बुवालाई पत्र
मिति : २०६७/०५/०९
पुजनीय बुवा
ढोग !
तपाईँ जहाँ हुनुहुन्छ, भगवानले तपाईँलाई खुशी राखुन् । तर, यहाँ त तपाईँलाई सुनाउन लायकको खुशी केही छैन मसँग । तपाईँले देखिरहनु भएको होला नि हामी कत्तिको आराम छौँ । मलाई तपाईँको धेरै याद आउँछ । तपाईँले मलाई किन छोडेर जानुभो । मलाई तपाईँको काँधमा चढेर हिँडेको याद छैन न थाहा छ हट घोडा हट घोडाको । ममी भन्नुहुन्छ मलाई उहाँको काखभन्दा बढी तपाईँको काँधमा चढेकी छु रे । मलाई थाहा भएदेखि तपाईँ ओछ्यानमै हुनुहुन्थ्यो । तपाईँ जानुभएपछि पनि तपाईँको अभाव उस्तो भएन, त्यसैले होला रोइएन । अँ ममी रुनुहुँदाचाहिँ सँगसँगै रुन्थ्यौँ । अचेलचाहिँ खुब रुन मन लाउछ । हुन त जिउँदो लास भइसकेँ । जतिजति ठुली हुँदैछु त्यति त्यति नै तपाईँको खालीपना बढीरहेको छ । तपाईँ सक्नुहुन्न आउन तर, म त आउन सक्छु नि तपाईँसँग । तर, मलाई किन यति ठुलो जिम्मेवारी छोडेर जानुभो । मेरो कलिलो काँधमा कुन विश्वासले यति ठुलो जिम्मेवारी छोड्नु भो तपाईँले ? मैले आफ्नो जिन्दगीमा सबैभन्दा ठुलो गल्ती गरेकी छु, तपाईँ हुनुभाको भए त गर्दिन थिएँ हुँला । थाहा छ मेरो गल्ती तपाईँलाई । कान्छी छोरीले गलत कहिल्यै गर्दैन भनेर नाक फुलाउनु हुन्थ्यो नि । गयो हैन तपाईँको इज्जत । मलाई माफ गरिदिनु । आउनु, पिट्नु, गाली गर्नु । मलाई यतिबेला सबैभन्दा बढी तपाईँको जरुरत छ बुवा । तपाईँ बसिराख्नु, सबै काम म गरिहाल्छु नि । कमसेकम म छु नि तेरा लागि भन्नु । जसरी कुकुरले टोकेपछि राति तर्सिएर रुँदा तपाईँले सम्झाउनु हुन्थ्यो । नडरा न म छु भन्नुभाको थ्यो । मलाई तपाईँ चाहिएको छ बुवा । यहाँ त सब स्वार्थी छन् । कति सजिलै मनसँग खेलेर छोडिदिन्छन् र सहानुभूति पनि राख्दैनन् । यो झेली दुनियाँमा मान्छेको रङसमेत नचिनाइ यत्तिकै जानुभो तपाईँ ।
ममीलाई डाक्टरले अप्रेसन गरिहाल भनेको छ, दाजुले जेसुकै गर भन्नुभो । काम गरेको ठाउँमा पैसा दिएको छैन । फेरि तुरुन्तै काममा आइज बिदा छैन भन्छन् । ममी साह्रै हुनुहुन्छ बुवा, मलाई भोलि जानैपर्छ । कसरी छोडेर जाउँ । राम्रोसँग बोल्न पनि सक्नुहुन्न । भोलि जान्छु ल भनेको रुनुभो । नजाम भने अर्काको काम । तपाईँले नै भन्नुभाको होइन, अर्कालाई बचन दिएपछि, इमान्दारीपूर्वक काम गर्नु । काम गरेर मरिदैन । तालिम छ, बिदा मिल्दैन, म के गरुम् ? आज तपाईँ हुनुभएको भए । ममी पनि हुनुभएन भने म पनि मर्छु बुवा । किन मान्छेहरु सजिलैसँग मलाई छोडेर जान्छन् खै । तपाईँले त छोडेर जानुभो, अरु त पराई हुन बुवा । कामसाम छोडेर ममीसँगै बसौँ जस्तो लाग्छ नि तर अलिअलि पैसा कहाँबाट आउँछ । बुढी आमालाई म अरु दाउराको भारी कसरी बोकाउ ? म सधैँ घरमा बस्न पाउँदिन । रक्सी नै पार्न पनि त पानी बोक्न सक्नुहुन्न । शरीरमा रोगको भारी धेरै भइसक्यो ममीलाई ।
म घरमा बसेको बेला त कलेज जाँदा दाउरा पनि लग्छु, रक्सी र दूध पनि लग्छु । तर, म नहुँदा चिसोमा उहाँलाई कसरी बोक्न लगाउँ । पाप लाग्छ मलाई । अस्ति साउनमा रोड खनेपछि पधेँरोमाथि पहिरोबाट झण्डै खसेकी थिएँ । धन्न कसरी हो माथि समाउन भ्याए । निद्रामा थिएँ बल्ल ब्युझेछु । ममी कस्तो आत्तिनु भो । मेरो लुगा र किताबको झोला भुँइमा फालेर मलाई माथि तान्नुभो । दाउराको भारी छुटेन न पछाडि झुण्ड्याएको रक्सीको झोला नै छुट्यो । देख्नु भो तपाईँकी छोरी कति बलियो छ । तपाईँ रुनुहुन्थ्यो ठुलीकान्छी दिदी र मेरो हातको ठेला देखेर । भन्नुहुन्थ्यो तिमेरु दाउरा नबोक । ममी भन्नुहुन्थ्यो जा..जा कपि किन्न पैसा हुन्छ । एक दिन दाउराको भारी बोकेर जाँदा ग्वाङ खोलाले झण्डै बगाएन । एक पटक दाउरा नबिकेर हामी बजार बजार रुदै हिडेका थियौँ । ममीलाई पैसा ल्याएर दिँदा बिहानको मीठो निद्रा छोड्नुको पीडा, भारी बोकेर घण्टौँ चिसो पानीमा खोलैखोला बजार जानुको पीडा, चुडिएर जोडिएको, आधा खिएर गएको, हलपाटे चप्पल, दम्को परेको कुर्कुच्चा, हातको ठेला, बजारको मिठाइ देखेर थुक निल्दै फर्किएको दुःख सबै भुल्थ्यौँ हामी । नपठा लालाबालालाई तपाईँ भन्नुहुन्थ्यो, बुवाल बेलुकी भन्नुहुन्थ्यो । हामी फेरि झगडा गरेर ममीलाई भारी हाल्न लाउथ्यौँ । तपाईँ नै भन्नुहुन्थ्यो, कामको इज्जत गर, सानो होस् या ठुलो । खानाको इज्जत गर, मिठो होस् या नमिठो । दुःखपछि सुख आउँछ भन्नुहुन्थ्यो नि बुवा खै, सुख, खुशी कहिले आउँछ ? कि यहीँ हो । तपाईँ जानुभएपछि झन् हरेक मान्छेलाई लाग्यो हामी कमजोर छौँ । स्कुलमा मेरा साथी नै बन्न चाहान्न थिए कोही, किनभने म दाउरा, रक्सी बेच्थेँ । मेरो लुगा नयाँ हुन्न थिएँ । बर्षौसम्म एउटै लुगा, नभए अर्काले दिएको लुगा । आँशु बेचेरभन्दा पसिना नै बेचेर खानुपरोस् तपाईँले भन्नुभए जस्तो । अरुको अगाडि कमजोरी देखायो भने झन् हेपिदो रैछ त्यसैले भोलि म जानेछु । कसलाई भन्नु र । को छ र बुवा । मेरो एक साताको तालिम हो । यद्यपि, मिल्यो भने म आफ्नो सेसन सकाएर फर्कनेछु । तपाईँले ममीको ख्याल राखिदिनु है । ममाथि अरु अन्याय हुन नदिनु । अप्रेसन नगरी नहुने रैछ भने नि म ऋण खोज्छु । काम पनि गर्छु । नाटक पनि खेल्छु । दाउरा पनि बोक्छु । रक्सी पनि पार्छु । एकलाख जति जुटाउन सकियो भने अलिअलि दिदीहरुले हेर्नुहोला नि । बुवा म चाँडै आउँछु कहाँ गयो हराउने बिलाउनको देशमा नभन्नु नि । हुन तथा दिदी हुनुहुन्छ । तर दिदी पनि आत्तिनु भाको छ । नगए हुन्थ्यो जस्तो गर्नुभाछ । ममी रुनुहुन्छ, दिदी रुनुहुन्छ, म के गरुम् म त रुन नि सक्दिन । म नै रोएँ भने उहाँहरू झन् कमजोर हुनुहोला । जहाँ हुनुभए नि मलाई हिम्मत दिनु है त । भोलि ४ बजे उठेर जानुपर्छ, गाडि भेट्न । यो पत्र अहिलेलाई यत्ति नै । बाँकी अर्को पत्रमा ।
उही तपाईँकी अभागी छोरी !
Comments
Post a Comment