भ्यायो मेरो खुट्टामा । 


उनले त मेरो हातमा समातेर डोर्याएर मलाई घरसम्म ल्याएकी थिई । त्यो दिन मेरो मात्रै होइन उनको पनि स्कुल छुट्यो । उनै दिदीलाई बुवाले बैनीको रक्षा गर्न नसकेकोमा एक थप्पड लगाउनु भयो । यसपटक उनको गल्ती थिएन । उनी आफैँ आत्तिएर बाटैभरी रुदै आएकी थिईँ । उनी मेरी साथी पनि थिईँ र दुस्मन पनि । यसपटक भने भने साथी भएकी थिईँ ।

घाउ ठूलो थिएन तर पनि हस्पिटल पुर्याइयो र डाक्टरले सुई लगाइदिए । फेरि म बुवाको साथी भएर घरमै बसे । बुवालाई खास सन्चो थिएन । बुवा न हो, उहाँको खाली हात त मैले उठेर बस्न सक्ने भएसम्म देखिन । जब उहाँ उठेर बस्न नसकेर ओछ्याउनमा लडिरहनु हुन्थ्यो तब मात्रै उहाँको हात रित्तो रहन्थ्यो । म बासका ससाना ट्क्रा उहाँ भए ठाउँमा पुर्याइदिन्थेँ । कहिले चोया भिजाइदिन्थेँ । 

कहिले चोयाहरु जम्मा पारेर बिटो बनाइदिन्थँे । बुवा कहिले चोया काड्नु हुन्थ्यो त कहिले डोको, थुन्से र भकारीहरु बुन्नु हुन्थ्यो । बेला बेलामा भैसीलाई घाँस हाल्न जान, माउ बाख्रा र पाठापाठीलाई खोले खुवाउने, कुखुरालाई चारो दिने काममा बुवा आफैँ अघि सर्नु परेन ।

बुवा बाहिर हिड्न नसक्नु भए पनि घरका काममा ममी अघि सर्नु पर्दैन थियो । भैसी दुहुनु, दुध तताउनु, मोही पार्नु बुवाको बिहान बेलुकीको दैनिकी थियो । बुवाले दुध दुहुन बाल्नी बोक्नु भएपछि हामी कचौरा ठिक पाथ्र्यौँ । थाहा छैन कति पटक मुख नधोइकनै बासीभात र दुध खाइयो । कहिलेकाहीँ बुवाले काँचै दुध दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो "ताकत लाग्छ खाऔँ ।" म घरमा सबैभन्दा सानी, सबैकी प्यारी । एकपटक पछ्याएपछि नलगी सुखै छैन । थाहा छैन बुवाको काँधमा चढेर कहाँ कहाँ पुगेँ । 

पहिलो पटक मामाघर जाँदा कहिले बुवाको काँधमा कहिले ममीको ढाडमा थिएँ रे म । मामाघरमा दाइको बिहेमा जाँदा बुवासँगै जन्ती जान घोडा चढेर अघि लागेकी थिएँ । कहाँबाट ममी आउनुभयो र मेरो पहिलोपटक जन्ती जाने सपना टुट्यो । जिद्दी भएको कारणले नै बुवा र पाजुको काँधमा मंगलबारे बजार, फुन्चुली, भुटान घुम्न पाकी रे मैले । नत्र त मलाई छोडेर जाने सल्लाह भाको थियो रे । पछि ममीले भन्नुभाको ।

मेरो जिद्दीपन नक्कली बाख्रीकोभन्दा बढी थियो । बाख्रा चराउन जाँदा म सबै बाख्राहरुलाई आफ्नो नियन्त्रणमा राख्थेँ । मैले तोकेको क्षेत्रभन्दा अन्त बाख्रा जान नपाउने नियम हुन्थ्यो मेरो । बाख्रा हराउने हो कि, हराए भने कहाँ खोज्न जाने ? भन्ने डरले त्यसो गर्थेँ म । मेरो बाध्यता त्यसले बुझ्दैन थियो । आँखा छलेर पर पुगिहाल्थी । फर्काउन खोजे झनै दौडिन्थ्यो । म पनि के कम त्यसलाई जित्न दौडिन्थेँ । एकछिन त्यसको र मेरो दौड प्रतियोगिता हुन्थ्यो । 

मैले जिते दुई चार भाटा खाएर त्यो फर्किन्थ्यो, त्यसले जिते म चिच्याएर रोइदिन्थेँ । ममी बुवाले भने हाँस्नुहुन्थ्यो । मलाई झनै नमज्जा लाग्थ्यो । नक्कलीको संगतले म सानोमा खत्रा कुद्ने भाकी थिएँ । स्कुलमा मिसले दौड प्रतियोगिता गराउनुहुँदा केटाहरुलाई पनि जितेर फस्ट भएकी थिएँ । 

म फस्ट हुनुमा नक्कलीको पनि योगदान थियो । नक्कली छुच्ची पनि थिईँ । गोठमा हामी कहिलेकाहीँ बद्मासी गथ्र्यौ, त्यो हो बाख्राको दुध दोहेर डाडुमा तताएर खानु । त्यसले भने खुट्टाले हानेर दुध दुहुन नै दिदैन थिईँ । कहिलेकाहीँ त त्यसो गर्दा भाटा पनि भेटिन् ।  

मध्य हिउँद । ढाक्रेबासमा गोठ थियो । त्यो दिन बाख्राहरुको भागमा घाँस परेन । साँझ झमक्कै परेको थियो । घाँस काट्नुपर्ने काम मेरै भागमा आइपर्यो । म खरबारीको सानो साँचको रुखमा चढेँ । बुवा घमौरोको लठ्ठी टेक्दै पुग्नु भयो र खुब गाली गर्नुभयो । उहाँलाई म रुखबाट लड्छु भन्ने डर थियो । जब रुख चढ्न लाग्थेँ, घाँस झार्न उहाँको गाली याद आउने । त्यसैले रुख चढ्ने बानी छुट्यो मेरो । 

बुवासँग बस्ने मौका मलाई अर्कोपटक पनि मिल्यो । पानी परेर भर्खर उघ्रिएको थियो । ममीले मकै भुट्नु भो खाजा । ममी भन्नुहुन्छ म रिसको पोको हुँ । के कुरामा चित्त बुझेन म मकै नखाई घाँस काट्न गए । भारी पुगिसकेपछि भने आफैँले राखेको हसियामा खुट्टा पर्यो । दिदी आत्तिइन् तर मैले दुबै हातले खुट्टा समातेर रगत थुने । 

आधा घण्टाजतिमा रगत थामियो तर हरेला पानी बगिरहेको थियो । चोट पैतालामा थियो त्यसैले कति काट्यो अनुमान लाउन मुस्किल थियो । न म हिड्न सक्थेँ न त दिदीले नै बोक्न सक्थिन् । घरबाट आउँदा रिसाएकी दिदी अघिदेखि रोइरहेकी थिइन् । बरु म रोएकी थिइन् ।

 उनले रुदै दाजु बोलाएर ल्याइन् । सायद दाजु कतै जानुभएको थियो । दाजुले बोकेर घर लानुभो । उहाँले औषधि लगाइदिनुभयो । के औषधि थाहा छैन तर साह्रै पोलेको थियो । अहिले सम्झदा पनि मुटु चिसो हुन्छ । म घाउ पोलेर रोइरहेकी थिएँ ममी आउनु भयो । बुबा त्यसबेला अलि सिरियस हुनुहुन्थ्यो । अब बुवाको पीर कम थियो र ममीलाई मेरो घाउ देख्नुपर्यो । धेरै बेर गोरिनीमा बसेर रुनुभो । भोलिपल्ट बिहान फेरि ममीले बोकेर लानुभो सुइ लगाउन । बुवाले ओछ्यानबाटै जिस्काउनु भो "धेरै सुई लगाएर छुच्चो त भाकी हैन !" फेरि म केही दिन बुवाको साथी भएँ । 

बुवा पल्लो खाटमा म ओल्लो खाटमा । त्यो पटक भने न त मैले बुवालाई सघाउन सकेँ न त बुवाले नै दुध दोहेर मलाई खुवाउन सक्नुभो । कहिलेकाही एउटा खुट्टा घिसारेर उहाँलाई औषधि र तातो पानी दिन भने ममीले हतार हतार गरेर आउन परेन । त्यसो त बुवा त्यसबेला घरमाभन्दा बढी हस्पिटलतिरै बस्नुहुन्थ्यो । कहिले जनकपुर, कहिले काठमाडौँ । 

ममीले सधैँ भन्नुहुन्थ्यो यो बाउछोरीलो मलाई सताउनसम्म सताए । मलाई चोट लाग्न नछोड्ने, बुवालाई दुख्न नछोड्ने । "यी भदौरे बाउछोरीले हैरान खेलाए  ।" ममीले कहिलेकाहीँ यसो भन्नुहुन्थ्यो । घरमा भदौमा जन्मिएका हामी दुई थियौँ । म बुवा जस्तो छु भन्दा कसैले कम्ता खुशी लाग्दैन थियो । 

मलाई बुवा जन्मिनु भएको महिनामा जन्मिएकोमा गर्व लाग्थ्यो । उहाँ जानुभएपछि भने मलाई भदौ मन परेन । न त आफ्नो जन्मदिन । बुवाको एउटा उखान थियो "कहाँ गयो हराउने, बिलाउनेको देशमा ।" हामी खेल्न गएको बेला घण्टौँसम्म हराएपछि बुवाले यति भन्नुहुन्थ्यो । हामी हासेर टारिदिन्थ्यौँ । केही बर्षमै बुवा बिलाउनेको देशमा जानुभो । उहाँलाई ह्याप्पी बर्थडे बुवा भन्ने धोको भने अधुरै रह्यो । 


Comments

Popular posts from this blog

पूर्वीय महाकाव्यगत दृष्टिकोणबाट ‘शाकुन्तल’ महाकाव्यको विश्लेषण

समाजपरक समालोचना प्रणाली