मनकुमारीको कथा ?
‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी’ तपाईको कोही हुनहुन्न भन्ने प्रश्नको जवाफ थियो यो । “मसँग बैश थियो । निरोगी थिएँ । काम गर्न सक्थेँ । सबैको प्यारो थिएँ । अब सक्दिन नानी ! बाँच्न पनि सक्दिन न त मर्न नै सक्छु । काल नै आउँदैन । दुःखीको त भगवान पनि आफ्नो नहुने रछ ।” उनको घाँटी भारी भयो । मानौँ छातीमा पहाडले थिच्यो । दबाउन खोजिन् तर पहिरो झर्यो आँखाबाट । त्रिपुरेश्वर आँखा अस्पतालमा भेटिएकी उनले के सोचेर मनको गाठो फकाइन् । पालो अझै आएको छैन । घर अर्घाखाँची बताउने उनको नाम मन कुमारी थापा ।
अङ्ग्रेजीमा टोकन नम्बर बोलाउन साथ मलाई सोथ्थिन् “नानी मेरो पालो आयो ?” करिब ७५/७६ बर्षकी उनी आँखा राम्रोसँग देख्दिनन् । आँखामा समस्या भएपछि काठमाडौँबाट गएका आफन्त छिमेकीले जँचाउन सल्लाह दिए । भक्ताको पैसा पोको पारेर उनकै साथ काठमाडौँ आइन् उनी । ती आफन्तले अस्पतालको गेटमा छोडी दिए । सोध्दै भित्र गइन् । गार्डले कुपन थमाइदिए ।
कसो कसो टिकट लिइन् र बसिन् लाइनमा । “अब कसरी कहाँ जानुहुन्छ त ?” उनी लिन आउँछन् नानी ४÷५ बजेतिर । “अनि त्यतिबेलासम्म ? भर्खर १२ बज्दैछ । अब एक/दुई घण्टाभित्र त जँचाइसकिन्छ होला नि ?” “बाटो चिन्दिन । बाहिर पेटीमा गएर बसिरहन्छु ।” उनले सहजै उत्तर दिइन् । पुरै जिन्दगी त पर्खिएर बित्यो नानी अब दुई÷चार घण्टा पर्खिन त सकिहाल्छु नि ।
अझै २५/२६ जना पछि उनको पालो छ । मेरो उनकोभन्दा पछाडी छ । उनी जेष्ठ नागरिक भएकोले उनको र मेरो लाइन भने अलग्गै थियो ।
“तपाईको छोराछोरी छैन ?” सायद मैले नसोधेको भए हुने । सोधेपछि किन सोधेछु जस्तो लाग्यो । बिहे गर्दा उनी १२ बर्षकी थिइन् । उनको लागि १७/१८ का । बिहे भएको ८/९ महिनामा उनको श्रीमान मुग्लान गएँ । उनी पर्खिरहिन् । लोग्नकै घरमा बित्यो उनको यौवन लोग्ने बिनै । सासुको हातमा खटन थियो ।
एक छाकमै दिन बिताएको र भोको सुतेको रात कति थियो भन्ने उनलाई सम्झना छैन । दुई जना आमाजु, तीनजना जेठानी र एक जना देउरानी कोही थिएनन् उनलाई टिठ्याउने । कसैले बुझेनन् उनको दुःख । कसैले सोचेनन् उनको बारेमा । ९ बर्षसम्म न लोग्नेको खबर आयो न त लोग्ने नै । त्यसपछि मुग्लान गएर आएका एक जना छिमेकका देवर पर्नेले सुनाए उनले दार्जिलिङ्तिरको भुजेल्नी बिहे गरेर उतै घरजम गरे । अब आउँदेनन् । तै पनि उनलाई विश्वास लागेन वा फर्केलान् भन्ने आश लाग्यो । पर्खिरहिन् ।
माइतीमा बुढा बा–आमालाई छोरीको पीर लाग्न थाल्यो । ठुल्दाइलाई लिन पठाए । ठूल्दाइको साथ लागेर उनी दाइको साथ लागेर माइती फर्किइन् । कोही अञ्जान पुरुष र उनको परिवारलाई आफ्नो बनाइन् । अरुको घरलाई आफ्नो ठानिन् र जीवनको उर्वर ११ बर्ष खर्च गरिन् । माइती फर्किने बेलामा लगाएको गहनासमेत सासुले लिएको कुरा उनलाई आजसम्म चित्त बुझेको छैन ।
भनिन् “घाँटीमा लगाएको तिलहरीसम्म फिर्ता लिए । म रित्तो भएा तर जुठी भएँ । दाग लाग्यो” उनले जीवनभर मेटाउन सकिनन् यो दाग । बा–आमा हुन्जेल माइतीमा दुःख भएन । केही बर्षमै बा–आमाले छोडेर गएपछि उनी फेरी एक्लिइन् ।
दाजु/भाउजु र भदा भदैनीको बोझ बन्न लागिन् । त्यसो त मुरीको भारी उचाल्थिन् । मेलापातदेखि अर्मपर्म सबै भ्याउथिन् । बा–आमाले उनको सुरक्षाका लागि भनेर दुई कठ्ठा जग्गा छुट्याइदिएका थिए । दाजुभाउजुले सामान्य विवादमै एक दिन अलग्गै बस्नु भनेपछि उनी गोठको एउटा कुनामा कोठा बनाउन लगाएर सरिन् । यो एक्लोपन उनको रोजाई थिएन । खुशी थिएन । उनको लागि स्वीकार्य थिएन ।
न उनी कमाउन सक्छिन् न त कमाएर दिने कोही छ । “कतै आश्रममा गएर बस्नुपर्ला कि भनेको कतै चिन्दिन । लगिदिने कोही छैन । न त राम्रोसँग आँखा नै देख्छु ।” उनलाई जिन्दगी बोझ लाग्न थालेको धेरै भयो । अब बिसाउन मन छ तर ठाउँ पाएकी छैनन् । “अनि भदाभदैनी छैनन् ?” “Token number 42” प्रश्न नसकिदै पालो आयो मेरो । उनको पालो अझै तीन जनापछि छ । मैले उनलाई तिनजना पछि भित्र जान भनेँ ।
नजिकैको एकजना भाइलाई आमाको पालो आएपछि भित्र जानु भन्नु है भनेँ । आमा अहिले भेटौँला । म भित्र पसेँ । जँचाएर बाहिर आउँदा उनी थिइनन् । सायद उनको पालो आयो । कुन रुममा छिरिन् ? नजिकको रुममा ढल्केर हेरेँ । देखिनँ । अफिसबाट फोन आयो । म फर्किएँ । थाहा छैन उनी कहाँ छिन् र यस्ता मनकुमारीहरू अरु कति छन् ?
Comments
Post a Comment